‘महानायक’ बन्न कोही छैन लायक
हलिउड र बलिउड भनेजस्तै नेपाली चलचित्र उद्योगको ब्रान्ड नाम अहिलेसम्म बन्न सकेको छैन। नेपालका रंग पत्रकारले ‘कलि
हलिउड र बलिउड भनेजस्तै नेपाली चलचित्र उद्योगको ब्रान्ड नाम अहिलेसम्म बन्न सकेको छैन। नेपालका रंग पत्रकारले ‘कलिउड’ भनेर लेख्न थाले पनि विश्व सिने जगतमा ‘कलिउड’ ब्रान्ड बन्न सकेकै छैन।
चिनियाँहरु आफ्नै भाषामा डब गरिएका हिन्दी चलचित्रका फ्यान नै छन्। विश्वभर चिनियाँ चलचित्रको पनि आफ्नै बजार छ। नेपाली दर्शक हलिउड, बलिउडका मात्र होइन, कोरियाली, इरानी, जापानी, चिनियाँ चलचित्रसमेत मन पराउँछन्।
तर, नेपाली चलचित्रले विश्व दर्शकमाझ आफ्नो खासै छाप छाड्न सकेको छैन। हाम्रो ‘कलिउड’ अहिले कोक्रोमै सुतिरहेको बालकझैँ छ– विश्व सिने जगतमा।
नेपाली दर्शकले चाहिँ नेपाली चलचित्रलाई सदा माया, स्नेह गर्दै आए। यहाँका चलचित्र समिक्षकले पनि ‘नेपाली चलचित्र हो, जस्तोसुकै भए पनि राम्रैै भनेर समीक्षा गरिदिऊ’ भन्ने मानसिकता राख्दै आए। दिनहुँ भेट भइरहने भाइसाथी, दिदीबहिनीले लगानी गरेको चलचित्र जतिसुकै ‘झुर’ भए पनि ‘फरक ढंगको, बलिउडलाई मात दिने’ भन्दै आजसम्म समीक्षा हुँदै आयो।
क्रिटिकल एंगलबाट निर्मम समीक्षा नभएकाले चलचित्र निर्देशक, निर्माता र कलाकारहरु एउटै ढर्राका चलचित्रमा रमाउन अभ्यस्त भए। लामो समयसम्म नेपाली दर्शक चोभारको डाँडोमा हुने फाइट, माछापुच्छ्रे या यस्तै हिमालमुनिका नृत्य, शम्भुजित बाँस्कोटा शैलीका संगीत अनि ‘शंकर हुँ शंकर’ मार्का सम्वाद सुन्न विवश हुनुप¥यो। कथा, पटकथा, द्वन्द्व, नृत्य, संगीत र अभिनयको बान्की हरेक चलचित्रमा करिव–करिव उस्तै। मध्यान्तरपछि नै अन्त्य अनुमान हुने खालका चलचित्र हेर्दा पनि दर्शक खुशी नै भए, नेपाली चलचित्रलाई माया गरिरहे।
काठमाडौंका भित्री गल्लीमा राँगो काट्ने ठाउँमा भएको फाइट हेर्न हामीले ‘लुट’ नै कुर्नुपर्यो। ‘हाकु काले’ बल्ल चलचित्रमा देखिए। कपाल पालेको, अग्लो अनि चिच्याएर सम्वाद बोल्ने अभिनेताको हुलिया बदल्दै दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ, सौगात मल्लहरु उदाए। स्टारडम भित्र्याउँदै अनमोल केसी आए।
दीपकराज गिरी र दिपाश्रीहरुले हास्य चलचित्रलाई मुलधारमा स्थापित गरिदिए। अहिले बल्ल केही आशा पलाएको थियो, लकडाउनले खुत्रैकै पार्यो। सिनेमाघर बन्द छन्, चलचित्र निर्माण ठप्प छ। दयाहाङ राई लकडाउन खुल्ना साथ म्युजिक भिडियो छायांकनतिर लागेका छन्।
ठीक यसैबेला कलिउडमा ‘महानायक बहस’ उफानमा छ। राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने बहसले चलचित्र क्षेत्र गर्माएको छ। बहस गर्माउनुको कारण बनिन् हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौला।
रंग पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्ने टक शोमा अन्तर्वार्ताका क्रममा उनले प्रश्न गरेकी थिइन्,‘अमिताभ बच्चन त अहिले पनि बलिउडामा खेलिरहनु भएकै छ, नेपालमा महानायक अहिले हुनुहुन्छ र?’
