Kathmandu Press

रोग प्रतिरोधात्मक क्षमताबारे प्रधानमन्त्री : तथ्य र तथ्यांक दुवैमा गलत

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएकै कारण को

रोग प्रतिरोधात्मक क्षमताबारे प्रधानमन्त्री : तथ्य र तथ्यांक दुवैमा गलत

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएकै कारण कोरोनाको प्रभाव कम भएको भन्ने भनाई तथ्य र तथ्यांक दुवैमा गलत भएको पुष्टि भएको छ।

जनस्वास्थ्यका विज्ञहरुले कोरोनाको प्रभाव कम हुनु रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले भन्ने भनाई तथ्यपरक नभएको बताएका छन्।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोल बाहिरबाट नेपाल आएका युवाहरुमा बढी कोरोना संक्रमण देखिएकाले त्यसको असर कम देखिएको बताउँदै प्रतिरोधी क्षमताका कारण नभएको बताउँछन्। ‘अहिले धरैजसो युवाहरुमा कोरोना संक्रमण देखिएको हुँदा गम्भीर बिरामी कम भेटिएको हो’ डा. बाँस्तोलाले काठमाडौं प्रेससँग भने ‘तर सावधानी नअपनाउने हो भने विस्तारै समुदायमा कोरोना फैलन गई महामारीको रुप लिन सक्ने सम्भावना छ। प्रतिरोधी क्षमताले कम भएको होइन।’

Hardik ivf

बाँस्तोला झण्डै तीन महिनादेखि जारी लकडाउनका कारण पनि समुदायमा संक्रमण हुन नपाउँदा असर कम देखिएको दाबी गर्छन् । ‘इम्युनिटी बलियो भन्दै सतर्कता नअपनाउने हो भने घरबाट समुदाय हुँदै वृद्धवृद्धा र दीर्घ रोगीसम्म संक्रमण पुग्छ’ उनी भन्छन्, ‘त्यो अवस्थामा कोरोनाको असर, मृत्यु र संक्रमण सबै बढ्छ।’

संक्रामक रोग विषेशज्ञ डा. ल्हामो शेर्पा मुलुकमा लकडाउन गरेर नेपालीको रोग प्रतिरोधात्मक क्षमताका कारण कोरोना नफैलिएको भन्नु बेवकुफी तर्क भएको बताउँछिन् । ‘नेपालमा लकडाउन सुरु भएयता कुनै पनि हिसाबले खुकुलो बनाएको छैन। एक दुई दिन खुुकुलो बनाए पनि केसहरु देखिन थालेपछि फेरी बन्द हुन्छ’ डा. शेर्पा  भन्छिन्, ‘लकडाउनमा मान्छेलाई आवतजावतमा रोक लगाएको छ। मान्छेलाई चलमल गर्न नदिएर घर मै बसिरहेको समयमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नु त अलि बेवकुफी तर्क हो।’

यतिमात्र नभइ प्रधानमन्त्रीले नेपालमा हालसम्म मृत्यु भएका मानिसहरु कोरोनाले नभइ अन्य रोगका कारण मृत्यु भएको भन्ने अवैज्ञानिक दावी पनि गलत भएको उनको भनाई छ। ‘यदि दम वा कुनै दीर्घरोगकै कारणले उनीहरुको मृत्यु भएको हो भने पहिला पनि त दमको रोगीहरु थिए। उनीहरुको किन मृत्यु भएन?’, डा. शेर्पाको प्रश्न छ, ‘कोरोना देखिएपछि मात्र किन मृत्यु भयो? अनावश्यक तर्कका कारण प्रधानमन्त्रीको कुरा चित्त बुझ्दो छैन।’

कोरोना भाइरसको बहुआयामिक कोणबाट विश्वभर अध्ययन अनुसन्धान भइरहेका बेला प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले गरेको अवैज्ञानिक तर्क नसुहाएको शेर्पा बताउँछिन्।

वरिष्ठ चिकित्सक डा. भगवान कोइराला नेपालीहरुको दैनिकी खानपिनमा प्रयोग हुने अदुवा, बेसार, लसुन लगायतका खान्कीले केही हदसम्म रोग प्रतिरोधात्मक क्षमता बढाउनेमा दुईमत नभएपनि कोरोनाको औषधि हो भन्ने तर्क गलत रहेको बताउँछन्। ‘हाम्रो खानपानले सामान्यतया रोग प्रतिरोधात्मक क्षमता बढाउँछ तर यसले कोरोनाकै खिलाफमा काम गर्छ भन्न मिल्दैन’ डा. कोइरालाले भने।

यस्तै संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन भने नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी छ वा कम छ भन्ने कुनै ठोस प्रमाण नभएको बताउँछन्। ‘नेपालमा अहिले पनि कतिपय ठाउँमा कुपोषण त कतिपय ठाउँमा झाडा पखालाकै कारण पनि मानिसहरुको मृत्यु भइरहेको छ’ डा. पुन भन्छन्, ‘यस्ता सामान्य रोगको महामारी हुने मुलुकमा नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्न मिल्दैन।’

उनले निश्चित बर्गका व्यक्तिहरुको खानपिन हेरेर नेपालीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्नुमा कुनै तथ्यगत सत्यता नभएको बताए।

अर्को चकित्सक डा. अभिषेकराज सिह सरकारले गरेका कामलाई पनि प्रधानमन्त्रीको बेला बेला आउने अवैज्ञानिक तर्कले झन कमजारे बनाएको बताउँछन् । ‘सरकारले कोरोना नियन्त्रणमा केही पनि प्रभावकारी काम गर्न सकेको छैन । त्यसमा झनै प्रधानमन्त्रीले बेलाबेला गर्ने यस्ता अवैज्ञानिक कुतर्कहरुले झनै फितदो बनाएको छ’ डा.सिहले भने। 

तथ्यांकमा पनि नेपालीको स्वास्थ्य कमजोर

प्र्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता बलियो भएकाले कोरोनाको असर कम भएको तर्क गरिरहेका बेला हाम्रो हेल्थ इन्डिकेटरले भने कमजोर स्वास्थ्य भएको देखाएको छ।

युनिसेफको तत्थ्यांक अनुसार नेपालमा अझैपनि प्रत्यक एक हजार शिशुको जन्म हुँदा २१ जनाको जन्म पश्चात पहिलो २८ दिन भित्र मृत्यु हुने गरेको छ। नेपालमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रत्यक एक हजारमा ३९ रहेको छ। यो तथ्यांक विश्वमै कमजोर स्वाथ्य भएका मुलुकको वरिपरिको तथ्यांक हो।  

यसबाहेक कुपोषणको समस्या बिगतका समयको तुलनामा केही कम भए पनि अझै यसको पूर्ण समाधान हुन सकेको छैन। तत्थ्यांक अनुसार सन् २०१६ मा मात्रै नेपालमा पुड्कोपन (उमेर अनुसारको उचाई नहुनु) ३६ प्रतिशत, न्युन वजन (उमेर अनुसार वजन नहुनु) २७ प्रतिशत, ख्याउटेपन (उचाई अनुसार वजन नहुनु) १० प्रतिशत रहेको छ।

नेपालीहरुको औषत आयु ७० वर्ष छ। यो विश्वमा कमजोर स्वास्थ्य अवस्था भएका मुलुकको व्यक्तिको औषत आयु हो।

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, जेठ २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्