Kathmandu Press

मध्यपुरथिमिको अस्पतालमा नर्सिङ रोबोट परिचालन गरिँदै

भक्तपुर, भदौ २५ : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ।नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा...
मध्यपुरथिमिको अस्पतालमा नर्सिङ रोबोट परिचालन गरिँदै

भक्तपुर, भदौ २५ : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ।

नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्न लागिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए। कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको उनले बताए।

अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको बताए। नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब १५ लाख बजेट खर्च हुने बताए।

नगरपालिकाले आफ्नै पिसीआर ल्याबमा चैतदेखि हालसम्म नौ हजारको परीक्षण गरिसकेको छ। भदौ महिनाको २४ गतेसम्ममा दुई हजार ११२ को परीक्षण गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले हालसम्म ३२७ जनालाई सङ्क्रमण भएको, ९० जना निको भएर घर फर्किएको, ९० जना सामुदायिक आइसोलेसनमा र १७१ जना होम आइसोलेसनमा रहेको बताए।

नगरपालिकाले ८५ शय्याको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनसहितको ३० शय्याको आइसोलेसन, आठ वटा भेन्टिलेटरसहितको ११ शय्याको आईसीयू तयारी अवस्थामा राखेको छ। मिर्गौलाका बिरामीलाई लक्ष्य गर्दै एक शय्याको डायलाइसिस र मेसिन तयारी अवस्थामा राखेको उनले बताए।

उनले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार, उनीहरुको कन्ट्याक्ट टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षणलाई तीव्र पारेको बताए।। नगरपालिकाले आफ्नै ल्याबमा स्वाब सङ्कलन गरेपछि आपत्कालीन अवस्थाको १२ घण्टाभित्र र अरूको २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको छ। (रासस)

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्