Kathmandu Press

टेम्पो चालकको पीडा : कोरोनाको त्रासले भन्दा ऋणले पिरोल्छ

काठमाडौं, साउन १५ : विगत चार वर्षदेखि काठमाडौंमा टेम्पो चलाउँदै आएका हिरालाल आचार्य गत चैतमा लकडाउन

टेम्पो चालकको पीडा : कोरोनाको त्रासले भन्दा ऋणले पिरोल्छ
रिवाज राई

काठमाडौं, साउन १५ : विगत चार वर्षदेखि काठमाडौंमा टेम्पो चलाउँदै आएका हिरालाल आचार्य गत चैतमा लकडाउन हुने थाहा पाएपछि परिवारसहित गृहजिल्ला सिन्धुली गए। सिन्धुलीमा बसाई त राम्रै थियो, तर टेम्पुको किस्ता तिर्ने त्रास बढ्दै गयो।

लकडाउन अलि खुकुलो भएपछि उनी त्यही टेम्पु सम्झेर काठमाडौं आए। सरकारले सुरुआतमा लकडाउन खुकुलो बनायो। र साउन ६ गतदेखि लकडाउन अन्त्यको घोषणा गर्‍यो।

उनले सोचे, ‘अब त पहिलाकै अवस्थामा टेम्पु चल्ला र बाँकी किस्ता तिर्न सकिएला।’ तर, उनले सोचेको जस्तो भएन। उनी भन्छन्, ‘टेम्पु चलाएर दैनिक गुजारा गर्न पनि धौधौ भयो।’

Hardik ivf

थौरै मात्र संख्यामा मासिनहरु बोक्ने टेम्पोमा लकडाउनपछि ६ जनासम्म यात्रु बोक्न पाउने अनुमति थियो। ‘सरकारले नियम त ल्यायो, तर हामीले पाउनुपर्ने सहजता पाएनौँ, मानिहरु दुई जना पनि टेम्पुमा बस्दैनन्,’ हिरालालले काठमाडौं प्रेससँग भने ‘गाडीको किस्ता मासिक १८ हजार तिर्नुपर्छ। अहिलेको कमाईले खान बस्नकै लागि धौधौ परेको छ।’

एकातिर कमाई नहुने र अर्कोतिर यात्रुहरुले कोरोनाको सजगता नअपनाएर संक्रमित हुने हो की भन्ने डर लागेको उनी बताउँछन्। ‘हामीले सरकारले तोकेको सबै मापदण्ड पुरा गरेका छौ’ उनले भने, ‘तर यात्रुहरुले नै यसलाई हेलचेकराई गरिरहेका छन् । यात्रुका कारण कोरोना संक्रमित हुने डर पो लाग्न थालेको छ।’

विगतमा दैनिक तीन हजारसम्म आम्दानी गर्ने उनी अहिले मुस्किलले एक हजार आम्दानी हुने गरेको बताउँछन्। त्यसमाथि सरकारले तोकेको मापदण्डअनुसार, गाडीलाई डिस्इन्फेक्ट गर्ने, स्यानिटाईज गर्ने, मास्क लगाउने, पन्जा लगाउनेलगायतको खर्च थपिएकाले टेम्पुको कमाईले जिविका धान्नै मुस्किल भएको उनको भनाई छ।

‘गाडीको किस्ता र कोठाभाडा तिर्न फोन आईरहन्छ, तिर्ने कहाँबाट ल्याएर हो?,’ उनले भने, ‘कोरोनाको त्रासले भन्दा पनि पैसा तिर्न नसकिने त्रासले बढी पिरोल्छ।’
गत चार महिनाको ब्याजमा केही सहुलियत अथवा थप शुल्क मात्र नलिए पनि केही राहत महशुस हुने उनी बताउँछन्। ‘ठूलालाई किस्तामा छुट दिएको छ भन्ने सुनेको छु, हामीलाई त केही छुट छैन,’ उनले भने।

मन्त्रिपरिषद्को निर्णय अनुसार, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सार्वजनिक यातायात सञ्चालनमा ल्याउने भनिएपनि टेम्पोको लागि भने कुनै निश्चित मापदण्ड नतोकिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए। ‘सार्वजनिक यातायात सञ्चालनको निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसमा टेम्पोको लागि कुनै मापदण्ड तोकिएको छैन,’ खनालले भने ‘चालकले मास्क, स्यानिटाइजर, पञ्जालगायत सुरक्षाका उपायहरु नअपनाएको भेटिएमा मन्त्रिपरिषद्द्वारा पारित निर्देशिका अनुरुप नै कारबाही गर्छौँ।’

यस्तै यात्रुहरु पनि पूर्णरुपमा सन्तुष्ट भएर यात्रा गर्न सकिरहेका छैनन्। साउन १ गतेबाट आफ्नो रुद्राक्ष, मोतीमालाको पसल नियमित सञ्चालन गरीरहेका ६८ वर्षीय कुञ्जीलाल अग्रवाल दैनिक जयबागेश्वरीबाट न्यूरोड टेम्पोमा आउने गर्छन्। लकडाउनपछि सवारी चालक तथा यात्रुहरुले केहीहदसम्म आवश्यक सतर्कता अपनाएपनि धरैले यसको पालना नगरेको उनको अनुभव छ।

‘मास्कको प्रयोग गरेको देखिएपनि स्यानिटाईजर र सवारी साधनलाई डिस्इन्फेक्ट भने गरिएको पाईएको छैन,’ उनले भने ‘मान्छेहरु खचाखच राख्छन्। आफैले जानेर स्यानिटाईजर बोकेर हिँडेमात्र हो, नभए उनीहरुले कुनै दवाव दिँदैनन्।’ त्यसैले आफूले आवश्यकता अनुरुपको सतर्कता अपनाए पनि अरुको लापरवाहीका कारण कोरोनाको डर रहेको उनको भनाइ छ।

लकडाउन हुनुभन्दा अगाडि उपत्यकामा सात सय १४ वटा टेम्पोहरु सञ्चालित थिए। तर, लकडाउनपछि भने साढे तीन सयको हाराहारीमा मात्र टेम्पोहरु सञ्चालनमा आएको सफा यातायात प्राइभेट लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए।

‘विगत सञ्चालनमा रहेका टेम्पोहरुमध्ये हाल आधामात्र ट्याम्पो सञ्चालित छन्,’ उनले काठमाडौं प्रेससँग भने ‘हाल दैनिक १० देखि १५ वटा टेम्पोहरु पुनः सञ्चालनमा आईरहेका छन्।’

सरकारबाट टेम्पो चालकहरुका लागि कुनै व्यवस्था नभएका कारण संघले उनीहरुलाई स्यानिटाईजर, पन्जालगायतका सामग्री वितरण गरि केही हदसम्म राहत दिएको श्रेष्ठ बताउँछन्।

तर, हालको अवस्थामा टेम्पो सञ्चालन गरेपनि यात्रुहरु कममात्र आउनुका साथै ६ जनामात्र यात्रु बोक्न पाउने प्रावधान रहेकाले चालकहरुको आम्दानी खासै नभएको उनले बताए। ‘अहिले टेम्पो चलाएर कुनै फाइदा त छैन, तर यात्रुलाई केही हदसम्म सहज होस् भनेर मात्र चलाईरहेका छौँ,’ उनले भने।

प्रकाशित मिति: ११:०८ बजे, बिहीबार, साउन १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्