जनार्दनजी, अब जनमैत्री अस्पताल चलाएर बस्नुस्
जनयुद्धताका तत्कालीन डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर किंवदन्तीका नायक झैं थिए। खासगरी ‘ढाडमा टेकेर टाउकोमा
जनयुद्धताका तत्कालीन डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर किंवदन्तीका नायक झैं थिए। खासगरी ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ प्रत्याक्रमण रणनीतिका अगुवा प्रभाकरलाई माओवादी वृत्तमा ‘चे ग्वेभारा’ नै भन्नेहरुको पनि कमी थिएन।
शान्ति प्रक्रिया सुरु भएपछि विस्तारै प्रभाकरको नैतिक र राजनीतिक पतन सुरु भयो। खासगरी बालाजुको जनमैत्री अस्पतालमा उनको लगानीको पोल खुलेपछि उनको युद्धकालीन छवि धुमिल हुँदै गयो। शान्ति प्रक्रिया यताका करिब १५ वर्षका दौरान शर्माको छवि सन्तुलित नै रह्यो। माओवादीका अन्य नेता झैं उनी खासै बदनाम भएनन्।
तर, मंगलबारको संघीय संसदको बैठकमा बोल्ने क्रममा शर्मा नराम्ररी फसें। रुकुम, चौरजहारी नगरपालिका– ८ सोतीमा प्रेमिकाले बोलाएर गएका दलित समुदायका प्रेमी नवराज विक र उनका साथीहरुको निर्मम हत्या प्रकरणबारे सांसद शर्माको अभिव्यक्तिले दलितमात्र हैन, मानवतावादी आम जनतालाई स्तब्ध बनाइदियो। र, माओवादी कथित जनयुद्धको नैतिक र वर्गीय चेतको पनि पोल खोलिदियो।
रुकुम त्यही भूमि हो, जसलाई माओवादीले कथित जनयुद्धको राजधानी बनाएका थिए। रुकुमबाटै त्यो कहालीलाग्दो हिंसात्मक विद्रोहको प्रारम्भ भएको थियो। वर्गीय मुक्ति, जातीय मुक्ति र दलित मुक्तिको नारा दिएर माओवादीले सो क्षेत्रका जनजाति र दलित समुदायलाई युद्धमा होमेको थियो। विद्रोहमा ज्यान आहुती दिएका, बेपत्ता पारिएका, अंगभंग भएका तिनै दलित समुदायमाथि भएको अत्याचार र सांसद शर्माका अभिव्यक्तिले रुकुमको त्यो ‘गौरवमय इतिहास’ माथि कलंकको टिका लगाइदिएको छ।
नेपालको कानूनले जातीय छुवाछुतलाई दण्डनीय अपराध मानेको पनि करिव ६ दशक पुग्न लाग्यो। २०६३ साल जेठ २१ मा अन्तरिम संसदले नेपाललाई ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरिसकेको हो। वर्तमान संविधानमा यसबारेमा अझ स्पष्ट उल्लेख छ। विडम्बना, सरकारले हालै ल्याएका नीति तथा कार्यक्रममा ‘दलित’ शब्द नै उल्लेख छैन। दलित समुदायको हक र अधिकारप्रति राज्यको उदासीनताको चर्को आलोचना भइरहेकै बेला रुकुममा दलितमाथिको आततीय आक्रमण र त्यसलाई ढाकछोप गर्ने सत्तासीनहरुको हर्कतले मानवता विरोधी अपराध गर्नेको मनोबल बढाएको छ।
एथलेटिक्समा प्रतिभाशाली खेलाडी थिए, नवराज विक। जाजरकोट भेरी नगरपालिका–४, रानागाउँ निवासी २१ वर्षीय नवराज खेलकुदकै लागि मेला महोत्सवमा जाँदा रुकुमकी युवतीसँग मायाप्रिती गाँस्न पुगेका थिए। प्रेमको उदात्त भावले भौगोलिक, धार्मिक, जातीय या वर्गीय पर्खाल तोड्छ। मान्छेको सबैभन्दा विराट र महान भाषा त प्रेम नै हो, जुन प्रेमसामू भगवानसमेत झुक्छन्।
