घट्दै कोरोना परीक्षण, दैनिक २ हजार परीक्षण हुने टेकुमा १२ सय मात्रै
काठमाडौं, असार १८ : कोरोना भाइरस फैलने क्रम बढ्दै गएको छ। तर, प्रयोगशालामा परिक्षणको दर भने घट्दै गए
काठमाडौं, असार १८ : कोरोना भाइरस फैलने क्रम बढ्दै गएको छ। तर, प्रयोगशालामा परिक्षणको दर भने घट्दै गएको छ। स्वाब संकलन हुन नसक्दा प्रयोगशालाको क्षमता अनुुसार परीक्षण हुन सकेको छैन।
कोरोना परीक्षण गर्ने सबैभन्दा धेरै क्षमता भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हाल स्वाब परीक्षणको लागि नमूना पर्याप्त छैन। दैनिक २ हजार स्वाब परीक्षण गर्ने सक्ने क्षमता भएको टेकु प्रयोगशालामा पछिल्लो केही साता यता दैनिक १२ देखि १४ सय मात्र नमूना परीक्षण हुँदै आएको छ।
टेकुमा मात्र नभई देशभरका प्रयोगशालाहरुमा क्षमता भन्दा कम परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेस गुप्ता बताउँछन्। ‘अहिले नमूना संकलन कम भइरहेको छ। काठमाडौं बाहिरबाट पनि हाल निकै कम नमूना परीक्षणको लागि आउने गरेको छ,’ उनले काठमाडौं प्रेससँग भने ‘देशभरका २४ वटा सञ्चालित प्रयोगशाला मध्ये धेरैमा त नमूना नभएर काम नै भएको छैन।’
कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै आन्दोलन भइरहँदा सरकारले कोरोना परीक्षणको दायरा बढाउनु भन्दा झन् घटाएको देखिएको छ। यसले कोरोनाको जोखिम झन बढ्ने देखिएको छ।
गुप्ताका अनुसार क्वारेन्टाइनमा भएका मानिसहरुको स्वाब परीक्षण लगभग सकिँदै गएकोले स्वाब संकलन कम भएको र परीक्षणमा कमी आएको हो। ‘पहिले क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी परीक्षण गर्दा धेरै प्रयोगशालामा काम धेरै हुने थियो,’ उनले भने, ‘कति ठाउँमा त क्वारेन्टाइन खाली भइसकेको छ, त्यसैले कम स्वाब संकलनमा कमी आउँदा परिक्षण घटेको हो।’
विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाएर कोरोना नियन्त्रण गर्नुपर्ने सुझाव दिएइरहेका छन्। तर, परिक्षण भने घटिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि केही दिन अघि दैनिक १० हजार जनाको स्वाब परीक्षण गरी दायरा बढाउने बताएका थिए। तर पछिल्लो केही दिनको सरकारी तथ्यांक हेर्दा परीक्षणको दायरा बढ्नुको सट्टा घटेको देखिन्छ। ‘केही हप्ता अघिसम्म देशभर दैनिक ७ हजार जनाको सम्म कोरोना परीक्षण भएको थियो’ संक्रमण रोग विज्ञ ल्हामो शेर्पाले भनिन्, ‘तर अहिले ४ हजारको हाराहारीमा मात्रै परीक्षण हुने गरेको छ, परीक्षणको दायरा बढाउनु पर्ने समयमा झन घटाएर सरकार उल्टो बाटोमा हिँड्न थालेको छ।’
उनले थपिन्, ‘४७ हजार संक्रमित पुष्टि गर्न करिब ५ लाख ३१ हजारको हाराहारीमा परीक्षण गर्नुपर्ने हन्छ। तर कोरोना परीक्षण नै नगरी संक्रमितको संख्यामा कमी आएको बताइएको छ। यो सरकारको कमजोरी हो।’
टेकु प्रयोशालामा परीक्षण गर्ने क्षमता अनुसार सात सात घण्टाको तीन सिफ्टमा कर्मचारीलाई खटाइएको छ। तर नमूना अभावको कारण कर्मचारी कामविहीन बन्न पुगेका छन्।
समुदायका व्यक्तिमा परीक्षण भएको छैन
नेपालमा कोरोना संक्रमण हाल समुदायमा पनि फैलन थालेको छ। कुनै लक्षण र ट्राभल हिस्ट्रीसमेत नभएको मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा खतरा बढेको शेर्पाको भनाइ छ।
‘कोरोना भाइरस समुदायमा फैलिसकेको कुरा सरकार मान्न तयार छैन,’ उनी भन्छिन्, ‘नेपालमा कोरोना पिकमा पुगेकै छैन। जुन देखि अक्टोवर सम्ममा पिकमा पुग्ने देखिन्छ।’ गत मार्चमा नै नेपालमा कोरोना संक्रमण समुदायमा फैलन थालिसकेको डा. शेर्पाको तर्क छ।
डा.अभिषेक राज सिंह भने अनुसार सरकारले दैनिक कोरोना परीक्षण भएको र संक्रमण पुष्टि भएका मानिसको तथ्यांक सार्वजनिक गरेपनि समुदायका परीक्षण नगर्दासम्म परीक्षणको दायरा बढाएको भन्न नमिल्ने बताउँछन्। परीक्षणको दायरामा नआएका संक्रमितहरू समुदायमा ठूलो संख्यामा हुनसक्ने उनको भनाइ छ।