Kathmandu Press

कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक

भरतपुर, भदौ २६ : चितवनको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ। हालसम्म केन्द्रले चार जना निको...
कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक

भरतपुर, भदौ २६ : चितवनको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ। हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितको रगत सङ्कलन गरी प्लाज्मा राखेको छ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ। बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई युनिट प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ। यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो।

पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको बताए। यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ। चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ। उनीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको उनले बताए।

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ। यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ। जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदैआएको छ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र  प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताहरुको पहिचान कठिन भएको छ। प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका लागि रगत सङ्कलनमै समस्या भएको उनले बताए।

क्वारेन्टिन मापदण्डले कोरोना सङ्क्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी घर पठाउने भनेको भए पनि प्लाज्मा थेरापी निर्देशिकाले सङ्क्रमणमुक्त भएको १४ दिनपछि मात्रै रगत दान गर्नुपर्छ भनी उल्लेख गरेको पौडेलको भनाइ छ। यस्तो अवस्थामा परीक्षण नै नगरी घर गएका सङ्क्रमितहरुको रगत सङ्कलन गर्ने आधार नहुँदा समस्या आएको उनले बताए। अहिले प्लाज्माका लागि रक्तदाता खोज्दा नेगेटिभ भई डिस्चार्ज भएको मात्र खोज्नुपर्छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना सङ्क्रमितको पहिचानमा केही समस्या देखिएको बताए। “निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो। 

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो,” उनले भने। निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ।

डा.अधिकारीले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको बताए। उनका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको छ। केन्द्र र भरतपुर अस्पतालबीच सहकार्य गरेर हरेक समूहको पाँच युनिट प्लाज्मा जगेडा राख्न लागिएको उनले बताए। (रासस)

प्रकाशित मिति: १०:३७ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्