Kathmandu Press

डलर र अन्तर्राष्ट्रिय भाउ सस्तो हुँदा पनि पेट्रोलियमको मूल्य घटाउँदैन आयल निगम 

काठमाडौं, वैशाख ५ :  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि त्यो अनुसार मूल्य नघटाई उच्च नाफा राखेर बजारमा बिक्....

डलर र अन्तर्राष्ट्रिय भाउ सस्तो हुँदा पनि पेट्रोलियमको मूल्य घटाउँदैन आयल निगम 
रिवाज राई

काठमाडौं, वैशाख ५ :  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि त्यो अनुसार मूल्य नघटाई उच्च नाफा राखेर बजारमा बिक्री गरिरहेको छ। खरिद मूल्यका आधारमा १५–१५ दिनमा मूल्य समायोजन गर्नुपर्ने भए पनि माघ १९ (फेब्रुअरी २) कै मूल्यमा अहिले पनि बेच्दै आएको छ। 

निगमले अहिले बजारमा प्रतिलिटर पेट्रोलको एक सय १०, डिजेलको ९८, मट्टितेलको ९७ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर एक हजार चार सय रूपैयाँमा बिक्री गर्दै आएको छ। उक्त मूल्यमा बेच्दा निगमलाई उच्च नाफा छ। प्रतिलिटर पेट्रोलमा १४ रूपैयाँ १२ पैसा, डिजेलमा १० रूपैयाँ ८६ पैसा र मट्टितेलमा २७ रूपैयाँ ८२ पैसाका दरले नाफा कमाइरहेको छ। एलपी ग्यासमा मात्रै निगमलाई प्रतिसिलिण्डर ८० रूपैयाँ ६९ पैसा नोक्सान छ।

Hardik ivf

साढे दुई महिनाभन्दा लामो समयदेखि घटाउनुपर्ने मूल्य घटाएको छैन। भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार अप्रिल १ देखि १५ सम्ममा मात्र करिब ४२ करोड रूपैयाँ नाफा आर्जन गरेको छ । अहिले दैनिक नाफा दुई  करोड ८० लाख रूपैयाँ छ । निगम आफैंले बनाएको स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार निगमले मूल्य समायोजन नगर्दा उपभोक्ता भने ठगिँदै आएका छन्। आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्य सूची अनुसार निगमले मूल्य समायोजन गर्नुपर्ने हो। 

निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइत चाहिँ मूल्य समायोजन नगरेको विषयलाई ढाकछोप गर्छन्। उनी अहिले नै यत्ति बढी नाफा राखेर बेचेको भन्न नमिल्ने तर्क गर्छन्। ‘आयल निगममा अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य निर्धारण हुन्छ। अहिले नाफा देखिएजस्तो मात्र देखिएको हो। नाफा र घाटा यति भयो भनेर अहिले नै भन्न नमिल्दैन’, उनले काठमाडौंप्रेससँग भने, ‘असार अन्तिममा मात्र वास्तविक नाफाघाटा थाहा हुन्छ। अहिले नै मूल्य घटाउन नमिल्ने भएकाले मूल्य यथावत् राखेका छौँ।’

सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । प्रणाली अनुसार अन्तराष्ट्रिय बजारअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनुपर्छ । ‘मूल्य समायोजनका विषयमा हामीले छलफल गरेका छौँ। अहिलेनै नाफामा  गएको यथार्थ पुष्टि गर्ने आधार छैन’, गोइतको दाबी छ।’

नाम खुलाउन नचाहने निगमका अर्का एक अधिकारीले भने आईओसीले पठाएको पछिल्लो मूल्यसूचीमा पेटोलियम पदार्थको मूल्यमा फेरि केही वृद्धि भएको छ। नयाँ सूचीअनुसार प्रतिलिटर पेट्रोलमा चार रूपैयाँ, डिजेलमा चार रूपैयाँ सात पैसा र मट्टितेलमा २३ रूपैयाँ ४८ पैसा नाफा छ । एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ७३ रूपैयाँ घाटा छ। 

उपभोक्ता मञ्चका अध्यक्ष माधव तिमल्सिनाले आयल निगमका कर्मचारीले बोनस खानका लागि मूल्य समायोजन नगरेको र उपभोक्ता ठगेको आरोप लगाए। उनले भने, ‘आम उपभोत्तालाई मर्का पारेर गैर नाफामूलक पूर्ण सरकारी संस्था आयल निगमले उपभोक्ता ठगेको छ। यो गलत हो। अन्तर्राष्ट्रिय बजार घट्दा पनि नेपालमा साढे दुई महिनाभन्दा लामो समयदेखि मूल्य यथावत राख्नु कानूनविपरीत छ।’
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, वैशाख ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्