प्रधानमन्त्रीको ‘मगन्तेरहित सडक’मा मुटुरोगीको याचना– नमागेर के गरौँ?
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्
काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै भनिरहेका थिए, ‘सरकारले सडकमा माग्ने, सुत्ने र बेसहारा बनेकालाई सहारा दिएको छ, सडकहरु मगन्तेरहित बनेका छन् । खाना नपाएर कोही मर्न पर्दैन।’
एक वर्ष अघिदेखि नै प्रहरीले काठमाडौंका सडकलाई मगन्ते (सहयोगापेक्षी) रहित बनाउने अभियान थालेको थियो।
सहयोगापेक्षीरहित सडक बनाएर सरकारले ठूलो उपलब्धि हासिल गरेको जस्तो आसय प्रधानमन्त्री ओलीले व्यक्त गरिरहेकै बेला काठमाडौं कमलादीस्थित गणेश मन्दिरमा एक जोडीले एक पेट खान हारगुहार गरिरहेको थियो । यो दृश्यले सरकारका धेरै कुरालाई व्यंग्य गरिरहेझैँ लाग्थ्यो।
प्रधानमन्त्रीको संसदको भाषण र सडकमा मुटुरोगीको याचनाको भिडियो
मैलो र झुत्रा कपडा सहितका एक दम्पती खाली आकाशमुनि ओछ्याइएको च्यातिएको म्याटमा बसेर यात्रुसँग याचना गरिरहेका थिए।
यो पंक्तिकारसँग ती दम्पतीमध्येका पुरुषले दुई हात फैलाएर भने, ‘अहिले (दिउँसो १ बजे) सम्म भोकै छौँ । मलाई केही चाहिँदैन, मेरी श्रीमती बिरामी छन् । केही त दिनुस्।’
यो दम्पतीले नौ वर्षदेखि यस मन्दिर वरपर मागेरै जीविका धानिरहेका छन् । त्यसमाथि श्रीमतीचाहिँ मुटु रोगसँग लडिरहेकी रहिछन्।
न उनीहरुसँग उपचार गर्ने पैसा छ, न त टाउको लुकाउने छानो । श्रीमान् चाहिँले भने, ‘श्रीमतीलाई टेकुबाट औषधि ल्याएर खुवाउँछु । ढल सफा गर्ने काम गर्छु । काम नभएका बेला माग्ने गर्छु । चोरेर खानु भन्दा त मागेरै खान जाति होला?’
अहिले लकडाउन भएकाले एकातिर उनले ढल सफा गर्ने काम पाएका छैनन्, अर्कोतिर मागेर जीविका गर्ने अवस्था छैन । ‘अहिले मन्दिरमा मानिसहरु त्यति आउँदैनन्, उहाँ (श्रीमान्)को काम पनि छैन । दुःख देख्न नसक्नेहरुले लुकिलुकी आएर खान दिन्छन्,’ श्रीमती चाहिँले गहभरि आँसु पार्दै भनिन्, ‘त्यही खाना तीन–चार दिन पु¥याएर खान्छौं ।’ खान दिन आउनेहरुलाई पनि प्रहरीले आउन नदिएको उनले बताइन्।
एकातिर मुटुको रोग, अर्कोतिर भोको पेट– गर्ने के ? श्रीमानचाहिँ भन्छन्, ‘हामीले मागेर सरकारलाई के भो ? कि मलाई काम दिनुपर्यो, कि खाने–बस्ने ठाउँ दिएर श्रीमतीको उपचार गरिदिनुपर्यो।’
यो दम्पतीलाई केही महिनाअघि सरकारले गणेश मन्दिरबाट उद्धार गरेर मानवसेवा आश्रममा लगेको रहेछ । तर, केही दिन बित्न नपाउँदै आश्रमबाट उनीहरुलाई निकालियो । ‘आश्रम पुगेको दुई दिनमै घर जाऊ भनेर पठाए । घर भएको भए पो जाने ? घर भए माग्न किन पथ्र्यो र ?’ श्रीमानचाहिँले भने, ‘त्यो बेला सरकारले हामीलाई देखावटी आशा मात्र देखायो।’
आश्रमबाट निकालिएपछि उनीहरु उही पुरानो कर्ममा लागे– दैनिक मागेर गुजारा चलाउने।
यो दम्पतीलाई थाह छैन– आज देशका प्रधानमन्त्रीले के घोषणा गरे, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा कस्तो जवाफ दिए !