Kathmandu Press

श्रृंखलाको अन्तिम भाग एभेञ्जर्स एन्डगेम : अब के होला ?

काठमाडौं, वैशाख ८ : एभेञ्जर्स श्रृंखलाको अन्तिम भाग ‘एभेञ्जर्स : एन्डगेम’ लाई लिएर सारा विश्व निकै उत्सुक छ । नहुन् पनि किन ! शक्तिशा....

श्रृंखलाको अन्तिम भाग एभेञ्जर्स एन्डगेम : अब के होला ?

काठमाडौं, वैशाख ८ : एभेञ्जर्स श्रृंखलाको अन्तिम भाग ‘एभेञ्जर्स : एन्डगेम’ लाई लिएर सारा विश्व निकै उत्सुक छ । नहुन् पनि किन ! शक्तिशाली ‘थेनोस’ विरूद्ध जो भिड्दैछन् । ‘क्लाइमेक्स’लाई लिएर धेरै अड्कलबाजी भइरहेका छन्।

थेनोस सन् २०१२ को ‘एभेञ्जर्स एसेम्बल’मा पहिलो पटक देखिएका थिए । यो पात्रलाई हल्का लिनुहुन्न भन्ने त्यतिबेलै स्पष्ट थियो । ‘लोकी’ त्यतिबेलै तर्सिएका थिए । ‘गार्डियन्स अफ ग्यालेक्सी’ को पहिलो चलचित्रमा ‘रोनन’ थेनोसका सहयोगी थिए । पछि धोका दिए।

थेनोस एउटा विचार बोकेका लडाकू हुन् । सारा संसार व्यभिचार, घृणा र लोभले भरिएको उनलाई अनुभव हुन्छ । आधा जनसंख्या नाश गरेर उनी पृथ्वीलाई फेरि स्वच्छ बनाउन चाहन्छन् । यसका लागि थेनोसलाई ६ ओटा ‘इन्फिनिटी स्टोन्स’ आवश्यक पर्छ । तीमध्ये दुई ओटा पृथ्वीमा हुन्छ । डाक्टर स्ट्रेञ्जसँग ‘टाइम स्टोन’ हुन्छ । लोकीको भालाबाट निस्किएको ‘माइन्ड स्टोन’ ‘भिजन’को निधारमा बसेको हुन्छ।

Hardik ivf

ती पत्थरलाई पृथ्वीमा राखेर एभेञ्जर्सले अन्जानमै थेनोससँग शत्रुता साँध्छन् । ‘थोर’ले पहिले नै चेतावनी दिएका हुन्छन् तर त्यो अर्कै कथा हो । अब डा.स्ट्रेञ्ज र गार्डियन्स अफ ग्यालेक्सीका केही ‘हिरो’ सहित एभेञ्जर्समध्ये आइरनम्यान र स्पाइडरम्यान ‘टाइटन’ ग्रह पुगेर थेनोससँग लड्छन् । ‘ब्रुस ब्यानर’ ‘हल्क’ बन्न सक्दैनन् र ‘वाकान्डा’ गएर अरूलाई चेतावनी दिन्छन्। 

समूह बन्छ र महासंग्रामको तयारी हुन्छ । लोकीलाई मारेर थेनोसले पहिले नै ‘स्पेस स्टोन’ हत्याएका हुन्छन् । उनीसँग ‘रियालिटी स्टोन’ पहिले नै हुन्छ । तर त्यो कसरी पाए, कसैलाई थाहा छैन । ‘ज्यान्डर’ ग्रहमा विध्वंस मच्चाएर उनले ‘पावर स्टोन’ प्राप्त गरेका थिए । डा. स्ट्रेञ्जबाट टाइम स्टोन र भिजनबाट माइन्ड स्टोन पनि लिन्छन् । ‘सोल स्टोन’ पाउन थेनोसलाई अलि गाह्रो हुन्छ । आपूmलाई प्रिय केही बलिदान गर्नुपर्ने भएकाले ‘गमोरा’लाई अपहरण गर्छन् र भीरबाट खसाल्छन्।

पाँच पत्थरको त के कुरा, बिना कुनै माध्यम कसैले पनि एउटा मात्रै ‘इन्फिनिटी स्टोन’ को शक्ति नियन्त्रण गर्न नसक्ने दर्शकलाई थाहा छ । तर थेनोसले यसको पनि प्रबन्ध मिलाएका छन् । उनीसँग निडाभेल्लिरमा बनेको एउटा सुनको पञ्जा छ । त्यो ‘इन्फिनिटी गन्टलेट’ पहिलो पटक चलचित्र ‘थोर’मा ‘एस्गार्ड’को गोप्य संग्रहमा देखिएको थियो।

