Kathmandu Press

कोरोना संक्रमित भेटिएपछि धमाधम अस्पताल सिल हुँदा बिरामीको उपचार कहाँ गर्ने?

काठमाडौं, जेठ ५ : काठमाडौं उपत्यका लगायत केही अस्पतालमा भर्ना भएका बिरामीमा कोरोनाको संक्रमण पु

कोरोना संक्रमित भेटिएपछि धमाधम अस्पताल सिल हुँदा बिरामीको उपचार कहाँ गर्ने?

काठमाडौं, जेठ ५ : काठमाडौं उपत्यका लगायत केही अस्पतालमा भर्ना भएका बिरामीमा कोरोनाको संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ। 

कोरोनाका संक्रमित भेटिएका अस्पतालमा सिल गर्दै गएपछि अन्य रोगका बिरामीहरु उपचार नपाउने अवस्थामा पुग्ने देखिएको छ। काठमाडौंमा सबैभन्दा धेरै बिरामीको उपचार गर्ने त्रिवि शिक्षण अस्पतालको प्रसुती र न्युरो विभाग अहिले बन्द छ।

त्यस्तै, धुलिखेल अस्पतालमा पनि सिल गरेर बिरामी भर्ना गर्न दिइएको छैन। सबै प्रदेशका अधिकांश प्रादेशिक अस्पतालमा कोरोनाको उपचार गर्ने भन्दै अन्य रोगका बिरामी भर्ना गरिएको छैन। 

Hardik ivf

हाललाई प्रसुतीका कुनै पनि बिरामीलाई भर्ना नलिइएको त्रिवि शिक्षण अस्पतालका कोरोना नियन्त्रण टास्क फोर्सका संयोजक डा. सन्तकुमार दासले बताए। ‘न्यूरो र प्रसुती वार्ड सिल गरे यता कसैलाई पनि भर्ना लिइएको छैन,’ दासले भने, ‘आएका बिरामीहरुलाई अन्य अस्पतालमा पठाइरहेका छौँ।’ 

जनस्वास्थ्य विज्ञहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारसँग उपयुक्त कार्यक्रम नहुँदा कोरोनाका साथै अन्य रोगका बिरामीको ठूलो संख्यामा मृत्यु हुन सक्ने बताएका छन्।

‘कोरोना नियन्त्रणका लागि देशभर गरिएको लकडाउनका कारण सुगर, मिर्गौला, गर्भवती, क्यान्सर लगायतका बिरामीले आवश्यक मात्रामा उपचार पाइरहेका छैनन्,’ जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले काठमाडौं प्रेससँग भने, ‘कोरोनाभन्दा पनि अन्य रोगका कारण धेरै मानिसको मृत्यु हुने सम्भावना बढी देखिन्छ।’

सरकारले कुनै अस्पतालमा एक जनामात्रै कोरोना संक्रमित भेटिए अस्पताल नै सिल गरेर उपचार बन्द गर्दै आएको छ। कतिपय दीर्घ रोगीहरुले आफ्नो फलोअप उपचार गर्न पाएका छैनन् भने अत्यावश्यक परीक्षण समेत हुन सकेका छैनन्। 

संक्रामक रोग विशेषज्ञ डा. ल्हामु याङ्चेन शेर्पाले अस्पताललाई सिल गर्नु गलत भएको भन्दै ७० प्रतिशत एल्कोहलको मात्रा राखेर अस्पताललाई डिसइन्फेक्ट गर्नु पर्ने बताइन्। ‘अस्पताललाई सिल गर्नु उचित उपाय होइन। यसको सट्टा अस्पताललाई डिसइन्फेक्ट गर्नुका साथै सबै स्टाफलाई अनिवार्य रुपमा पीपीई प्रयोगमा जोड दिन सकिन्छ’, डा. शेर्पाले भनिन्, ‘कतिपय सेवाहरु काठमाडौंका यी ठूला अस्पतालमा मात्रै हुने भएकाले पनि अस्पताल सिल गर्दै जाने हो भने भोलि सबै अस्पताल बन्द हुन्छन्।’

सरकारको महामारी नियन्त्रणमा देखिएको अपरिपक्व र अस्पष्ट नीतिका कारण विशेषज्ञ चिकित्सक भएका ठूला अस्पताल नै क्रमश: बन्द हुँदै जाने देखिएको छ।
काठमाडौं उपत्यका बाहिरका अस्पतालको अवस्था झनै चिन्ताजनक छ। ‘ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा चिकित्सकहरु नै जान छोडिसकेका छन्,’ डा. दीक्षितले भने, ‘सरकारले भने यसतर्फ खासै  ध्यान दिएको छैन। त्यसमाथि पनि कोरोना संक्रमित पुष्टि भएका धेरै अस्पताल सिल गर्ने परिपाटीले ठाउँ लिन थालेपछि स्वास्थ्य क्षेत्र डामाडोल हुने देखिएको छ।’

काठमाडौंमा पनि कोरोनाका बिरामी बढ्ने निश्चित भए पनि अस्पतालका सेवाहरु बन्द हुन नहुने दीक्षितको भनाइ छ। ‘आगामी दिनमा संक्रमितको संख्या बढ्नेमा दुई मत छैन। केहीको मृत्यु पनि होला,’ दीक्षितले भने,‘तर अस्पतालले कुनै पनि हालतमा सेवा दिन बन्द गर्नु हुँदैन।’

काठमाडौंका ठूला निजी अस्पताललाई तलब खुवाउनै हम्मेहम्मे - १

सरकारले अस्पतालमा एउटा मात्रै कोरोनाको केस देखिएपनि ठूला अस्पतालले विभाग र साना अस्पतालले सबै सेवा बन्द गर्न थालेका छन्। ‘हरेक पटक कोरोनाको केस देखिँदैमा अस्पताल नै सिल गर्ने काम गलत हो,’ दीक्षितले भने, ‘यसरी नै अस्पताल सिल गर्न थालियो भने केही दिनमा देशभरका सबै अस्पताल सिल गर्नु पर्ने हुन्छ। यो सर्वसाधारणको स्वास्थ्यमाथिको खेलवाड हो।’

शिक्षण अस्पतालको प्रसुती विभाग बन्द हुँदा दैनिक एक सयको डेलिभेरी रोकिँदै आएको छ। त्यस्तै, न्युरोको अपरेशनको मिति लिएका, उपचाररत बिरामीहरु र आकस्मिक कक्षमा आउने बिरामीले उपचार नपाउने अवस्था आउन थालेको छ।

‘अहिले प्रसुतीका बिरामीलाई प्रसुती गृहमा र न्युरोकालाई अन्य अस्पतालमा जान सुझाव दिँदै आएका छाैँ’, शिक्षण अस्पतालका कार्यकारी निर्देशक खड्काले भने।  
 

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्