‘लकडाउन पूर्णरुपमा खोल्ने समय आएको थिएन, कोरोनाको जोखिम झन् बढ्यो’
काठमाडौं, साउन ८ : सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन मंगल
काठमाडौं, साउन ८ : सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन मंगलबार रातिबाट हटाएको छ।
कोरोना भाइरसको दोस्रो केस पुष्टि भएसँगै गरिएको लकडाउन संक्रमितको संख्या १७ हजार बढी भएपछि खुला गरिएको हो। सरकारी तथ्यांक अनुसार लकडाउन खुलेको पहिलो दिन बुधबार एक सय जना कोरोना संक्रमित थपिएका छन्। भाइरोलोजिष्टहरुले नेपालमा समुदाय स्तरमा कोरोनाको संक्रमण सुरु भएको बताएका छन्।
लकडाउन खुलेसँगै उपत्यका कोरोनामुक्त भए झैँ चहलपहल बढ्न थालेको छ। रेष्टुरेन्ट भरिभराउ छन् भने सार्वजनिक यातायातमा पनि मानिसको भिड हुन थालेको छ। यसै सन्दर्भमा केही सरुवा रोग विशेषज्ञसँग हामीले सरकारले लकडाउन अन्त्य गर्यो, के नेपालमा कोरोनाको संक्रमण घटेको हो? लकडाउन हटाउने समय आएको हो? भनेर सोधेका छौँ।
डा. ल्हामो याङ्चेन शेर्पा
सुरुमा दुई व्यक्तिमा कोरोना संक्रमण देखिने बित्तिकै लकडाउन घोषणा गरियो। तर, अहिले संक्रमण समुदायमै फैलन थालेपछि भने सरकारले लकडाउन खोलेको छ।
लकडाउन खुले पनि जिम, पार्लर, शैक्षिक संस्था, धार्मिकस्थल लगायतका क्षेत्र तत्काल खुल्न पाउने छैनन्। तर, त्रिभुवन विश्वविद्यालयले भने शिक्षकहरु आउनु पर्ने सूचना प्रकाशन गरेको छ। साथै कक्षा पनि सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ।
विद्यालय त पहिलादेखि नै खोल्ने कुराहरु भइरहेको थियो। अनलाइन कक्षालाई नै निरन्तरता दिन सक्नुपर्ने थियो, त्यसलाई पनि सरकारलले बेवास्ता गरेको देखिन्छ। लकडाउन खुलेपनि निश्चित संस्था र व्यवसाय बन्द रहने भनिए पनि यसको अनुगमन कसले गर्ने भन्ने विषय अन्योलमै छ। कागजमा लेखेर मात्र अनुगमन हुँदैन। अहिले त्यसको अनुगमन कसले गरिरहेको छ त?
नेपालमा युवाहरुको संख्या बढी छ। युवाहरुलाई कोरोनाको जोखिम प्राैढमा भन्दा कम हुन्छ। तर तीनै युवाका कारण कारण परिवारका अन्य सदस्यलाई कोरोनाको खतरा हुन सक्छ। कुनै तयारीबिना के आधारमा खोलेको हो लकडाउन भन्ने सरकारले बुझाउन सक्नुपर्छ। त्यो बुझाउन सकेको छैन। सुरुमा के आधारमा बन्द गरिएको हो भन्ने पनि थाहा छैन। लकडाउनको अवधिमा के उपलब्धि हासिल गर्यो? त्यो पनि थाहा छैन।
सरकारले खाली यति ल्याबमा यति टेष्ट भयो भन्ने तथ्यांक निकाल्छ। त्यो तथ्यांक कसको हो? कसरी निकालेको? कसरी ट्रेस गर्यो? यी कुरा त स्पष्ट पार्नुपर्छ। यतिमात्र नभई अब कसरी अगाडि भन्ने समेत अन्योल नै छ।