नवराजले पढाइरहेका शिक्षकलाई रुखमा बाँधेर काटेका थिएनन्। उनले समाचार संकलन गरिरहेका पत्रकारको टाउको गिँडेका थिएनन्। अनि उनले किरिया बसिरहेका मानिसहरुको हत्या गरेका थिएनन्। न त उनले बाँदरमुढेमा झैं स्कुले बसमा बम पड्काएका थिए, न त उनले कसैको घरमा घुसेर भकारीको चामल लुटेका थिए। प्यारीले बोलाएपछि प्रेमको याचना गर्दै उनी आफ्ना साथीहरुका साथ रुकुम पुगेका थिए। भिडन्त या आक्रमण गर्ने उनको योजना हुन्थ्यो भने साथमा हतियार बोकेर गएका हुन्थे होला।
एउटा २१ वर्षको कलिलो केटोले सिंगो गाउँलाई चुनौती दिएर जबरजस्ती युवती उठाउन गयो होला भनेर किञ्चित पनि विश्वास गर्न सकिन्न। प्रेमीकाले बोलाएका कारण सम्भवतः पारिवारिक सहमतिमै छिनोफानो हुनसक्ने आशले एकखालको जन्तिका रुपमा उनले १९ जना साथीहरु लिएर गएको हुनसक्ने प्रवल सम्भावनाको अनुमान लगाउन सकिन्छ।
जसै नवराज रुकुम पुगे, युवतीका परिवारमा जातीय छुवाछुतको अहंकारले उग्र रुप लियो। युवतीका परिवारले त्यसअघि पनि नवराज र आफ्नी छोरीबीचको प्रेम सम्बन्ध छुटाउन प्रयास गरेका थिए। बारम्बार छोरीमाथि हातपातसमेत गरेको तथ्य स्थानीय गाउँलेहरुले बताएका छन्। यसका पछाडि ‘मल्लकी छोरीसँग एउटा कामीको छोराले विवाह गर्ने?’ भन्ने जातीय घमण्ड र छुवाछुत ग्रन्थीले काम गरेको स्पष्टै बुझिन्छ। युवती राजी भइसकेको अवस्थामा परिवारका बाधा छिचोल्न पक्कै पनि नवराज र उनका साथीहरुले जोडबल गर्नु स्वाभाविकै हो। आधुनिक युगमा बयस्क स्त्री र पुरुषले आपसी सहमतिमा विवाह गर्न पाउनु उनीहरुको अधिकार पनि हो।
अनि त हिन्दी चलचित्रको दृश्य सुरु भयो। नवराज र उनका साथीहरुविरुद्ध जाइलाग्न हिन्दी चलचित्रका अमरेश पुरी, प्रेम चोपडा, गुलशन ग्रोबर, रञ्जित, रजा मुराद, शक्ति कपुर, कुलभुषण खरबन्दाजस्ता खुङ्खार खलनायकहरु लाठी र घरेलु हतियार बोकेर भेला हुन थाले। प्रेमको सन्देश लिएर गएका जाजरकोटका युवाहरुमाथि अन्धाधुन्ध आक्रमण हुन थाल्यो। यहीँनेर पश्चिम रुकुमका जनताले आफ्नो विवेक गुमाए। नवराज र उनका साथीहरुलाई गाउँका भद्र भलादमीले फकाएर, सम्झाएर फर्काउन सक्थे। केटा र केटी राजी भएको खण्डमा बकाइदा विवाह गरेर पठाउनु नै विवेकसम्मत निर्णय हुन्थ्यो र यसले रुकुम साँच्चै नयाँ नेपाल निर्माणको मुहान भूमि रहेछ भन्ने सन्देश देशभर जान्थ्यो।