चलचित्रको पहिलो दश मिनेटमा थेनोसले हल्कलाई भकुर्छन् । मध्यान्तरपछि पृथ्वीमा आउँछन्, फेरि सबैलाई भकुर्छन् । थेनोसको अनुहारमा हेरेर छक्क पर्नुबाहेक ‘क्याप्टेन अमेरिका’ले पनि केही गर्न सक्दैनन् । त्यसपछि थोर आउँछन् र थेनोसको छातीमा चट्याङ बजार्छन् । उनलाई केही हुँदैन । बरू टाउकोमा प्रहारको गरेको भए हुने भनेर सल्लाह दिन्छन् । त्यसपछि, वाचा गरिएजस्तै ब्रह्माण्डबाट जीवित प्राणीको आधा संख्या ‘चुट्की’मै नासिन्छ।

 

मानवता र एभेञ्जर्सको हार हुन्छ । डा. स्ट्रेञ्ज, स्पाइडरम्यान, ब्ल्याक प्यान्थर, स्कार्लेट विच, स्टार लर्ड, ड्रयाक्स, म्यान्टिस, ग्रुट, निक फ्युरी र एजेन्ट मारिया हिलसँगै आधा ब्रह्माण्ड धुलोमा परिणत हुन्छ।

सबै आशा मर्छ । लाखौंमा एक सम्भावना मात्रै बाँकी रहन्छ । ‘इन्फिनिटी वार’ जहाँ सकिएको थियो, आगामी चलचित्र त्यहीबाट सुरू हुनेछ । ट्रेलरले केही रोचक तथ्यहरू खुलाएको छ।

‘एन्टमेन’ देखिएका छन् । ‘हकआइ’ ‘असासिन्स क्रिड’ जस्तो देखिने पहिरनमा छन् । आइरनम्यान अन्तरिक्षमा कतै लक्ष्यविहीन तैरिरहेका छन् । चलचित्रलाई लिएर दर्शकको अपेक्षा र चर्चाले अझ रोमाञ्चक भएको छ । त्यसैले पनि एभेञ्जर्स श्रृंखलाको चौथो चलचित्रको ‘प्रि–टिकेट बुकिङ’ले यसअघिका सबै रेकर्ड तोडेको छ।

चलचित्रबाट के आशा गर्ने ?

चलचित्रको अन्त्य सुखद हुनेछ भन्ने प्रष्ट छ । एन्टमेन ‘क्वान्टम रियाल्म’ प्रयोग गरेर ‘टाइम ट्राभल’ गर्न सक्छन् । उनकै सहयोगमा एभेञ्जर्स पनि अतितमा फर्किएर थेनोससँग युद्ध गर्ने केहीले अनुमान गरेका छन् । अहिलेका लागि, एन्टमेन त्यही क्वान्टम रियाल्ममा अल्झिएका छन् । केहीले एन्टमेनलाई साथी लुइसले भेट्ने र त्यहाँबाट बाहिर निकाल्ने सम्भावना देखेका छन् । केही भने ‘ज्यानेट’को अघिल्लो संस्करण ‘माइक्रोभर्स’ मा हुने र उनले नै स्कट ल्याङ अर्थात् एन्टमेनलाई बाहिर ल्याउने अनुमान गरेका छन्।

एन्टमेनले एभेञ्जर्स मुख्यालयको ढोका ढक्ढकाएको हामी सबैले देख्यौं । क्वान्टमबाट कसरी बाहिर निस्किए अभैm प्रष्ट छैन । एकछिनलाई मानौं उनी बाहिर निस्किए । भन्नेहरूले त के पनि भनेका छन् भने एन्टमेन थेनोसको गुदद्वारबाट प्रवेश गर्छन् र भित्र पसेपछि ठूलो आकार लिन्छन् । यसले थेनोसको अन्त्य हुन्छ । तर एउटा प्रमुख पात्रको यस्तो लज्जास्पद अन्त्य ‘मार्भल’ले गराउला र?

