कोरोना तथ्यांकमै भद्रगोल, प्रदेश र केन्द्रका तथ्यांकमा संक्रमितको संख्या फरक
काठमाडौं, असार ८ : कोरोना भाइरससँग सम्बन्धित तथ्यांकहरूमा ठूलो भद्रगोलको अवस्था देखिएको छ। प्रदेश सर
काठमाडौं, असार ८ : कोरोना भाइरससँग सम्बन्धित तथ्यांकहरूमा ठूलो भद्रगोलको अवस्था देखिएको छ। प्रदेश सरकार र केन्द्र सरकारले राखेका तथ्यांक केलाउँदा ठूलो अन्तर देखिएको छ। सात प्रदेशका सबै सामाजिक विकास मन्त्रालयले राखेका तथ्यांक र केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेका तथ्यांकमा ठूलो खाडलको अवस्था देखिएको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि परस्पर समन्वय राखेर काम गर्नुपर्ने प्रदेश र केन्द्र सरकारले राखेका तथ्यांक फरक देखिँदा महामारीसँग जुध्ने हाम्रो फितलो तयारीलाई उजागर गरेको छ।
सात प्रदेशका सामाजिक विकास मन्त्रालयले राखेका तथ्यांक र स्वास्थ्यमन्त्रालले राखेको तथ्यांक केलाउँदा संक्रमितको संख्यादेखि डिस्चार्ज भएका व्यक्तिहरुको तथ्यांकमा अन्तर देखिएको छ। यस्तै हालसम्म भएको परीक्षणको तथ्यांकमा समेत ठूलो अन्तर देखिएको छ।
असार ७ (आइतबार)को अद्यावधिक तथ्यांक हेर्दा देशभर हालसम्म गरिएको परीक्षणको संख्यामा ३७ हजारले फरक देखिएको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको तथ्यांक अनुसार आइतबारसम्म १ लाख ७५ हजार १७३ जनाको पीसीआर परीक्षण भएको छ। तर, सात प्रदेशका सामाजिक विकास मन्त्रालयले राखेका तथ्यांकमा भने १ लाख ३७ हजार ७७० जनाको मात्रै पीसीआर परीक्षण भएको देखिन्छ। अर्थात पीसीआर परीक्षणको केन्द्र र प्रदेशले राखको तथ्यांकमा ३७ हजार ४०३ को फरक छ।
यस्तै संक्रमितको तथ्यांकमा पनि अन्तर देखिएको छ। स्वास्थ्य मन्त्रालयले राखेको तथ्यांक अनुसार आइतबार साँझसम्म ९ हजार २६ जना कोरोना संक्रमित छन्। तर, सात प्रदेशले राखेको तथ्यांकमा संक्रमितको संख्या ८ हजार ४४० मात्रै छ। संक्रमितको संख्या सात प्रदेशले राखेको तथ्यांक भन्दा स्वास्थ्य मन्त्रालयले राखेको तथ्यांक ५८६ ले बढी देखिन्छ।
कोरोनाका संक्रमित दिनदिनै थपिइरहेका छन्। यस्तो बेला चासोको विषय हो, कतिले कोरोना जितेर फर्किए? प्रदेश र केन्द्रका तथ्यांक दाँजेर हेर्ने हो भने दिग्भ्रमित हुने अवस्था छ। कसको तथ्यांक सही हो भनेर छुट्याउन मुस्किल हुन्छ। कोेरोनाको नियन्त्रण र रोकथाम गर्ने नेतृत्व गरेको केन्द्र सरकारको तथ्यांक सही हो वा प्रदेश सरकारले राखेको तथ्यांक ही हो? तथ्यांकमा देखिएको भद्रगोल अवस्थाले अन्यौल थपिएको छ। स्वास्थ्य मन्त्रालयले राखेको डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ छ। सात प्रदेशका सामाजिक विकास मन्त्रालयले राखेको तथ्यांक जोड्दा डिस्चार्ज हुनेको संख्या २ हजार ८५७ देखिन्छ। यो स्वास्थ्य मन्त्रालयले राखेको तथ्यांक भन्दा १ हजार ८५ ले बढी हो।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्यामा समेत फरक देखिएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म २३ जनाको मृत्यु भएको छ। तर, प्रदेश सरकारहरुले राखेको तथ्यांक अनुसार २१ जनाको मात्रै मृत्यु भएको देखिन्छ।
किन फरक देखियो तथ्यांक?
केन्द्र र प्रदेश सरकारका तथ्यांक ठूलो भिन्नता देखिएपनि स्वास्थ्य मन्त्रालयले भने त्यसलाई स्वभाविक भएको बताएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तथ्यांक फरक हुनु स्वभाविक भएको बताए। प्रदेशबाट रिपोर्ट समयमै नआउँदा समस्या देखिएको उनको भनाइ छ। ‘यो स्वभाविक हो, प्रदेशबाट समयमै तथ्यांक आउँदैन। त्यसैले फरक देखिन्छ,’ उनले भने।
मन्त्रालयले कोरोनासँग सम्बन्धित यकिन तथ्यांक राख्न नयाँ सफ्टवेयर बनाउने तयारी गरेको गौतमले बताए। उक्त सफ्टवेयरका माध्यमबाट प्रदेशका सबै तथ्यांक मन्त्रालय आफैंले मनिटर गर्न मिल्ने उनको भनाइ छ। ‘यो समस्यालाई समाधान गर्न नयाँ सफ्टवेयर बनाउने तयारीमा छौँ। सफ्टवेयर प्रयोगमा आएपछि समस्या हुँदैन,’ उनले भने।
उनले अन्य तथ्यांकमा फरक आएपनि संक्रमित र मृत्यु भएकाहरुको तथ्यांकमा भने फरक नआउने बताए। तर, संक्रमितको हकमा केन्द्र र प्रदेशका तथ्यांकबीच ५८६ ले फरक छ भने मृत्यु भएकाहरुको तथ्यांक २ ले फरक छ।