Kathmandu Press

अयोध्या, ओली र अतिरंजना

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा ‘राम नेपाली नै भएको र अयोध्या पनि पर्साको ठोरीमा रहेको&rsqu

अयोध्या, ओली र अतिरंजना

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा ‘राम नेपाली नै भएको र अयोध्या पनि पर्साको ठोरीमा रहेको’ दाबी गरेपछि भारत र नेपालका हिन्दू धर्मावलम्बी मात्र हैन, गैरहिन्दू समुदायसमेत आश्चर्यचकित, आक्रोशित र क्रुद्ध भएको छ।

भारतको अयोध्याका मठाधीश अनि नेपालको जनकपुरका सन्तले पनि ओलीको उटपट्याङ बोलीको विरोध गरेका छन्। भारतीय मिडियामात्र हैन, यतिबेला नेपाली मिडिया र सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको गैरजिम्मेवार अभिव्यक्तिप्रति तीव्र विरोध भइरहेको छ। सत्तारुढ र विपक्षी दलका नेताहरुले ओलीलाई आफ्नो अभिव्यक्तिका लागि आत्मालोचना गर्न सल्लाह दिइरहेका छन्। 

धार्मिक सद्भाव भड्काउने र सत्ता स्वार्थमा रामको नाम सहारा लिने कम्युनिष्ट प्रधानमन्त्रीको बोलीमाथि लगाम लगाउन यतिबेला सबैले आग्रह गरिरहेका छन्। कसैले चाहिँ प्रधानमन्त्री ओलीले हठात् अघि सारेको विषयमा गहन बहस, छलफल र चर्चा हुनुपर्ने राय दिइरहेका छन्। 

Hardik ivf

के साँच्चै रामको अयोध्या ठोरीमै हो त? यसबारेमा केही पौराणिक र केही ऐतिहासिक तथ्य केलाउनुपर्ने हुन्छ। भारतका पुरातत्वविद् डा. बीबी लाल (इन्डियन इन्टिच्युट अफ एडभान्स स्टडिजका तत्कालीन निर्देशक) ले सन् १९७५ देखि नै रामायणमा वर्णित स्थलको खोज अनुसन्धान र उत्खनन्  गर्दै आएका थिए। ती सारा स्थलको व्यापक उत्खनन् गर्दा इशापूर्व सातौं शताब्दीभन्दा उताको मानव सभ्यताको कुनै अवशेष उनले फेला पारेनन्। ती क्षेत्रमा बुद्धको युगभन्दा दुई सय वर्ष पहिलेदेखि मात्र मानव वस्तीको विकास भएका अवशेषहरु पाइए। यस हिसाबले अयोध्या नगरी इशापूर्व सातौं शताब्दीतिर विकास भएको हुनसक्ने उनको अध्ययनको निष्कर्ष थियो। तर, पौराणिक तथ्यहरु भने भिन्नै छन्।  

‘रामको अयोध्या नेपालको ठोरीमै हो र राम नेपाली हुन्’ भन्ने दाबी पुष्टि गर्न हामीसँग खासै कुनै पौराणिक र ऐतिहासिक तथ्य छैन। उही ‘राम जन्ती लिएर एकैदिन कसरी जनकपुरबाट पाँच सय किलोमिटर परको अयोध्या नगरी फर्किए’ भन्ने पौराणिक तथ्यमै टेकिएको हवालाबाहेक। पंक्तिकारले विभिन्न सन्दर्भ स्रोत, इन्टरनेटमा विज्ञ सोधकर्ताहरुका लेख र पुस्तकहरुको अध्ययन गर्दा भारतसँग अयोध्याबारे पर्याप्त पौराणिक र ऐतिहासिक प्रमाण भएको भेटियो।

हिन्दू पौराणिक इतिहास अनुसार भगवान श्रीराम सूर्यकै वंश भएकाले सूर्यवंशी भनिएको रहेछ। पौराणिक इतिहासमै वर्णित भारतका पवित्र सप्तपुरीमा अयोध्या, मथुरा, हरिद्वार, काशी, काँची, उज्जयीनी र द्वारका उल्लेख छ। अथर्ववेदमा अयोध्यालाई ‘इश्वरको नगर’ भनिएको छ। स्कन्द पुराणले ‘अ’कार ब्रम्हा, ‘य’कार विष्णु तथा ‘ध’ कारलाई रुद्रको स्वरुपमा अर्थाएको छ। जैन मतका अनुसार अयोध्यामै आदिनाथसहित पाँच तीर्थकरको जन्म भएको थियो। २४ तीर्थकरमध्ये २२ जना त इक्ष्वाकु कुलकै रहेछन्, जुन कुलमै रामको जन्म भएको हो। 