यसको भ्याक्सिन पनि छैन। संक्रमण बढेमा पर्याप्त अस्पताल छैन, आवश्यक भ्यान्टिलेटर पनि छैन। सरकारले यसको लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हो। यस्ता कुनै पनि कुरामा सरकारले ध्यान दिएको छैन। सरकारले अबका दिनमा कन्ट्याक्ट ट्रेसिङ बढाउने, सबैले सामाजिक दूरी कायम गर्ने, मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्ने, सवारीलाई डिसइन्फेक्ट गर्ने लगायतका कुरालाई व्यवहारमा उतार्नुपर्छ। तर त्यो बाटोमा सरकार अघि बढेको देखिँदैन।
नेपालको सन्दर्भमा यहाँका जनताले त्यो तहको सतर्कता अपनाउँछन् वा अपनाउँदैनन् भन्ने कुरामा भर पर्छ। अर्को सरकारले तथ्यांक लुकाउँछ वा लुकाउँदैन भन्ने कुरामा पनि भर पर्छ।
सरकारले लकडाउन खोल्दा नै विस्तारै अवस्था हेरेर संक्रमितको तथ्यांक स्थिर भएमा मात्र चरणवद्ध रुपमा लकडाउन खोल्नुपर्ने थियो। तर कोरोनामुक्त भएजस्तै गरेर सबै खोलेपछि चार महिनादेखि घरमा बसेका मानिसहरु पनि आवश्यक सतर्कताबिना नै बाहिर जान थालेका छन्।
कोरोनाको भ्याक्सिन बने पनि २०२२ मा बल्ल नेपालमा आउँछ। त्यस अगाडि नै नेपालमा कोरोनाको दोस्रो वेभ आउन सक्छ। तसर्थ अहिले लकडाउन खुल्यो भन्दैमा लापरवाही गर्न हुँदैन।
डा. समिरमणि दीक्षित
लकडाउन खोलेपछि मानिसहरु बाहिर निस्कन थालेको भनिएको छ। तर याद गर्ने हो भने विगत दुई महिना अगाडिदेखि नै अर्थात लकडाउन खुकुलो भए लगत्तै मानिसहरुको चहलपहल बढिसकेको थियो। फरक यतिमात्र छ कि पहिला मानिसहरु अनधिकृत रुपमा आफ्नो व्यवसाय चलाउँथे भने अहिले उनीहरुले स्वतन्त्र रुपमा आवतजावतको छुट प्राप्त गरेका छन्। तसर्थ सावधानीका लागि पहिला जे कुरा लागू हुने हो अहिले पनि त्यही नै लागू गर्नुपर्छ।
सरकारले लकडाउनलाई आधिकारिक रुपमै खोलेको भएपनि मानिसहरुमा कोरोना मुक्त भएरै लकडाउन खुलेको भन्ने भ्रम हुनु भएन। संक्रमण सकिएको छैन। सरकारले मानिसको दैनिकी सजिलो बनाउनका लागि मात्र लकडाउन खोलेको भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
अर्थतन्त्र चलायमान बनाउन, मानिसको दैनिकी सहज बनाउन र कोरोनाका कारणले भन्दा पनि अन्य कारणले मानिसको मृत्यु हुनबाट जोगाउन मात्र सरकारले यो निर्णय गरेको हो। सरकारले जे गरेपनि हामीले आफ्नो तर्फबाट गर्न सकिने सतर्कता अपनाउन जरुरी छ। राज्यको कमजोरी भनेको लकडाउन खुलेपनि कोरोना संक्रमणबाट मुक्त नभएको कुरा जनतालाई राम्रोसँग स्पष्ट पार्न नसक्नु हो। यो कुरा स्पष्ट नहुँदा मानिसहरुमा सरकारले नै लकडाउन खोलेपछि पूर्ण रुपमा संक्रमण नभएरै हो भन्ने भ्रममा सर्वसाधारणमा छ। यो एकदमै गलत हो। यसको ठ्याक्कै विपरीत नेपालमा कोरोना समुदायमा फैलने क्रममा छ।
