कोरोना नियन्त्रणमा उल्टो बाटो हिँड्दै सरकार
काठमाडौं, वैशाख ३० : सरकारले कोरोना भाइरसको दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि मुलुकभर लकडाउन
काठमाडौं, वैशाख ३० : सरकारले कोरोना भाइरसको दोस्रो संक्रमित देखिएको भोलिपल्टदेखि मुलुकभर लकडाउन घोषणा गर्यो। लकडाउन घोषणा भएको ४५ दिनदेखि दैनिकी सहज बनाउन भन्दै लकडाउन केही खुकुलो बनायो।
तर पछिल्लो समय एक दिनमै ५० भन्दा बढि कोरोना संक्रमित भेटिएका छन्। यस्तो अवस्थामा लकडाउन कडाई गर्नुपर्नेमा खुकुलो बन्दै गएको छ। सडक ब्यस्त देखिन थालेका छन्, मानिसका अवतजावत बढेका छन्।
कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणको लागि गरेको निर्णय उल्टो बाटोतर्फ हिँडेको टिप्पणी जनस्वास्थ्य क्षेत्रका विज्ञहरु गर्छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. ल्हामो याङ्चेन शेर्पा सुरुमा लकडाउन गरेपछि टेष्टको संख्या बढाएर मात्रै खुकुलो बनाउनु पर्नेमा सरकारले लकडाउन गरी परीक्षण नबढाएर गलत बाटो लिएको बताउँछिन्। ‘सरकारले सुरुमा लकडाउन गरेर बस्यो तर परीक्षण भने निकै कम मात्रै भयोे,’ शेर्पाले काठमाडौं प्रेससँग भनिन्, ‘लकडाउन सँगसँगै दिनमा दुई तीन हजार परीक्षण गरेको भए त्यो निकै प्रभावकारी हुन्थ्यो। लकडाउन खुकुलो बनाएर बल्ल परीक्षणको संख्या बढाएको छ, त्यो अलि उल्टो भयो।’
सरकारले छिमेकी मुलुक भारतको सिको गर्दै कोरोनाको दोस्रो संक्रमित भेटिए लगत्तै लकडाउन घोषणा गर्यो । परीक्षणको दायरा बढाउनुको सट्टा स्वास्थ्य सामाग्री खरिदमा किचलो निकाल्यो। अहिले संक्रमितको संख्या बढ्दैजाँदा लकडाउन खुकुलो बनाएर सामाजिक दुरीसमेत कामय भइरहेको छैन।
जनस्वास्थ्य विज्ञ डा. समिरमणि दिक्षित लकडाउन खुकुलो बनाउनु पूर्व राज्यले गर्नुपर्ने न्यूनतम काम पुरा नगरेर गलत गरेको बताउँछन्। ‘सरकारमा भएका मान्छेहरु चाहिने भन्दा बढी बाठा भएरै यस्तो भएको हो,’ दिक्षितले भने ‘लकडाउनलाई खुकुलो पार्नु पर्नेमा दुई मत छैन। तर जुन हिसाबले खुकुलो गर्यो त्यो एकदमै गलत छ। कोरोना संक्रमणमा सरकारसँग ज्ञान एकदमै कम देखियो।’
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा पहिला गनुैपर्ने काम परीक्षणको दायरा बढाउनु हो। तर लकडाउन भएको ५० दिनसम्म पनि ठूला सहरहरुमा समेत आवश्यक अनुसार परीक्षण हुन सकेको छैन। काठमाडौं उपत्यकामा पुलिङबाट समुदायस्तरमा परीक्षण गर्नुपर्ने भएपनि त्यसखालको तयारी सरकारको देखिदैन । ‘सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि नीति बनाई एक पछि अर्को कदम चाल्नु पर्ने हो’ दिक्षित भन्छन्, ‘तर त्यो तयारी देखिएन।’
५० लाख मानिस बस्ने काठमाडौं उपत्यकामा अहिले लकडाउन खुकुलो भएसँगै मानिसहरु काठमाडौंबाट बाहिरिने र भित्रिनेको पनि संख्या बढेको छ। ‘धेरै संख्यामा मानिसहरु घर बाहिर निस्कनुका साथै बाहिरी जिल्लाबाट समेत मानिसहरु काठमाडौ भित्रन थालेका छन्’ दिक्षितले भने, ‘यसले अव काठमाडौंमा खतरा बढाएको छ।’
यस्तै अर्का मेडिकल अभियान्ता डा.अभिषेकराज सिंह लकडाउनको सदुपयोग गर्ने क्षमता सरकारसँग नभएरै लकडाउन कहिले कडा गर्ने र कहिले खुकुलाे गर्ने थाहा नपाएर उल्टो बाटाेमा हिडेकाे बताउँछन्। ‘चीनको वुहान कै उदाहरण दिने हो भने पनि त्यहाँ कुल ७६ दिन लकडाउन भयो त्यसबीच उनीहरुले परीक्षणको दायरा सक्दो बढाएर पछि लकडाउनलाई खुकुलो बनाए’ डा. सिहले भने, ‘लकडाउन भएपछिको समयमा सरकारले गर्नुपर्ने आफ्नो दायित्व पुरा गरेन। सरकारले लकडाउनको उपयुक्त प्रयोग गर्न नसक्दा हाल मानिसहरुले लकडाउनलाई बेवास्ता गर्न थालेका छन्, यो सरकारको उल्टो बाटोको परिणाम हो।’
पछिल्लो समय विषेशगरी तराईका सहरहरुमा कोरोना पोजेटिभको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा कडाई गनुपर्ने डा.सिहको भनाई छ। ‘सरकारले लकडाउनको सिको अरु देशबाट गर्यो तर पर्याप्त पीसीआर परीक्षणमा सरकार चुक्यो’ डा.सिहले भने, ‘परीक्षण नगरी लकडाउन खुकुलो बनाउनु भनेको गम्भीर गल्ति हो।’
डा. दिक्षित पनि सरकारले कोरोना नियन्त्रणका लागि कुनै आधार बिनै कदम चालेकाले परिणाम उल्टो आउन थालेको बताउँछन्। ‘सरकारले गर्न त ग¥यो तर देखाउनका लागि मात्र हचुवा तालले गरेको छ’ उनी भन्छन्।