टोखामा कोरोना संक्रमितको संख्या ३१८ पुग्यो
काठमाडौं, भदौ २४ : टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ।काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल...
काठमाडौं, भदौ २४ : टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३१८ पुगेको हो। जसमध्ये सबैभन्दा थोरै वडा नम्बर २ मा एक र सबैभन्दा धेरै वडा नन्बर ७ मा ४५ संक्रमित भेटिएका छन्।
यस्तै, वडा नम्बर १ मा चार, वडा नम्बर २ मा एक, वडा नम्बर ३ मा २१, वडा नम्बर ४ मा २९, वडा नम्बर ५ मा ४३, वडा नम्बर ६ मा ३२, वडा नम्बर ७ मा ४५, वडा नम्बर ८ मा २४, वडा नम्बर ९ मा १६, वडा नम्बर १० मा २९ र वडा नम्बर ११ मा ३० संक्रमित छन्।
कोरोना संक्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। तीन जना अहिलेसम्म सम्पर्कविहीन छन्।
टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ श्ययाको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ।
नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए। यस्तै, टोखाले नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि भदौ २१ देखि २६ सम्म नगरपालिका कार्यालय बन्द गरेको छ।
नगरपालिका कार्यालय बन्द रहेपनि कोरोना संक्रमणको रोकथाम र उपचारका कुनै पनि काम नरोकिने नगरप्रमुख अधिकारीले बताए। नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पीसीआर परीक्षणको दायरालाई समेत बढाएको छ। टोखाले बुधबारदेखि प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गर्न लागेको जनाएको छ।
टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रूपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ। नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए। रासस