तथ्यांकलाई आधारमा मान्ने हो भने पहिलादेखि नै मानिसको भिडभाड बढेपनि संक्रमण अत्यधिक बढेको पाइँदैन। यस हिसाबले आगामी दिनमा यसले कस्तो अवस्था सिर्जना गर्ला? भन्न मुस्किल नै छ। तर सम्भावित जोखिमलाई मध्यनजर गरेर भएका पूर्वाधारको प्रयोग गर्नुका साथै आवश्यक पूर्वाधारको व्यवस्थापनमा अहिलेदेखि नै लाग्नु पर्छ।
देश र जनताका लागि कोरोना संक्रमणभन्दा पनि अरु कुराहरु महत्वपूर्ण छन्। कोरोनाले गर्ने क्षति र लकडाउनले गर्ने क्षतिलाई तुलना गर्ने हो भने नेपालमा कोरोना भन्दा लकडाउनले मानिसको जनजीवन धेरै गुणाले प्रभावित बनाएको छ। यसैलाई आधार मानेरै सरकारले लकडाउन खोलेको हो। आवश्यकता अनुसारको यो निर्णय ठीक हो। तर सचेतना अझ बढाउनु र तयारी अझ बढाउनेतर्फ सरकारले काम गर्नुपर्छ।
डा. शेर बहादुर पुन
नेपालमा कोरोना भाइरसको प्रकृति अन्य देशको तुलनामा भिन्न छ। नेपालमा संक्रमण भएका अधिकांश मानिसलाई सामान्य स्वास्थ्य समस्या मात्र देखिएको छ। यसबाहेक अहिले धेरै जसो कोरोना टेष्ट गर्ने युवाहरु नै रहेका कारण उनीहरुलाई ठूलो रुपमा असर नगरेको पनि हुन सक्ने अनुमान छ। तर अहिले लकडाउन खुलेको अवस्थामा नजानिँदो तरिकाले कोरोना सर्न सक्ने सम्भावना बढी छ।
हाल मानिसहरु लकडाउन खुल्नुलाई कोरोनामुक्त भएको सोचेका छन्। केही दिनअघि खुकुलो भएको लकडाउनमा नै मानिसहरुले आवश्यक सतर्कता अपनाएका थिएनन्। लकडाउन खुलेपछि विशेषगरी काठमाडौंमा मानिसहरुको आवतजावत अत्यधिक मात्रामा बढेको छ। सरकारले पनि अरुको दबाबमा आएर तयारी बिना लकडाउन खोल्न नहुने थियो। यसकै कारणले संक्रमण बढ्न सक्ने सम्भावना धेरै छ।
नेपालको सन्दर्भमा समुदायमा कोरोना फैलिएको हुनसक्ने संकेतहरु छन्। यसलाई नियन्त्रण गर्न सतर्कताका उपायहरु अपनाउन निकै जरुरी छ। लकडाउनको समयमा भन्दा पनि हाल मानिसहरुको आवतजावत बढे यता सर्तकताका उपायहरु अझ बढी अपनाउनु पर्छ।
विगतको तुलनामा कोरोना संक्रमितको संख्या घट्दै गएपनि अब सरकारले समुदायमा यसको अवस्था कस्तो छ भन्ने विषयतर्फ ध्यान दिनुपर्छ। तसर्थ आगामी दिनमा वृद्धहरुलाई कसरी संक्रणबाट जोगाउनेदेखि विभिन्न रणनीतिहरु बनाउन जरुरी छ।
लकडाउन खुलेपनि संक्रमणको संख्या हालकै स्थितिमा स्थिर हुने हो भने भयावह रुप नलेला तर कोरोना भाइरसको प्रकृति कुनै पनि बेला परिवर्तन भई धेरै संख्यामा मानिसहरुको स्वास्थ्यमा समस्या आउन थाल्यो भने पुनः लकडाउन घोषण गर्ने बाहेक अरु उपाय रहँदैन। त्यसैले अहिले नै सरकार र जनताको तर्फबाट पर्याप्त सतर्कता अपनाउनु पर्छ।