आज पनि वाणिज्य बैंकमा खरिदकर्ताको चाप, बजार फेरि ‘इण्ट्राडे हाई’मा बन्द
काठमाडौं, वैशाख ८ : आइतबार बजारको अन्तिम र उच्च विन्दु एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको छ। अघिल्लो कारोबार दिनमा जस्तै ब....
काठमाडौं, वैशाख ८ : आइतबार बजारको अन्तिम र उच्च विन्दु एउटै भएकाले बजार ‘इन्ट्राडे हाई’मा बन्द भएको छ। अघिल्लो कारोबार दिनमा जस्तै बजारमा अन्तिम समय खरिदकर्ता निकै सक्रिय भएपछि आइतबार बजार वृद्धि हुँदै बन्द भएको हो। ‘इन्ट्राडे हाई’ मा बजार बन्द हुनुलाई सकारात्मक प्रवृत्ति मानिन्छ।
आजपनि वाणिज्य बैंकको उपसूचकमा सर्वाधिक वृद्धि देखिएसँगै समस्त बजारले सकारात्मक प्रवृत्ति देखाएको थियो। वाणिज्य बैंकको शेयरमा आज पनि लगानीकर्ताको धेरै नै चासो रह्यो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ ले वृद्धि भएर १२६४ दशमलव २० को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा २ दशमलव ५९ प्रतिशतको वृद्धि देखिएको छ। दोस्रो बजार १२३२ दशमलव २६ को विन्दुमा खुलेर १२६४ दशमलव २० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२३० दशमलव २२ थियो। आज दिनभर एक अर्ब २ करोड ४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था :
आज सर्वाधिक कारोबार हुने :
आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल बैंक लिमिटेडको १४ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने :
आज स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले कमाए भने र बेस्ट फाइनान्स कम्पनीका शेयरधनीले सर्वाधिक ४ दशमलव १६ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण :
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख ८ गते बजार १२६४ दशमलव २० विन्दुमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा २ दशमलव ५९ प्रतिशतले वृद्धि हो। आजको मैनबत्तीले पनि बुलिस मारुबोजु आकृति बनाएको छ। यसले बजारमा कारोबारको अन्तिम समयसम्ममा क्रेताहरुको चाप रहेको र अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले पनि खरिदकर्ताहरुको चाप अत्याधिक रहेकनले बजार सकारात्मक रहेको मानिन्छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई दिनको बजारको उतारचडाव हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजार यदि १२३३ भन्दा माथि स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने र अर्को तत्कालिन प्रतिरोध १२५० मा रहेको थियो। आज बजार त्यही अनुरुप बढेको थियो भने केही समयका लागि यो क्षेत्रमा बजारलाई अवरोध गरेपनि कारोबारको अन्तिम आधा घण्टामा यो प्रतिरोधलाई तोडेको छ।
अघिल्लो कारोबारको दिन १२२५ को प्रतिरोधलाई बजारले तोडेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको छ। बजार २१ समायवधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजभन्दा माथि रहेकाले बजार बढ्दो प्रवृत्तिमा रहेको र यो ईएमए हाल टेवाको रुपमा परिणत भएको छ। अघिल्लो कारोबार जस्तै आजपनि रिलेटिभ स्ट्रेन्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद हुन थालेको संकेत गरेपनि बजार सच्चिने संकेत भने गरेको देखिँदैन।
निष्कर्ष : ५ मिनेट र दैनिक अवधिको मैनबत्तीहरुले बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। बजार अझ बढ्न सक्ने सम्भावना देखिएपनि १२८० देखि १३०० को मुख्य प्रतिरोध क्षेत्रलाई बजारले सामना गर्नु पर्ने देखिन्छ। यो क्षेत्रमा कारोबारीहरुले नाफा सञ्चित गर्ने प्रवल सम्भावना रहन्छ। त्यस्तै, बजारको सामान्य तत्कालीन टेवा १२४७ मा रहेको देखिन्छ।
(यो रिपोर्ट बैशाख ८ गते साँझ ६ वजेसम्म नेप्सेले उपलव्ध गराएको तथ्यांकको आधारमा विश्लेषण गरिएको हो।)