‘हानिकारक’ डिसइन्फेक्सन छर्कँदै निजी कम्पनी, कसले दियो अनुमति?
काठमाडौं, वैशाख २२ : काठमाडौंको न्यूरोड क्षेत्रमा बालबालिकाको अनुहारमा समेत पर्ने गरी डिसइन्फेक्सन छ

काठमाडौं, वैशाख २२ : काठमाडौंको न्यूरोड क्षेत्रमा बालबालिकाको अनुहारमा समेत पर्ने गरी डिसइन्फेक्सन छर्किएको निजी कम्पनी अनमोल फेरिलिटी क्लिनिङले कुनै पनि सरकारी निकायबाट अनुमति नलिएको पाइएको छ।
उनीहरुले सडकमा सुरक्षाकर्मी, सर्वसाधारण लगायतलाई सरकारको अनुमतिविनै डिसइन्फेक्सन गर्नु गैरकानूनी हो। कानून अनुसार कुनै पनि औषधिजन्य सामग्री सार्वजनिक क्षेत्रमा प्रयोग गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ। तर अनमोलले त्यस्तो कुनै पनि अनुमति नलिई डिसइन्फेक्सन छर्किदै आएको बताएको छ।
‘डिसइन्फेक्सन छर्कँनकै लागि हामीले अनुमति दिएको छैनाैँ,’ अनमोलका अध्यक्ष जितेन्द्र देउलाले काठमाडौं प्रेससँग भने, ‘उत्पादक कम्पनीको सिफारिसमा मानिसलाइए असर नगर्ने तर कोरोना भाइरस रोकथामका सहयोग पुग्ने भएकोले छर्कँदै आएका हौँ।’
आइतबार न्यूरोडका स्थानीयको शरीरमा डिसइन्फेक्सन छरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। विज्ञहरुले मानिसको शरीरमा डिसइन्फेक्सन छरेर भाइरस मार्न नसकिने बताएका छन्। उनीहरुले शरीरमा डिसइन्फेक्सन छर्कँदा आँखा, श्वासप्रश्वासमा समस्या आउने र ज्यान समेत जोखिममा पर्न सक्ने बताएका छन्।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भाइरस मार्न शरीरमा डिसइन्फेक्सन छर्कनु र धामी झाँक्री लगाउनु उस्तै भएको बताउँछन्।
तर, कम्पनीका अध्यक्ष देउला भने मानिसको शरीरमा डिसइन्फेक्नस नभएर स्यानिटाइजर छर्किएको बताउँछन्। ‘३० वटा जति सार्वजनिक स्थानमा २१ दिन यता स्यानिटाइज गरिरहेका छौं। जोखिममा रहेका बच्चा, प्रहरीको शरीरमा स्यानिटाइज गरेका हौँ,’ उनी भन्छन्, ‘सार्वजनिक स्थलमा निशुल्क स्यानिटाइज गरेका छौं। कतिपय ठाउँमा शुल्क समेत लिएका छौँ।’
बिज्ञ भन्छन - यसरी स्प्रे गर्दा एलर्जी, आँखा र श्वासप्रश्वासमै समस्या सिर्जना हुन्छ !
— Poornima Shrestha (@poornimashresth) May 4, 2020
बाँकी तस्बिर आफै बोल्छ ! pic.twitter.com/0W1xJUP7OR
विज्ञहरुले शरीरमा डिसइन्फेक्सन छर्कँदा ज्यान समेत जोखिममा पर्ने बताएकोबारे उनले अनविज्ञता प्रकट गरे। ‘हामीले डिसइन्फेक्सन छर्केका होइनौं, स्यानिटाइज गरेका हौं। स्यानिटाइजर उत्पादन गर्ने कम्पनीले शरीरमा छर्कन मिल्छ भनेको छ,’ उनले भने।
तर, उनले दाबी गरे जस्तो शरीरमा छर्किएको स्यानिटाइजर होइन, डिसइन्फेक्नस नै हो। अनमोलले प्रयोग गर्ने डिसइन्फेक्सन एमडिएफ फार्मेस्युटिकलले उत्पादन गरेको भाइरोप प्रडक्ट हो।

देउलाले उत्पादक कम्पनीकै सिफारिसमा मानिसको शरीरमा स्प्रे गरेको दाबी गरे। तर, कम्पनीका डाक्टर दीपक दाहाल भने भाइरोप कसैको शरीरमा स्प्रे गर्न सल्लाह नदिएको बताउँछन्।
‘अहिले कतिपयले सोडियम क्लोराइडयुक्त डिसइन्फेक्सन छरेका छन्। जुन धेरै हानिकारक हो। सार्वजनिक स्थलमा छर्कन मिल्छ। तर, यो छर्कँदा मास्क पन्जा लगाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘हामीले कसैलाई पनि भाइरोप शरीरमा छर्कन भनेका छैनौं। तर, हाम्रो उत्पादन शरीरमा परिहाल्यो भने पनि खास फरक पर्दैन।’
उनले अनमोललाई कम्पनीले सामानमात्रै बेच्ने भएकाले अरु सल्लाह नदिएको बताए। ‘हामीले सामान बेच्दा शरीरमा हाल्न मिल्छ भनेर सिफारिस गरेका छैनौं र गर्दैनौंं। अस्पताल लगायतका जोखिमयुक्त स्थानमा प्रयोग गर्न उपयुक्त हुन्छ। तर, शरीरमा छर्कँनु बेकार हो।’











