Kathmandu Press

भेरी-बबई आयोजना सफल हुँदा विकासमै ‘ब्रेक थ्रु’

काठमाडौं, वैशाख ३ : नेपालमा पहिलो पटक अनुमानित समयभन्दा एक वर्षअघि नै भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ।

....
भेरी-बबई आयोजना सफल हुँदा विकासमै ‘ब्रेक थ्रु’
फाइल फोटो

काठमाडौं, वैशाख ३ : नेपालमा पहिलो पटक अनुमानित समयभन्दा एक वर्षअघि नै भेरी-बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ।

भेरी नदीको पानी बबई उपत्यकामा सुरुङबाट निकाली त्यहाँ ४६ मेगावाट बिजुली निकाल्ने, त्यो बबई नदीमा खसाली बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने नेपालको पहिलो ‘मल्टिप्रोपोज’ परियोजनाले देशको विकासमै नयाँ सम्भावना देखाएको छ।

आयोजना निर्देशक सञ्जिव बरालले भने, ‘बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजना सुरूङको 'ब्रेक थ्रु' भयो।  नेपालको जलस्रोतलाई उच्चतम उपयोग गर्ने हिसाबले अगाडि बढाउनुपर्छ भन्ने यो पहिलो आयोजना हो।’ सुरुङ ‘ब्रेक थ्रु’ पछि निकै उत्साहित आयोजना प्रमुख बरालका अनुसार यो नेपालमा बेसिक डाइभर्सन मल्टिपर्पोज प्रोजेक्ट पहिलो हो।

Hardik ivf

‘पहिलोपटक मेसिनबाट खनिएको यसको सुरुङ सकिएको छ। यो परम्परागत सुरुङभन्दा नयाँ भएकाले यसले आयोजनाको क्षेत्रमा नयाँ आयाम थपेको छ’, उनले भने। 

योजनाविद् एवम् पूर्वसचिव रामेश्वर खनालले भेरी–बबई डाइभर्सन आयोजना नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘बाँकेमा राणाकालमा बनेको एउटा सानो नहर थियो । त्यो पनि सुकिसकेको थियो । यो आयोजनामा सिक्टाको नहर पनि जोडिने छ । बाँके र बर्दियाको सबै खेती योग्य जमिनमा बाह्रै महिना खेती लगाउन पुग्छ ।’
आयोजनाका कारण बाँके, बर्दियामा बाढीको जोखिम पनि घट्ने बताउँदै खनालले भने,  ‘पानी वितरण नहरबाट पनि हुने भएकाले ती जिल्लामा बर्खायाममा आउने बाढी पनि घट्नेछ ।  यस्तै बाँके बर्दियामा  विद्युत उत्पादनमा पनि महत्वपूर्ण योगदान दिनेछ ।‘ 

नेपालमा दक्षिणी तराई–मधेशको भूमि समथर छ। भेरी–बबई आयोजनाको सफलतासँगै पहाडी भूभाग भएर पूर्वतर्फ बग्ने कोशीबाट सिंगै पूर्वी तराई, हेटौँडाबाट पश्चिम बग्ने राप्ती नदीबाट बारा–पर्सा, गण्डकीबाट रुपन्देही, कपिलवस्तुजस्ता भूभाग सिंचाइ गर्न सक्ने योजनाविद्हरूले बताउँदै आएका छन्। विकास अभियन्ताहरूलाई यसले थप उत्साहित बनाएको छ।

बरालका अनुसार, भेरीको ४० घनमिटर पानी प्रतिसेकेण्डमा डाइभर्ट गरेर बबईमा खसालिन्छ। सुख्खा याममा बबई नदीमा थोरै पानी हुन्छ। बबइको हेडवक्र्सबाट वर्षैभरी सिंचाइ गर्न सकिने उनले बताए। २०७४ मंसिरदेखि टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरूङ खन्न थालिएको हो। उक्त आयोजनामा मेशिनले दैनिक २५ मिटरका दरले सुरुङ तयार पारिएको थियो। 

बबई उपत्यकाको हात्तीखालबाट १२.२१ मिटर पहाड छेडेरै भेरी किनारको चिप्लेमा पुगेको छ– सुरुङ । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी– चाइना इञ्जिनियरिङ ओभरसिज प्रालिले सुरुङ खनेर सम्झौताभन्दा एक वर्षअघि नै काम सम्पन्न गरेको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरूङ खन्ने अवधि २०७६ चैत १५ सम्म थियो।

लागत अनुमान ३३ अर्ब १९ करोड पुग्यो

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर उर्जा, सिंचाई, र जलाधार संरक्षणलाई लागि भन्दै आर्थिक वर्ष  ०६८-६९ मा आयोजना सुरु भएको थियो । प्रारम्भिक लक्ष्यअनुसार काम सम्पन्न नहुने भएपछि २०७९-८० मा आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ। 

आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४ दशमलव २ मिटर व्यास र १२ दशमलव २ कि.मि. लामो सुरुङ्गबाट बबई नदीमा स्थानान्तरण गरिने आयोजनाको लक्ष्य छ।  बाँके र बर्दिया जिल्लाको करीब ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध हुने तथा करीब १५० मिटर हेडबाट नियमित रुपमा ४६ दशमलव ८ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। 

आयोजनाको सुरु लागत अनुमान १६ अर्ब ४३ करोड रूपैयाँ रहेकोमा हाल संशोधित गुरुयोजना (स्वीकृत मितिः २०७५ मंसिर १०) अनुसार लागत अनुमान ३३ अर्ब १९ करोड पुगेको छ। आर्थिक वर्ष २०७४-७५ को अन्त्य सम्ममा जम्मा १२ दशमलव २ कि.मि. सुरुङमध्ये ५ दशमलव ५५ कि.मि. सुरुङ निर्माण सम्पन्न भएको थियो। आर्थिक वर्ष २०७५-७६ को फागुन महिनासम्ममा जम्मा ११ दशमलव ६ कि.मि. (९५प्रतिशत) सुरुङ निर्माण सम्पन्न भइसकेको छ। 
 

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, वैशाख ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्