यस्तो पनि हुनसक्छ । कथाका पात्र जीवितै पनि हुनसक्छन् । अहिले ‘टाइम ट्राभल’ सबैभन्दा बढी चर्चामा छ । यो नै सजिलो तरिका पनि होला । तर यति सजिलै अनुमान गर्न सकिने कथावस्तुलाई मार्भलले प्रस्तुत गर्नेमा शंका छ।

केही फ्यानको अनुमान अनुसार, थेनोसले आधा ब्रह्माण्ड नाश गरेका होइनन् । उनले वैकल्पिक ब्रह्माण्ड वा ‘डाइमेन्सन’ बनाएर आधा जनसंख्यालाई त्यतै सारेका हुन् । यो साँचो भए के हुन्छ ? विभिन्न ब्रह्माण्डलाई ‘क्वान्टम रियाल्म’ मार्पmत् एउटै बनाउने र थप चलचित्र र ‘एक्स–मेन’ को संसारलाई प्रवेश गराउने मार्भलको योजना हो कि ? ‘कमिक्स’मा भने क्याप्टेन मार्भल नयाँ ब्रह्माण्डमा यात्रा गर्छन्।

डा. स्ट्रेञ्जले यो देखेका थिए कि ? जित्ने एउटा मात्रै बाटो भएको उनलाई थाहा छ । पत्थर सुरक्षित राख्न जे पनि गर्न सक्ने उनले बताएका थिए । तर यो ‘टोनी स्टार्क’को अन्त्य हुनसक्छ । यो समयमा, एन्टमेन र डा. स्ट्रेञ्जलाई मात्रै यसबारे ज्ञान छ।
त्यसैले नयाँ ब्रह्माण्डको सुरक्षाका लागि वास्तविक ब्रह्माण्डको बलिदान भएको हुनसक्छ । त्यसो हुँदा भयानक मृत्युवरण गरेका सबै पात्रहरू नयाँ ब्रह्माण्डमा फेरि जीवित हुनसक्छन्।

अर्काे मत पनि छ । ब्रह्माण्ड जोगाउनलाई क्याप्टेन अमेरिकाले बलिदान दिनेछन् । ‘माइन्ड स्टोन’का लागि बलिदान आवश्यक छ । त्यसै पनि एभेञ्जर्समा धेरै पात्रहरू जीवित छैनन् । अन्य एभेञ्जर्सभन्दा नैतिकवान् भएकाले उनले जीवन बलिदान दिन पनि सक्छन् । यसो भए आइरनम्यानले इन्फिनिटी गन्टलेट प्रयोग गर्नेछन् । तथापि यो अवधारणमा धेरै गल्तिहरू छन् । थेनोसको हात पर्नुअघि नै एभेञ्जर्सले ‘टाइम स्टोन’ र अन्य पत्थर किन नाश गर्दैनन्?

कोही निक फ्युरीको ‘फ्लेर्केन’ बिरालो मुख्य कडी हुने दाबी गर्छन् । यो प्रजातिको बिरालोसँग भिन्न समय, आयाम वा स्थानमा यात्रा गर्ने शक्ति हुन्छ । जो हराए, उनीहरू भिन्न आयाममा छन् । एभेञ्जर्सले खाली त्यहाँसम्म पुग्नुपर्छ र सबैलाई एकत्रित गर्नुपर्छ।

अन्तिम अवधारणा बढी व्यावहारिक छ । उत्तिकै अनौठो पनि । एन्टमेन थेनोसको ‘स्न्याप’ बाट बाँच्छन् किनभने त्यसले ‘क्वान्टम रियाल्म’ मा काम गर्दैन । यद्यपि उनी जीवित हुने सम्भावना आइरनम्यान वा एभेञ्जर्सका अन्य कुनै पात्र जत्तिकै न्युन छ । जे होस्, एभेञ्जर्सले यो कुरा बुझ्छन् र थेनोसलाई झुक्याएर ‘क्वान्टम रियाल्म’ पु¥याउँछन् । युद्ध हुन्छ र थेनोसलाई सदाका लागि त्यहाँ छाडेर फर्कन्छन्।

सबै अनुमान र अवधारणाहरू उत्तिकै रोमाञ्चक हुनसक्छन् । कथाको पनि अन्त्य पनि भिन्न–भिन्न छ । तर यथार्थ थाहा पाउन चलचित्र हेर्नैैपर्छ । अप्रिल २६ मा चलचित्र रिलिज हुँदैछ । एभेञ्जर्सका फ्यान व्यग्र छन् । धेरै स्थानमा पहिलो दिनको ‘शो’ को टिकट सबै बिक्रि भइसकेका छन्।

मार्भलले कस्तो कथा बनायो, हेर्न निकै रमाइलो हुनेछ । कुनै फ्यानको अनुमान मिल्छ कि मार्भलले कथामा ‘ट्विस्ट’ ल्याएर सबैलाई छक्क पार्छन्, त्यही दिन थाहा हुनेछ।
 

प्रकाशित मिति: ०७:१४ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्