एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविकाको जिम्मा सरकारले लिने
काठमाडौं, भदौ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गरेका छन्। एसिड आक्रमणबाट...
काठमाडौं, भदौ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गरेका छन्।
एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको बिहीबार परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापनको निर्देशन समेत दिएका हुन्।
घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाइ खर्च तथा व्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन्।
प्रधानमन्त्रीको घोषणा अनुसार एसिड आक्रमणबाट पीडितहरुको कानूनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने छ।
प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानूनी प्रबन्ध गर्ने बताए। अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरुलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी उनले जानकारी दिए।
‘एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजश्वमा दाखिला नगरी सिधै पीडितलाई भराउने र अपराधीलाई उम्किन नदिन तत्काल उसको सम्पत्ति रोक्का गर्ने कानूनी प्रबन्ध गर्नु आवश्यक छ’ प्रधानमन्त्री ओलीले भने,‘एसिड आक्रमणबाट मानिसमा शारीरिक चोटपटक मात्रै लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिक लगायत बहुपक्षीय दुष्प्रभाव पार्छ। त्यसको समेत उपचार गर्ने प्रवन्ध गर्नु पर्छ।’
राज्यका अपराध अनुसन्धान, स्वास्थ्य, शिक्षा, रोजगारी सम्बन्धी निकायका प्रमुखहरुलाई समेत राखेर निर्देशन दिएपछि यस सम्बन्धी थप ब्यवस्था मन्त्रिपरिषद्को आगामी बैठकले गर्ने प्रधानमन्त्री ओलीले बताए।
उनले भदौ २५ लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत बताएका थिए।











![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)