काठमाडौंका ठूला निजी अस्पताललाई तलब खुवाउनै हम्मेहम्मे
काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको महामारीका कारण विश्वकै अर्थतन्त्र धराशायी बनेको छ। त्यसको असर बि
काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको महामारीका कारण विश्वकै अर्थतन्त्र धराशायी बनेको छ। त्यसको असर बिरामीको सेवामा तल्लीन धेरै अस्पतालमा पनि प्रत्यक्षरुपमा परेको छ।
आर्थिक समस्याकै कारण बिरामीको उपचार गरिरहेका अस्पतालहरुलाई अस्पतालमा कार्यरत चिकित्सकहरुलाई तलब खुवाउन समस्या पर्न थालेको छ।
झण्डै दुई महिनादेखि जारी रहेको लकडाउनका कारण काठमाडौंका अधिकांश निजी अस्पतालको आर्थिक अवस्था धराशायी बन्दै गएको छ। लकडाउनका कारण अस्पताल सहज रुपमा सञ्चालन नहुँदा आर्थिक समस्या देखिएको हो।
बिरामीको चाप घटेसँगै निजी अस्पतालहरु तलब खुवाउन नै धौंधौंको अवस्थामा पुग्न थालेका छन्। बीएण्डबी अस्पतालका प्रशासक प्रकाश भट्टले आर्थिक अभावका कारण चिकित्सक र कर्मचारीलाई तबल खुवाउन समस्या हुन थालेको बताए।
‘अहिले प्रायः अस्पतालमा बिरामीको चाप निकै कम छ। यसले गर्दा आय पनि कम भएको छ,’भट्टले काठमाडौं प्रेससँग भने, ‘अस्पतालमा बिरामी नहुँदा त्यसको प्रत्यक्ष असर अब चिकित्सक र कर्मचारीलाई खुवाउने तलबमा परेको छ।’
केही अस्पतालहरुले कर्मचारीलाई स्वेच्छिक बिदा दिएपनि अर्को महिनादेखि तलब खुवाउन समस्या पर्ने अधिकांश निजी अस्पताल सञ्चालकको भनाइ छ।
‘अस्पतालमा बिरामी घटेपनि कर्मचारीको दरबन्दी कटौती भएको छैन,’ भट्टले भने,‘अस्पताल चौबिसै घण्टा तत्पर रहनुपर्ने भएकै कारण हालसम्म बीएण्डबी अस्पतालले कर्मचारी कटौतीको नीति लिएको छैन। तर, अब त्यो आवश्यक पर्न सक्ने देखिएको छ।’
ग्राण्डी अस्पतालका सहमहाप्रबन्धक हरि खड्काले लकडाउन बढेर बिरामी खाली हुने अवस्था आए अस्पाताल सञ्चालनमा आर्थिक समस्या उत्पन्न हुने बताए।
‘यही अवस्था रहिरहने हो भने बढीमा चार महिनासम्म मात्र हामी यसको भार थेग्न सक्छौँ,’ खड्काले भने,‘अस्पताल त बन्द गरेका छैनौं तर बिरामीको चाप कम भएपछि कारोबारमा निकै कम भएको छ।’
ग्राण्डीले लकडाउनका कारण अस्पताल रित्तो भएपछि त्यसको वैकल्पिक उपायबारे अध्ययन गरिरहेको जनाएको छ। ‘अस्पतालको आयस्रोत भनेकै बिरामी हुन्।
बिरामीको चाप कम भएपछि स्वतः आर्थिक मन्दी हुने नै भयो,’ उनले भने,‘त्यसैले लामो समयसम्म यही अवस्था रहे के गर्ने भन्नेबारे आवश्यक अध्ययन गरिरहेका छौंँ।’
लकडाउनका कारण काठमाडौंका ठूला अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा समेत समस्या परेको छ।
ओम अस्पतालका प्रशासन तथा वित्तीय निर्देशक दिपेन्द्र पोखरेलले सरकारले सुरुमा अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्न निर्देशन दिएकाले बिरामी ह्वात्तै हटेको बताए।
उनले सबै अस्पतालले कोरोनाको तयारीका लागि आइसोलेशन वार्ड बनाएर थप खर्च गरेको तर आम्दानी नभएकाले अहिले समस्या भएको बताए। ‘सरकारले हरेक बिरामीलाई २० प्रतिशतसम्म छुट दिनुपर्ने भनेपछि यसले अस्पतालको आर्थिक मन्दीलाई थप बढाएको छ,’ उनले भने।
उनका अनुसार अस्पतालमा प्रयोग हुने सामानको मूल्य पनि बढेको बताए। विगतमा सामान्य र थोरै मात्रामा प्रयोग हुने माक्स, स्यानिटाइजर, पीपीई लगायतका साामग्रीको बढी प्रयोग हुँ दा अस्पतालमा थप आर्थिक भार परेको उनको भनाइ छ।
कोरोनाका कारण आइपर्ने आर्थिक मन्दीलाई सरकारको सहयोगबिना अस्पतालले व्यहोर्न नसक्ने उनले बताए। उनले त्यसका लागि नेपाल राष्ट्र बैंकले कर्मचारीलाई तलब खुवाउनका लागि सस्तो ब्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी रहेको बताए।
काठमाडौंका कतिपय ठूला अस्पतालले आर्थिक मन्दी देखिन थालेपछि कर्मचारी कटौती गर्न पनि थालेका छन्। केही अस्पतालले कर्मचारीलाई बेतलबी बिदा दिने, केहीले कटौती गर्ने र केहीले तलब घटाउने नीति लिन थालेका छन्।
नर्भिक अस्पतालमा कार्यरत २५ जना स्टाफ नर्स र २५ जना वार्डका कर्मचारीसहित ५० जनालाई बेतलबी बिदा दिइएको अस्पतालका उप–निर्देशक डा. विप्लव सापकोटाले बताए।