Kathmandu Press

सरकारलाई बाहिरका भन्दा पार्टी भित्रकै प्रतिपक्षीले लखेटे : प्रधानमन्त्री ओली  

काठमाडौं, असार १० : सत्तासीन दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बाहिरका

सरकारलाई बाहिरका भन्दा पार्टी भित्रकै प्रतिपक्षीले लखेटे : प्रधानमन्त्री ओली  

काठमाडौं, असार १० : सत्तासीन दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई बाहिरका भन्दा पनि पार्टी भित्रकै प्रतिपक्षीले लखेटेको आरोप लगाएका छन्। बुधबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकको सुरुवातमै बोल्दै उनले सरकारलाई लखेट्ने काम पार्टीभित्र बाटै भएको बताएका हुन्।  

‘सरकारी माथि चौतर्फी प्रहार भएको छ। हामीले राष्ट्रियताको मुद्दा उठाएका छौं। तर, पार्टी भित्रै कै प्रतिपक्षीले सहयोग गरेन। सरकारका राम्रा काममा क्रेडिट दिन सकेन। सरकारले हाँसिल गरेका उपलब्धि स्थापित गर्न पार्टी भित्रकै प्रतिपक्षीले दिएन,’ ओलीको भनाइ उदृत गर्दै एक स्थायी समिति सदस्यले काठमाडौंप्रेससँग भने, ‘कमरेडहरुले सरकारको आलोचना मिडियामा गएर गर्नुभयो। त्यसले जनमानसमा सरकारले काम गर्न सकेन भन्ने भ्रम सिर्जना भएको छ। बिग्रियो, भत्कियो भन्ने परेको छ। तर, त्यसो होइन। पार्टी र सरकार दुवैमा कमजोरी छन्। त्यसलाई सुधार्नुपर्छ।’

उनले विश्वमा कम्युनिष्ट पार्टीले चुनावमार्फत दुईतिहाइ मत ल्याएर सरकार बनाउनु ठूलो उपलब्धि भएको बताए। यस्तै राष्ट्रियताका सम्बन्धमा सरकराले शीर ठाडो हुने काम गरेको उनको भनाइ थियो। ‘सरकारले राष्ट्रियताको सवालमा शीर ठाडो हुने काम गरेको छ। धेरै देशहरु तरंगित भएका छन्। भारतको रक्षामन्त्री बाटो उद्घाटन गरेपछि हामीले विरोधका नोट पठायौं। त्यसलाई भारतले सुनेन र नक्सा प्रकाशन गर्‍यौं,’ उनले भने, ‘हामी वार्ता र संवादका माध्यमबाट भारतसँग सीमा विवादको समधान खोज्छौं।’ 

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले सन्तोषजनक काम गरिरहेको दाबी गरे। विश्वको तुलनामा नेपालमा मृत्युदर कम भएको उनको भनाइ थियो। ‘कोरोना हाम्रो मात्रै समस्या होइन। विश्वभरको समस्या हो। हामीले यसको रोकथाम तथा नियन्त्रणमा सन्तोषजनक काम गरेका छौं,’ उनले भने, ‘हाम्रोमा मृत्युदर पनि कम छ। हालसम्म मृत्यु भएकाहरु पनि डब्लुएचओको मापदण्ड अनुसार मात्रै कोभिडले भन्नु परेको छ। तर, ती सबैको मृत्यु कोभिडका कारणले मात्रै भएको होइन।’

उनले क्वारेन्टाइन र आइसोलेसनको अवस्था समेत सन्तोषजनक रहेको बताए। ‘पहिले लकडाउन हुँदा जो जहाँ छौं त्यही बस्ने भनिएको थियो। तर, भारतमा समेत यसले महामारीको रुप लियो। ठूलो संख्यामा मानिसहरु आए, जुन हाम्रो कल्पना भन्दा बाहिरको कुरा थियो,’ उनले भने, ‘त्यसकारण केही समस्या देखिएको हो।’

उनले कोरोना भन्दा अघि नेपाल विकासउन्मोख देशहरुको विकास दरमा शीर्ष दश भित्र रहेको बताउँदै कोरोना महामारीको समयमा विश्वअर्थतन्त्र ओह्रालो लाग्दा नेपाल सस्टेन गर्ने १८ देश भित्र रहेको दाबी गरे। 

उनले अहिले एमसीसीका विषयमा विवाद भइरहेको र यसले अन्तर्राष्ट्रिय समुदायले नेपाल माथि शंकाको दृष्टिले हेरिरहेको बताए। एमसीसीका बारेमा उनले थप टिप्पणी गरेनन्। उनले अहिले देखिएका सबै विवाद पार्टी भित्र छलफल गरेर सुल्झाउन तयार रहेको बताएका थिए।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्