कोरोनाका सक्रिय संक्रमित १५ हजार, सात जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

काठमाडौं, भदौ २४ : देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ संक्रमित थपिएका छन्। थपिएका नयाँ संक्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको जानकारी दिए। हालसम्म नेपालमा जम्मा संक्रमित ४९ हजार २१९ छन्। बुधबार विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ।
नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो। हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ। हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ। देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन्।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३, ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन्। त्यस्तै, होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय, वाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय, ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम १३० छन्।
देशभर १६२ सङ्क्रमित सघन उपचार कक्षमा छन्। प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन्। वाग्मतीमा २१ र ५ मा एक गरी २२ सङ्क्रमित भेण्टिलेटरमा छन्।
पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमित भेटिएका छन्। प्रदेश १ का उदयपुरमा एक, ओखलढुंगामा तीन, खोटाङमा दुई, झापामा छ, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन्।
प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन्।
काठमाडौँ उपत्यकामा ३६४ नयाँ सङ्क्रमित थपिएका छन्। उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन्। वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी(बर्दघाट सुस्ता पूर्व )मा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक सङ्क्रमित फेला परेका छन्। प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन्।
कर्णालीका जाजरकोटमा एक, दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई सङ्क्रमित फेला परेका छन्।
बुधबारसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ। पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन्। त्यस्तै, हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन्। रासस