अभिनेता राजेशका फ्यानहरु आगो भइहाले। दीपाश्रीविरुद्ध शिष्ट अशिष्ट, भद्र–अभद्र सबै खालका गालीगलौज सुरु भयो। निर्माता अशोक शर्माले त यही कारण दीपाश्री डिप्रेशनमै गएकोसम्म लेखे। अन्ततः राजेशले दीपाश्रीको नामै नलिएरै ‘सम्बन्धित पक्षलाई क्षमा दिन’ आग्रह गरेपछि केही हदसम्म यो विवाद मत्थर हुँदैछ। तर, पूर्ण रुपमा सेलाइसकेको भने छैन। राजेश महानायक हुन् कि हैनन् भन्ने पक्ष विपक्षका तर्क र दलिलहरु आइरहेकै छन्।
चलचित्र समीक्षक एवं निर्देशक दिपेन्द्र लामालगायतले ‘हामी कहाँ कोही पनि महानायक नभएको’ दाबी गरिरहेका छन् भने अर्काथरीले ‘पच्चिस वर्षसम्म लगातार यो क्षेत्रमा सक्रिय राजेश नै महानायक’ भन्ने दाबी गरिरहेका छन्।
राजेशका फ्यानहरु उनलाई महानायक सावित गर्न हदैसम्मको अशिष्ट गालीगलौजमा उत्रिएका छन्। स्वयं राजेशले पनि महानायक बहसमा मौनता साँधेका छन्। तर, बलिउडाका चर्चित अभिनेता अमिताभ बच्चन यस्तै मामिलामा भिन्न देखिए। गत वर्ष अमिताभलाई गोविन्द नामदेवको पुस्तक ‘मधुकर शाह’को विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा डाकियो।
कार्यक्रममा गोविन्द नामदेवले उनलाई ‘शताब्दी महानायक’ भनेर सम्बोधन गरे, जुन स्वाभाविक थियो। सन् १९९९ मै बीबीसी न्यूजले नै घोषणा गरिसकेको त्यो उपाधि। तर, त्यो सुनेपछि अमिताभले सम्बोधनका क्रममा भने, ‘म एक सामान्य कलाकार हुँ। महानायक हैन। मलाई कसैले महानायक भन्दा लाज लाग्छ। बरु महान त तपाईंहरु हुनुहुन्छ, जसबाट आज मैले धेरै ज्ञानका कुराहरु सुन्न पाएँ।’
यति भनिसकेपछि अमिताभले आफूलाई शताब्दी महानायक कम्प्युटरले बनाएको बताए। अर्थात अनलाइन भोटिङकै सन्दर्भको जिकिर गर्दै अमिताभले थपे, ‘कम्प्युटरले मलाई शताब्दी महानायक त बनायो। तर मलाई लाग्छ, त्यो कम्प्युटर इरर थियो। म महानायक हैन, सामान्य मान्छे हुँ, कलाकार हुँ।’
हामी कहाँ अहिलेसम्म कालजयी चलचित्र खासै बन्न सकेकै छैन। बलिउडमा मुलधार, फरक धार, तेस्रो धार हुँदै समानान्तर धारसमेत सक्रिय छ। हामी कहाँ बल्ल फरक धारका चलचित्र बन्न थालेका छन्। ‘दासढुंगा’ बनाउने मनोज पण्डितलाई सेन्सरले धुरुधुरु रुवायो। ‘नुमाफुङ’ जस्तो उत्कृष्ट चलचित्र बनाएका नविन सुब्बा केही वर्ष अघिसम्म ‘गुड बाइ काठमाडौं’ बनाउने कुरा गर्दै थिए, अचेल कता हराए कुन्नी? छिरिङ रितार शेर्पालाई राज्यले नै प्रोत्साहन गर्नुपर्ने हो।
