कोरोनाको संक्रमणले नेपालमा किन गरेन गम्भीर असर?
काठमाडौं, जेठ २ : कोरोना भाइरसबाट संक्रमित २ सय ५८ जना पुगिसक्दा नेपालमा एक जना पनि सिकिस
काठमाडौं, जेठ २ : कोरोना भाइरसबाट संक्रमित २ सय ५८ जना पुगिसक्दा नेपालमा एक जना पनि सिकिस्त बिरामी परेका छैनन्। कोरोनाको संक्रमण सामान्य फ्लुको संक्रमणभन्दा पनि कमजोर देखिएको छ। आखिर नेपालमा किन कोरोना संक्रमित सिकिस्त बिरामी नभएका हुन् त?
कतिपयले संक्रमणका संख्या निकै कम भएकाले असर गम्भीर असर नदेखिएको हुन सक्ने बताएका छन् भने कतिपयले कोरोना संक्रमण युवामा बढी भएकाले असर कम गरेको बताउने गरेका छन्।
नेपालीलाई कोरोनाले असर नगरेको हो ? जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित भन्छन्, ‘युवाको तुलनामा निकै कममात्र वृद्धवृद्धा हुनु, यहाँका मानिसहरुमा फ्लुसँग लड्ने क्षमता धेरै अघि नै विकसित हुनु र विगतमा नेपालीलाई पर्याप्त मात्रामा बीसीजी खोप दिइएकाले संक्रमण भएकामा पनि गम्भीर असर नगरेको हुन सक्छ।’
नेपालमा विगत तीन महिनामा २ सय ४६ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये एक जनालाई पनि आईसीयूमा राखेर उपचार गर्नु परेको छैन। संक्रमण भएकामा ३५ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन्। पछिल्लो समय संक्रमण देखिएकामा त सामान्य लक्षण समेत देखिएको छैन।
नेपालमा कोरोनाको प्रभावललाई नजिकबाट नियालेका अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भने गम्भीर केसहरु आउने समय अझै बाँकी रहेको दाबी गर्छन्। ‘विश्वमा कोरोनाको फैलावटको प्रकृति हेर्ने हो भने धेरै देशमा सुरुमा कोरोनाको कम प्रभाव देखिएको छ,’ सुवेदीले भने,‘तीन सय जना मानिसलाई कोरोना संक्रमण पुष्टि भइसकेपछि मात्र उनीहरुमध्ये केही गम्भीर अवस्थामा पुगेका छन्। हामी त्यो ठाउँमा पुग्दै छौँ।’
मेडिकल क्षेत्रको अध्ययन अनुसन्धान गर्ने सरकारको आधिकारिक निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष अन्जनीकुमार झा पनि कोरोनाले गम्भीर बिरामी हुने संख्या पुग्न अझै बाँकी रहेको हुन सक्ने बताउँछन्।
‘गम्भीर असर देखिनु पहिलो कोरोना भाइरसको चार वटा प्रकारमध्ये नेपालमा देखिएको भाइरस अलि कम शक्तिशाली हुनसक्छ,’ झाले भने, ‘दोस्रो कतिपय देशमा तीन सय हाराहारीमा केस पुगेपछि गम्भीर अवस्था आएको देखिएकाले नेपालमा पनि संक्रमणको संख्यामा वृृद्धि भएसँगै समस्या बढ्ने हुन सक्छ।’
कतिपय विज्ञहरुले नेपालमा क्षयरोग उन्मूलनका लागि सरकारले सुरु गरेको बीसीजी खोपका कारण पनि कोरोनाको असर कम भएको दाबी गर्दै आएका छन्। कतिपय अर्ध वियर रिभ्यु जर्नलमा समेत बीसीजी खोप लगाएकामा कोरोनाको असर कम हुने उल्लेख गरिएको छ। डा. दीक्षित पनि बीसीजी खोपका कारण पनि संक्रमण र असर दुवै कम भएको हुन सक्ने बताउँछन्।
अर्कोतिर नेपालमा हुने विभिन्न किसिमका बालबालिकाको श्वासप्रश्वासमा असर गर्ने फ्लु रहेको र त्यसको अन्टिबडी नेपालीमा भएकाले पनि असर कम भएको हुन सक्ने बताउँदै आएका छन्।
‘नेपालमा पहिलादेखि नै बच्चामा श्वासप्रश्वासको समस्या ल्याउने कोरोनाकै विभिन्न प्रजाति देखिँदै आएका छ,’ डा. दीक्षितले भने, ‘त्यसैले पनि पहिलादेखि नै नेपालीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास भइसकेकाले पनि यहाँ कम असर परेको हुनसक्छ।’
पछिल्ला अनुसन्धाताहरुले कोरोनाको विभिन्न प्रकारकाबारे पनि अध्ययन गरेका छन्। अनुसन्धानबाट कोरोनाका सात प्रकारमध्ये चार वटा भाइरसमात्रै कडा असर गर्ने खालको भएको देखाएको छ। त्यसका साथै कोरोनाले ८० वर्ष पूरा भएका व्यक्तिमा बढी असर गर्ने अध्ययनले देखाएको र नेपालीको औषत आयु नै त्योभन्दा कम भएकाले पनि गम्भीर असर गरेको हुन सक्ने तर्क पनि केही विज्ञहरुको छ।
‘नेपाली जनताको औसत आयु नै ७१ वर्ष हो, जबकि कोरोनाको मुख्य खतरा ८० वर्ष कटेका मानिसलाई हुने भएकाले नेपालमा गम्भीर केसहरु नदेखिएको हुनसक्छ’, डा.दीक्षित भन्छन्।
डा.सुवेदी भने संक्रमितको संख्या धेरै नहुनुको कारण सुरुमै लकडाउन भएकाले पनि हुनसक्ने बताउँछन्। संक्रमितको संख्या धेरै सानो भएकाले त्यसको असर पनि कम भएको हुन सक्ने अनुमान गर्दै उनले भने, ‘नेपालमा कोरोनाकोे परीक्षण नै पर्याप्त भएको छैन। धेरै संक्रमण पुष्टि भएपछि त्यसमध्ये केहीलाई गम्भीर अवस्था देखिने हो। अरु देशको तुलनामा हाम्रो देशमा जनसंख्या कम छ। त्यसै कारण पनि मृत्युदर कम देखिएको हुनसक्छ।’
डा. सुवेदीका अनुसार अहिलेको अवस्था हेर्दा विश्वभर लक्षण देखिएका तुलनामा २० प्रतिशतभन्दा बढी मानिसमा लक्षणबिना नै संक्रमण पुष्टि भएको छ। ‘नेपालमा अहिले नै अनुमानित रुपमा इन्फेक्सन हुन सक्दैन कि? कडा भाइरस होइन कि? भनेर भन्नु नै अलिक हतार हुन्छ,’ उनले भने।