Kathmandu Press

काठमाडौं उपत्यकाका दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरू

काठमाडौं उपत्यकाका दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरू

काठमाडौं, भदौ २५ : सरकारले आत्महत्या रोक्नका लागि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ। 

आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबारदेखि हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य  शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले जानकारी  दिए। 

लगनखेलस्थित मानसिक अस्पतालमा ११६६ नम्बर र त्रिवि शिक्षण अस्पतालमा १६६०–०१–२१६०० नम्बरको फोनमा निःशुल्क हेल्पलाइनको व्यवस्था गरिएको छ। उनले दुवै नम्बरमा कुनै पनि व्यक्तिले फोन गरे मनोचिकित्सकबाट परामर्श पाउने बताए।

मानसिक अस्पतालमा बिहान ८ देखि साँझ ८ बजेसम्म र त्रिवि शिक्षण अस्पतालमा २४ घण्टा नै मनोचिकित्सकले परामर्श दिने छन्। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन्। यस हिसाबले हरेक ४० सेकेन्डमा एकजनाको आत्महत्याबाट मृत्यु हने गरेको छ। 

विश्वव्यापी आत्महत्याका घटनामध्ये ७९% घटना नेपालजस्ता निम्न तथा मध्यम आय भएका देशमा हुने गर्दछन्। नेपालमा भने हरेक दिन १७ जनाले आत्महत्या गर्ने गरेका छन्। नेपाल विश्वमा आत्महत्याबाट मृत्यु हुने देशमध्ये सातौँ स्थानमा छ। नेपालमा केही स्वास्थ्यसम्बन्धि काम गर्ने सङ्घसंस्थाले केही बर्षदेखि नै निःशुल्क हेल्पलाइन सुरु गरेका छन्। 

अध्ययनले यस सेवाको प्रयोगपश्चात् १० मा एक जनाले आत्महत्याको कार्य गर्नबाटपछि हटेको पाइएको छ। रासस

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, भदौ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्