Kathmandu Press

कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको बहस  

काठमाडौं, भदौ २४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको बहस सुरु भएको छ।१०७ औं वीपी जयन्तीका अवसरमा बुधबार कांग्रेस केन्द्रीय...
कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको बहस  

काठमाडौं, भदौ २४ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनको बहस सुरु भएको छ।

१०७ औं वीपी जयन्तीका अवसरमा बुधबार कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा सर्वसम्मत नेतृत्व चयनको बहस भएको हो। १४ औं महाधिवेशन नजिकिँदै गएका बेला सभापतिका लागि दौडधूप थालेका छन‍्। बुधबार आयोजित कार्यक्रममा उपभापति विमलेन्द्र निधिले सर्वसम्मत नेतृत्वको बहस कार्यक्रममा प्रवेश गराएका हुन्।

‘महाधिवेशनमा विचारको आधारमा बहस गरौं। विचारको एकता गरौं। पार्टीभित्र र बाहिर वैचारिक रुपमा सबै एकै ठाउँमा उभिऔं,’ निधिले भने,‘महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन गरौं र भावी कार्यदिशा तय गरेर अघि बढौं।’

निधिले सर्वसम्मत नेतृत्व चयनको विषय उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसका लागि आफू तयार रहेको बताए। तर उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनका आधारमा सर्वसम्मत नेतृत्व चयन गरिनुपर्ने बताए।

‘म पार्टीभित्र एकताका पक्षमा छु। सर्वसम्मत नेतृत्व चयन गर्ने कुरामा म सहमत छु। तर त्यसको विधि तय हुनुपर्छ,’ उनले भने,‘न्याय, निष्पक्षता र पारदर्शीताका आधारमा मूल्यांकन गरौं र नेतृत्व चयन गरौं।’

सभापति शेरबहादुर देउवाले सर्वसम्मत नेतृत्व चयनका विषयमा धारणा राखेनन्। तर, तोकिएको समयमै महाधिवेशन गराउने विषयमा आफू तयार रहेको बताए। 

नेतृत्वका लागि सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, उपसभापति निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला लगायतले नेतृत्वको दाबी गरिरहेका छन्।

‘कम्युनिष्टविरुद्ध आन्दोलन गर्नुपर्ने देखियो’

कार्यक्रममा सभापति देउवाले कोरोना नियन्त्रणमा लाग्नुको साटो सरकार पैसा कमाउन लागि परेको आरोप लगाए।

उनले कोरोनाका कारण सरकारविरुद्ध सडक आन्दोलन गर्न नसकिएको तर कुनै पनि बेला सडक आन्दोलन गर्नु पर्ने अवस्था आउने बताए।  ‘सरकारले कोरोना नियन्त्रणमा ध्यान दिएको छैन। कोरोनाका नामा पैसा कमाउनेबाहेक काम गरेको छैन। भ्रष्टाचारबाहेक अरु काम गरेको छैन,’ उनले भने।

वरिष्ठ नेता पौडेलले अब कांग्रेसको ध्यान कम्युनिष्टसँग लड्नमा केन्द्रित हुनु पर्ने बताए। उनले अहिले भ्रष्टाचार अनियमितता मौलाएको भन्दै आगामी निर्वाचनमा  कम्युनिष्टलाई हराउनै पर्ने चुनौती कांग्रेससामू रहेको बताए।

‘हामी कम्युनिष्टसँग लड्नु छ। सत्ता र ढुकुटी भएपछि आगामी चुनावमा उनीहरुले के–के गर्लान्। त्यसैले कम्युनिष्ट सरकारका सबै काण्डको कांग्रेसले भण्डाफोर गर्नु पर्छ। कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्छ,’उनले भने।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्