Kathmandu Press

असोज १ देखि यातायात सञ्चालनमा ल्याउने व्यवसायीको चेतावनी

काठमाडौं, भदौ २४:  यातायात व्यवसायीले असोज १ देखि सार्वजनिक सवारी सञ्चालन गर्न नदिए स्वत: स्फुर्त चलाउने चेतावनी दिएका छन्। बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय...
असोज १ देखि यातायात सञ्चालनमा ल्याउने व्यवसायीको चेतावनी

काठमाडौं, भदौ २४:  यातायात व्यवसायीले असोज १ देखि सार्वजनिक सवारी सञ्चालन गर्न नदिए स्वत: स्फुर्त चलाउने चेतावनी दिएका छन्। 

बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीन वटा मजदुर संगठनको टोलीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिन माग गरेका छन्।  उनीहरुले सरकारले अनुमति नदिए असोज १ देखि स्वत: स्फुर्त रुपमा यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्।

'हामीले ६ महिनादेखि सार्वजनिक सवारी थन्काएर राख्यौं। अब सबै हिसाबले सवारी सञ्चालन गर्नै पर्ने अवस्था आएको छ,' महासंघका महासिचव सरोज सिटौलाले भने,'असोज १ देखि सबैखाले सवारी चलाउने व्यवस्था गर्न विभागलाई आग्रह गरेका छौं। अनुमति नदिइए स्वत: स्फुर्त रुपमा सवारी चलाउँछौँ।'

सरकारले यसअघि भदौ १५ देखि सार्वजनिक सवारी चलाउन दिन निर्णय गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि तत्कालका लागि रोक लगाएको थियो। व्यवसायीहरुले बैंक किस्ता तिर्न नसकेको, सवारीसाधन खिया लागेको, मजदुरहरु भोकै परेको लगायतका कारणले अब आफूहरु सवारी चलाउनै पर्ने अवस्थामा पुगेको बताएका छन्। 

कोरोनाको संक्रमण बढेसँगै सरकारले चैत ११ देखि लकडाउन घोषणा गरे यता लामो दूरीका सार्वजनिक सवारी सञ्चालनमा आउन सकेका छैनन्।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्