आखिर जनयुद्धमा सांसद शर्माले रोपेको हिंसाको बिउँ त्यहाँ अझै मासिएको रहेनछ। सिंगो गाउँ उत्रिएर उनीहरुलाई घेराबन्दीमा पारेर कुटीकुटी मार्ने र भेरी नदीमा फाल्ने आततायी हर्कत सुरु भयो, जुन खलनायकी व्यवहार त चलचित्रमा पनि देखिँदैन। प्रत्यक्षदर्शी र प्रहरीको समेत भनाइ मनन गर्दा सांघातिक हमला गर्नेले नवराज र उनका साथीहरुलाई चार किलोमिटर परसम्म लखेटिरहे, ढुंगाले हानिरहे। तिमध्ये केहीलाई मरणासन्न हुने गरी कुटियो र भेरी नदीमा फालियो। ज्यान जोगाउँदै भागेकाहरुमध्ये केही भेरीमा हाम फाले, पौडिन जान्ने पारी पुगे, केहीलाई भेरीले निल्यो। यसक्रममा हालसम्म नवराज, गणेश बुढा मगर र टिकाराम नेपालीको शव फेला परेको छ भने बाँकी तीन जना हराइरहेका छन्।
यो पाशविक घटना सार्वजनिक भएपछि दलित मात्र हैन, सिंगो नेपाल स्तब्ध भयो। तर, छुवाछुतकै कारण प्रेमीको हत्या भएको घटनालाई तोडमरोड गर्दै एकथरीले यसलाई ‘झडप’को संज्ञा दिन थाले। र, यो मामिलामा निर्लज्ज भएर प्रकट भए, सांसद शर्मा। उनले रुकुमको भोट सेन्टिमेन्टको रक्षार्थ राजनीतिक स्वार्थले अभिप्रेरित भई जाजरकोटको प्रेमी र उनका साथीहरुको नृशंस हत्यालाई जसरी ‘आपसी झडप’ र ‘भेरीमा आफैँ फाल हालेको’ जस्ता लफ्फाजीले ढाकछोप गर्ने धृष्टता गरे। त्यसबाट दलित मुक्तिको उनको नारा खोक्रो रहेछ भन्ने स्पष्ट भएको छ।
रुकुमका जनतालाई उनले पहिला मर्न र मार्न सिकाए, अहिले त्यसले सामाजिक संस्कारकै रुप लिएको रहेछ भन्ने स्पष्ट भएको छ। जनयुद्धको राजधानीमा त माओवादीले छुवाछुतविरुद्ध चेतना जगाउन सकेका रहेनछन् भने तिनले सिंगो देशको मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्दैनन् र सकेनन् भन्ने पनि स्पष्ट भएको छ।
दर्जनौं सांसदले संसदमा यो विषयमा आवाज उठाए। तर, सभामुखबाट यसबारेमा सरकारलाई कुनै रुलिङ भएन। पूर्वमाओवादीको राजनीतिक स्वार्थको दलदलमा मानवता विरोधी यो जघन्य अपराधको सामान्यकरण गर्ने धृष्टता भइरहेको छ। दलित भएकै कारण उसले प्रेम गर्न नपाउने? विवाह गर्न नपाउने? मन्दिरमा त अझै प्रवेश गर्नबाट बञ्चित गरिने देशमा यदि दलितलाई प्रेम गर्नबाट बञ्चित गरिन्छ र प्रेम गरेकै आधारमा मारिन्छ भने अब के दलितले प्रेम गर्न छाडेर हतियार उठाउनुपर्ने हो त? अब दलितले बम बोक्नुपर्ने हो त? भन्ने प्रश्न यदि दलितको कोणबाट उठ्न थाल्यो भने के होला?
माननीय शर्माजी, अब जानुस् जनमैत्री अस्पताल चलाएर बस्नुस्, तपाईंबाट वर्गीय, जातीय र दलित मुक्तिको नेतृत्व सम्भव छैन। भोटको राजनीतिको दलदलमा तपाईंको वर्गीय चेत पनि भासिसकेको छ। दलित समुदाय मात्र हैन, मानवतावादी सबै नेपाली जनतासामू तपाईंको नकाब उत्रिसकेको छ। तपाईंको संस्कारमा अझै पनि छुवाछुतको अहंकार व्याप्त छ। नवराज विकको सहादतले आगामी दिनमा दलित मुक्तिको आन्दोलनलाई उर्जा दिनेछ, यसले सामाजिक जागरणमा सशक्त हस्तक्षेप गर्नेछ। र, जनार्दन प्रकृतिको अन्त्य गर्नेछ।