कुन महानगरले ल्याए कस्तो बजेट ?
काठमाडौं, असार १० : आर्थिक वर्ष २०७७–०७८ का लागि बुधबार देशभरका ७५३ स्थानीय तहले वार्षिक बजेट

काठमाडौं, असार १० : आर्थिक वर्ष २०७७–०७८ का लागि बुधबार देशभरका ७५३ स्थानीय तहले वार्षिक बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहका लागि अन्तर सरकारी वित्त व्यवस्था ऐन २०७४ ले तोको समय अनुसार देशभकार स्थानीय तहले असार १० (बुधबार) वार्षिक बजेट सार्वजनिक गरेका हुन्।
कोरोना महामारीका कारण अर्थतन्त्र थलिएको बेला स्थानीय तहले संघीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान र आन्तरिक स्रोत प्रयोग गरी बजेट सार्वजनिक गरेका हुन्।
कुन महानगरको कस्तो बजेट ?
काठमाडौं महानगरपालिका : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ।
बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीद्वारा आर्थिक वर्ष २०७७–०७८ का लागि प्रस्तुत बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ। कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट ब्यहोर्ने बजेटमा उल्लेख छ ।
महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ।
त्यसैगरी कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै सामाजिक विकास क्षेत्रको लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बजेट छ।
ललितपुर महानगरपालिका : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ। बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन्। कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए।
बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन्। विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।
विराटनगर महानगरपालिका : आगामी आर्थिक वर्षका लागि विराटनगर माहानगरपालिकाले ३ अर्ब ३७ करोड ७१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरले चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन्।
त्यस्तै, वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट सशर्त अनुदान एक अर्ब २ करोड र प्रदेशबाट सशर्त दुई करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले जनाएको छ। संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ।
महानगरपालिकाले पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ।
स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा दुई करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
पोखरा महानगरपालिका : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा करिब १ अर्ब रुपैयाँ घटाएर बजेट ल्याएको हो।
पोखरा महानर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै कुल बजेटमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख रुपैयाँ गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने बताइन्।
बजेटमा भौतिक पूर्वाधार विकासलाई बढी महत्व दिइएको छ। कुल बजेटमध्ये ६५ करोड ४४ लाख रुपैयाँ महानगरका सहरी र पहाडी क्षेत्रमा सडक सम्पन्न गर्न बजेट विनियोजन भएको छ।
भरतपुर महानगरपालिका : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। महानगरको आज आयोजित छैटौं नगरसभामा प्रस्तुत बजेटमध्ये ४८ करोड चालु खर्च रहेको छ।
बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड रुपैयाँ, आन्तरिक आय ९० करोड रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार रुपैयाँ, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रुपैयाँ रहेको बताइन्।
यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड रुपैयाँ, बैंक मौज्दात ८२ करोड रुपैयाँ, मर्मत सम्भार कोषबाट दुई करोड र सडकबोर्ड नेपालबाट एक करोड ५० लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। चालु आर्थिक वर्षका लागि अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो। तर जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय चार अर्ब ५१ करोड २८ लाख ८ हजार पुगेको छ। आउँदो वर्षका लागि बजेट कोभिड १९– बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रीत छ।
वीरगञ्ज महानगरपालिका : वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ को बजेट सार्वजनिक गरेको छ। बजेटमा चालूतर्फ एक अर्ब ६२ करोड ६९ लाख १८ हजार, पूँजीगततर्फ दुई अर्ब १७ करोड ४६ लाख ७२ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कूल खर्चमध्ये आर्थिक विकासतर्फ २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकासतर्फ ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तरसम्बन्धी – वन, वातावरण तथा विपत्समेततर्फ २३ करोड ७५ लाख १६ हजार रुपैयाँ र कार्यालयतर्फ ७१ करोड ९८ लाख एक हजार रुपैयाँ व्ययको अनुमान प्रस्तुत गरिएको छ।









-1792413548.jpeg)

