कोरोना महामारी फैलिएका सय देशको सूचिमा नेपाल
काठमाडौं, जेठ १९ : कोरोना भाइरसको महामारी फैलिएका एक सय देशमा नेपाल पनि पुगेको छ। सोमबार ७५ जना कोरो

काठमाडौं, जेठ १९ : कोरोना भाइरसको महामारी फैलिएका एक सय देशमा नेपाल पनि पुगेको छ। सोमबार ७५ जना कोरोना संक्रमित थपिएसँगै नेपाल सय देशको सूचिमा परेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार बिहान कर्णाली प्रदेशमा ७५ जनामा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या एक हजार पाँच सय ७२ पुगेको छ। अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। त्यस्तै, दुई सय २० जना निको भएर घर फर्केका छन्।
सोमबार संक्रमित थपिएसँगै नेपाल कोरोना महामारी फैलिएका सय देशको सूचिमा परेको हो। सबैभन्दा बढी कोरोना फैलिएका देशको एक नम्बरमा अमेरिका छन भने नेपाल ९९ नम्बरमा रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सोमबारसम्म संसारभर देश र स्वशासित क्षेत्र गरेर दुई १५ भूभागमा कोरोना फैलिएको छ। जहाँका ६२ लाख ७८ हजार ६ सय ६ जना संक्रमित भएका छन भने तीन लाख ७४ हजार एक सय ५८ जनाको ज्यान गएको छ।
नेपाल लकडाउन सुरु हुनेवेला यो सूचिको पुछारमा थियो। लकडाउनको ७०औं दिनमा पुग्दा महामारी फैलिएका सय देशको सूचिमा पुगेको हो। लकडाउन सुरु हुँदा दुई जनामा कोरोना संक्रमण देखिएको थियो भने अहिले ७० दिनपछि एक हजार पाँच सय ७२ जना बिरामी परेका छन्, आठ जनाले ज्यान गुमाइसकेका छन्।
न्यूजिल्यान्ड, भेनेजुला र स्लोभाकियालाई पछि पार्दै नेपाल ९९ नम्बरमा पुगेको हो। स्लोभाकियामा एक हजार पाँच सय २२, भेनेजुअलामा एक हजार पाँच सय १० र न्यूजिल्यान्डमा एक हजार पाँच सय चार जनामा कोरोना देखिएको छ।
यो सूचिको एक नम्बरमा अमेरिका रहेको छ भने अन्तिममा सेन्ट पिर मेक्लन रहेको छ। सेन्ट पिर मेक्लनमा एक जना मात्रै कोरोना देखिएको छ। संक्रमित पनि उपचार पछि निको भइसकेका छन्।
लकडाउन हुन अघि नेपालमा पनि दुई जनामा संक्रमण देखिएको थियो। दुईमध्ये एक जना निको भइसकेका थिए भने एक जनाको उपचार चलिरहेको थियो।
पछिल्लो केही सातायता नेपालमा संक्रमण तिव्र बनेको छ। गत एक महिनामा ५९ बाट बढेर एक हजार पाँच सय ७२ जना पुगेका छन्। झन दुई सातायता संक्रमित थपिने क्रम बढेको छ।
अघिल्लो साता औषत ५० जनाको दरले संक्रमित थपिएका थिए। यो सात दिनमा भने करिब एक सयका दरले संक्रमित बढिरहेका छन्। शनिबार मात्रै एक सय ७१ जना थपिएका थिए। आज बिहानै ७५ जना थपिएका छन्।
महामारी फैलिएका सय देशको सूचिमा एक नम्बरमा रहेको अमेरिकामा एक लाख ६ हजार एक सय ९५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या १८ लाख ३७ हजार एक सय ८० पुगेको छ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा पाँच लाख १४ हजार नौ सय ९२ जनामा संक्रमण देखिएको छ भने २९ हजार तीन सय ४१ जनाले ज्यान गुमाएका छन्। तेस्रो नम्बरको रसियामा पनि चार हजार आठ सय ५५ जनाले ज्यान गुमाएका छन भने चार लाख १४ हजार आठ सय ७८ जनामा कोरोना देखिएको छ।
छिमेकी भारत पनि महामारी फैलिएका देशको सूचिमा सात नम्बरमा पुगेको छ। भारतमा एक लाख ९० हजार नौ सय ६२ जनामा कोरोना देखिएको छ भने पाँच हजार चार सय ११ जनाले ज्यान गुमाएका छन्। भारतमा पनि संक्रमण तीव्र रुपमा फैलिरहेको छ।