सधैँ फेवाताल र हिमाल देखाइने चलचित्रमा फेवाताल आसपासकै जनताको वास्तविक पीडा पर्दामा ल्याएर ‘पुरानो डुंगा’ बनाएका माओत्से गुरुङलाई प्रोत्साहन कसले गर्ने? यस्तो बेला हास्यरसकै चलचित्र बनाएर मल्टिप्लेक्सदेखि अन्य हलसम्म हिन्दी चलचित्रलाई समेत माथ दिँदै आएका दीपाश्रीको टिममाथि एकोहोरो आक्रमण हुनु उचित हैन।
पहिलो कुरा, कसैले पनि आफ्नो फेमको दम्भ पाल्नु हुँदैन। फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र? जब कुनै सर्जकमा दम्भ पलाउँछ, तबको उसको अवनति प्रारम्भ हुन्छ। अमिताभ अघिका सुपरस्टार राजेश खन्नामा सुपरस्टार हुनुको दम्भ थियो।
चलचित्र ‘आनन्द’को प्रथम प्रदर्शनका क्रममा दर्शकले बेजोड अभिनयका लागि राजेश खन्नालाई बधाई दिए। बधाई दिने क्रममा सोही चलचित्रका सह-अभिनेता अमिताभले राजेशसँग हात मिलाउन खोजेका थिए। तर, राजेशको दम्भ कस्तो, ‘अपरिचित मान्छेहरुसँग हात मिलाउने मेरो बानी छैन’ भन्दै वास्तै नगरी अघि बढे।
आखिर ‘जंजीर’को सफलतापछि अभिताभको स्टारडम चम्कदै गयो, राजेशको घट्दै गयो। आफ्नो निधन हुनु केही वर्ष पहिले लाइफ टाइम एचिभमेन्ट अवार्ड ग्रहण गर्ने क्रममा राजेशले भनेका थिए, ‘उल्फतें, शोहरतें, चाहतें ए सबकुछ इस दुनियाँ मे रहता नही, आज मै हुँ जहाँ कल कोइँ और था, ए भी एक दौर है, वो भी एक दौर था।’
कुनै बेला राजेश हमालको युग थियो, अहिले दयाहाङ राई, निश्चल बस्नेत र अनमोल केसीहरुको युग छ। बलिउडमा कुनै बेला अमिताभको युग थियो, अहिले साहरुख, सलमान, अमिर, ऋतिक रोशन, अक्षयकुमार, रणवीर कपुर र रणविर सिंहहरुको युग छ। तर, अहिले पनि अमिताभ लिडिङ भूमिकामै पर्दामा छाइरहेका छन्, चरित्र अभिनेताका रुपमा।
हाम्रा राजेश हमाललाई आफू पचास कटेको अधवैंशे हुँ भन्ने लाग्छ भने चरित्र अभिनेताका रुपमा पनि त रि इन्ट्री गर्न सकिन्छ। उमेरले हिरो हुन छेक्दैन भन्ने तथ्य त दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई हेरे भइहाल्यो, अहिले पनि उनी छोरी उमेरकी अभिनेत्रीसँग नाचिरहेकै छन्।
अतः महानायक बहसको छिनोफानो त्यतिबेला मात्र हुनेछ, जब राजेश हमालको रि–इन्ट्री हुनेछ र उनले ‘एक से एक’ सफल चलचित्र दिनेछन्। दीपाश्रीले उनलाई पुनः चलचित्र क्षेत्रमा आउन उक्साएकी मात्र हुन्, प्रेरित गरेकी मात्र हुन्।