रामायणका अनुसार सूर्यपुत्र वैवस्वत मनु राजाले नै अयोध्या नगरी स्थापना गरेका थिए। मनु राजा ब्रम्हाजीकै हाँगा हुन्। वंश वर्णन अनुसार ब्रम्हाजीका पुत्र मरिचीबाट कश्यपको जन्म भयो, कश्यपबाट विवस्वान (सूर्य) अनि विवस्वानबाट वैवस्वत मनु। मनु राजाका दश पुत्र भए। उनीहरु थिए– इल, इक्ष्वाकु, कुशनाम, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, शर्याती र पृषथ। यी दश पुत्रमध्ये इक्ष्वाकुकै वंश धेरै विस्तार भयो। इक्ष्वाकु कुलमै जन्मिएका हुन्, भगवान श्रीराम। रामका पिता दशरथ यो वंशका ६३ औं राजा रहेछन्। 

अयोध्यामा महाभारत कालसम्म पनि इक्ष्वाकु वंशकै राजाहरुको शासन रह्यो। यही वंशका हुन्– बृहद्रथ, जो महाभारतमा अर्जुन पुत्र अभिमन्यूबाट मारिएका थिए। महाभारत युद्धपछि अयोध्या उजाड बन्दै गयो। बृहद्रथ मारिएपछि अयोध्या मगध र कन्नौजका शासकहरुको अधिनमा रह्यो। पछि यहाँ महमुद गजनीका भान्जा सैयद सालारले तुर्क शासन कायम गरे। सैयद सालार सन् १०३३ मा बहराइचमा मारिए। त्यसपछि यो राज्य तैमूर र शक आदि शासकहरुको अधिनमा रह्यो। सन् १५२६ मा बाबरले भारतमा मुगल साम्राज्य कायम गरे। बाबरका सेनापति मिरबकीले सन् १५२८ मा अयोध्यामा आक्रमण गरेर राम जन्मभूमिस्थित मन्दिर भत्काएर बाबरी मस्जिद निर्माण गराएको इतिहास रहेछ। 

ऐतिहासिक तथ्यकै आधारमा पनि अयोध्या अहिलेको भारतमै रहेको स्पष्ट हुन्छ। रामायणमा वर्णीत पौराणिककाल गणनालाई थाती राखेर सोधकर्ता र पुरातत्वविदै मतलाई आधार मान्दा इशापूर्व करिब २७ सय वर्षतिर अयोध्या नगरी स्थापना भएको अनुमान छ। यदि यसो हो भने, के त्यतिबेला नेपालको ठोरीको अयोध्यालाई ओझेलमा पार्नकै लागि या साँस्कृतिक अतिक्रमण गर्नकै लागि त्यहाँ कसैले नक्कली अयोध्या खडा गरेको होला त?

बाबरले शासन गर्दाताका समेत अहिलेको सग्लो विशाल भारत बनिसकेको थिएन। त्यहाँ अनेक राज्य थिए। भारतको हेपाहापनको चर्चा गर्ने हो भने पनि त्यो नेहरुकालमा आएर मात्र होला, जुन भाव हाम्रा प्रधानमन्त्रीले ‘साँस्कृतिक अतिक्रमण’ का रुपमा प्रकट गरिरहेका छन्। नेपालमाथि साँस्कृतिक, भाषिक या आर्थिक थिचोमिचोको रवैया निश्चय नै अयोध्या राज्य स्थापनाकालका शासकमा चाहिँ पक्कै थिएन होला, किनकि  त्यसबेला अहिलेको सग्लो नेपाल पनि त थिएन। 

अब रामायणकै कालगणनाको चर्चा गरौं।  रामायणका अनुसार राम त्रेता युगका मर्यादा पुरुषोत्तम हुन्। युगको पनि निश्चित आयु हुन्छ। त्रेता युगको आयु १२ लाख ९६ हजार वर्ष रहेछ। त्रेता र कलि युगको  बीचमा आउँछ द्वापर युग, जुन युगको आयु ८ लाख ६४ हजार वर्ष रहेछ। द्वापर युग बितेर पनि कलि युगका पाँच हजार वर्ष बितिसकेका छन्। रामलाई त्रेतायुगका उत्तरार्धतिरका राजा मान्ने हो भने पनि राम यो धर्तिमा जन्मिएको अहिले करिब १० लाख वर्ष बितिसकेछ।

दश लाख वर्षअघि आवाद भएको राज्य अयोध्या नेपालको पर्सा, ठोरीमै थियो भनेर अहिलेका उपबुज्रुकहरुले कसरी थाहा पाए? १० लाख वर्षअघिका पुरातात्विक प्रमाण, उत्खननबाट भेटिएका अवशेष त केही हुनुपर्ने। मिथक, किंवदन्ती अनि रुग्ण राष्ट्रवादी आवेगकै भरमा प्रधानमन्त्री ओलीले ठोकुवा गरिदिए, ‘रामको अयोध्या नेपालमै छ, राम नेपाली हुन्।’

