Kathmandu Press

आइसोलेसनमा योग सिकाउँदा गाउँपालिका अध्यक्षलाई कोरोना

सुर्खेत, भदौ २५ : आइसोलेसनमा योग अभ्यास गराउँदै आएका सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।कर्णाली प्रदेश अस्पतालस्थित...
आइसोलेसनमा योग सिकाउँदा गाउँपालिका अध्यक्षलाई कोरोना

सुर्खेत, भदौ २५ : आइसोलेसनमा योग अभ्यास गराउँदै आएका सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पतालस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो। केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए।

अध्यक्षलाई सङ्क्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन्। उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनी आफै क्वारेन्टिन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। उनले आइसोलेसनका सङ्क्रमितलाई योग अभ्यास पनि गराउँदै आएका थिए।

 

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, भदौ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्