Kathmandu Press

विज्ञ भन्छन्–शरीरमा डिसइन्फेक्सन गर्नु र धामी झाँक्री लगाउनु उस्तै हो 

काठमाडौं, वैशाख २२ः शरीरमा डिसइन्फेक्सन छर्किएर भाइरस नियन्त्रण गर्न खोज्नु घातक हुने विज्ञहरुले बता

विज्ञ भन्छन्–शरीरमा डिसइन्फेक्सन गर्नु र धामी झाँक्री लगाउनु उस्तै हो 

काठमाडौं, वैशाख २२ः शरीरमा डिसइन्फेक्सन छर्किएर भाइरस नियन्त्रण गर्न खोज्नु घातक हुने विज्ञहरुले बताएका छन्।

आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा कोरोना भाइरस रोकथामका लागि भन्दै स्थानीयको शरीरमा डिसइन्फेक्सन छर्किइएको थियो। तर, डिसइन्फेक्सन छर्किएर कोरोना भाइरस मार्न सकिन्छ भन्नु केवल भ्रममात्रै भएको संक्रामक रोग विषेशज्ञ डा‍. अनुप सुवेदी बताउँछन्। 

‘शरीरको कपडाबाट भाइरस सर्ने सम्भावना ज्याँदै कम छ। त्यसरी डिसइन्फेक्सन छर्कनु कुनै पनि हिसाबले उपयुक्त होइन। यसो गर्नु र धामी झाँक्री लगाउनुमा कुनै फरक छैन,’ सुवेदीले काठमाडौं प्रेससँग भने, ‘मानिसको शरीरमा स्प्रे गर्दा आँखामा गम्भीर समस्या हुन्छ, श्वासप्रश्वासको समस्या हुन सक्छ। नराम्रो रियाक्सन हुँदा ज्यान नै जोखिममा पर्न सक्छ।’ 

उनले हातबाट भाइरस सर्ने सम्भावना धेर रहेकाले टोल-टोलमा धारा र साबुन राखिनुपर्ने बताए। ‘यसरी स्प्रे गर्नुभन्दा टोल टोलमा हात धुनका लागि धारा र साबुन राख्दा राम्रो हुन्छ। यो सस्तो र उपयुक्त विकल्प हो,’ उनी भन्छन्, ‘यसरी स्प्रे गर्ने काम तत्काल बन्द गरौं।’

न्यूरोडमा स्वास्थ्यकर्मीले मानिसको शरीरमा स्प्रे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले पोस्ट गरेका छन्। जहाँ सडकको दुईतर्फ स्वास्थ्यकर्मीले लाइन राखेर स्थानीयको शरीरमा डिसइन्फेक्सन स्प्रे गरेको देख्न सकिन्छ। काठमाडौं महानगरपालिकाले वडाहरुले स्प्रे गरेको हुन सक्ने महानगर बताउँछ।

तर, कुन वडाले गरेको भनेर खुल्न सकेको छैन। न्यूरोड क्षेत्र महानगरको वडा नम्बर २२, २४ र २७ मा पर्छ। २४ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र २७ का वडाध्यक्ष चिनियामान बज्रचार्यले भने मानिसको शरीरमा स्प्रे नगरिएको बताए। २२ नम्बरका वडाध्यक्ष चिनीकाजी महर्जनसँग सम्पर्क हुन सकेन।

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्