रामको जन्मस्थल अयोध्या भारतमा हो कि नेपालमा भन्ने फजुलको बहस यतिबेला नै किन? सारा विश्व कोरोना संक्रमणको महामारीमा फसेको छ। नेपालमा संक्रमण दर दिन प्रतिदिन बढ्दैछ। जनता बेरोजगारी, अभाव,भोक, रोगको शिकार भइरहेका छन्। सर्वत्र सन्त्रास छ। यस्तो बेला मुलभूत एजेन्डा त संकटमा परेका आफ्ना जनतालाई राहत, सान्त्वना र प्रभावकारी पर्फमेन्स हो। प्रधानमन्त्री ओलीको ध्यान त्यतातिर पटक्कै छैन। मानौं, राम नेपाली नै हुन् भने रामको चरित्र चाहिँ नपछ्याउने? रामलाई नेपाली दाबी गर्नेले अहिले कौन सा रामराज्य कायम गरेका छन् त? नेकपाका अहिलेका कुन चाहिँ नेतामा रामको चरित्र छ? यतिबेला राम नेपाली हुन् कि भारतीय भन्ने बहस गर्नुको साटो रामको चरित्र अनुशरण गरेर जनताको विश्वास पो जित्ने हो। 

कर्तव्यप्रति सदा अटल रामले लोक मर्यादाको कहिल्यै उपेक्षा र उपहास गरेनन्। मानवको रुपमा जन्मिएर उनले सारा मानवीय संघर्ष, कष्ट र दुःख झेले। मानवका रुपमा गाँसिएका सारा सम्बन्धलाई उनले इमानदारितापूर्वक निर्वाह गरे। पितासँग पुत्रका रुपमा यथोचित भूमिका निर्वाह गरे। पिताको आदेश निशर्त पालना गरेर १४ वर्ष वनबास गए। पत्नीको रक्षाका लागि रावणसँग युद्ध गरेर पत्नीप्रतिको धर्म निर्वाह गरे। लोकमतको ख्याल गरेर भर्खर राज्यसुख उपभोग गरिरहेको बेला सीतालाई दरबारबाटै निकालिदिए।  पत्नीमोह, परिवार मोह त देखाएनन् नी।

सीतालाई दरबारबाट निकाल्दा रामको मन कम्ति रोएको थियो होला? लोक मर्यादाको यसरी ख्याल गरेर परिवारमोहलाई तिलाञ्जली दिएकै कारण उनलाई हामी आज मर्यादा पुरुषोत्तमका रुपमा स्मरण गर्छौं, पूजा गर्छौं। पत्नीमोह, पुत्री मोह, बुहारी मोह, साली मोह, प्रेमिका मोह, पुत्र मोह, परिवार मोहमा चुर्लुम्म डुबेर राज्यको ढुकुटीमा ब्रम्हलुट गरिरहेका आजका शासकहरुमा रामको अलिकति चरित्र झल्किँदैन।  

रामले आफ्ना समर शत्रु रावणबाट समेत ज्ञान लिन भाइ लक्ष्मणलाई पठाए। मृत्युसैयामा रहेका रावणको विराट ज्ञान ग्रहण गर्न पठाउने उनको उन्नत चेतनाबाट हामीले यही पाठ सिकेका छौं कि शत्रु पनि शतप्रतिशत खराब हुँदैन। अहिलेका शासकहरु प्रतिपक्षीले उठाएका सार्थक कुरालाई समेत उपेक्षा गरिरहेका छन्। दम्भ कत्रो भने आफ्नै दल, प्रतिपक्ष अनि सभामुखलाई समेत जानकारी नदिई हठात संसद अधिवेशनको अन्त्य गर्छन्। विरोधीहरुको स्वर सुन्नै नसक्ने कस्तो अहंकार? 

राम शब्दलाई ओमकारकै रुपमा व्याख्या गरिएको छ। गुरुनानकले ‘एक ओमकार सतनाम’ भनेर ‘रामरस’ कै महिमा गाउनुभयो। नाद, नूर र अमृतका रुपमा रामको नयाँ परिभाषा ल्याउनुभयो। अहिले पनि सिख अनुयायीहरु हार्मोनियम र तबलाको दैविक तालमा ‘राम रस पियो रे’ गाइरहेकै हुन्छन्। वाल्मीकीले रामको गम्भीर चरित्रलाई समुद्रसँग तुलना गरेका छन्। राम चरित्रबारे कृतिवास रामायण, भावार्थ रामायण, तुलसीदास कृत रामायण, महाकवि कम्बनकृत रामायण, राम चरित्रमानस्, गुरु गोविन्दको रामकथा अनि हाम्रा आदिकवि भानुभक्त आचार्यको ‘भानुभक्त रामायण’ सबैमा बयान गरिएको छ।

भारत र नेपालका सम्पूर्ण हिन्दुमात्र हैन, विश्वकै मानव सभ्यताका प्रेरक भगवान श्रीरामको नामलाई आफ्नो कुत्सित सत्ता स्वार्थका लागि बदनाम गर्नुअघि राम चरित्रको अलिकति  अंश आफूमा ग्रहण गरेको भए कति राम्रो हुन्थ्यो? सबरीको जुठो बयर सहर्ष खाने रामबाट केही सिकेर हार्दिक, शालीन, शौम्य, मर्यादित अनि मधुर बोली निकालेको भए अहिले ओली कमरेडको यतिसारो विरोध पक्कै हुने थिएन। 

(विभिन्न सन्दर्भ स्रोतमा आधारित) 

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, असार ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्