अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठ दोस्रो साता हुने
काठमाडौं, वैशाख २ : नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ।
राष्ट्रिय गोजुरियो कराँते दो स....

काठमाडौं, वैशाख २ : नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ।
राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा हुने भएको हो। जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै एक हजार खेलाडीहरुले सहभागिता जनाउने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघले जनाएको छ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन विधामा प्रतिस्पर्धा हुने जनाएको हो। प्रतियोगिता संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाश चन्दका अनुसार तीनवटै स्पर्धामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ।
कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउने छन्। जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशी समेत रहेको उनले बताए। खुल्ला प्रतियोगिता भएकाले नेपालबाट सातवटै प्रदेश, स्कुल, कलेज, डोजो तथा विभागीय खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउँने संघले जनाएको छ।
१६ वर्षदेखि नियमित रुपमा हुदैँ आएको प्रतियोगिताको विभिन्न स्पर्धामा भारतका मात्रै ४ सय बढी खेलाडीले सहभागिता हुने संघले जनाएको छ। ‘प्रतियोगिताको मुख्य उदेश्य खेलका माध्यमबाट नेपाल अनि सुदूरपश्चिम प्रदेशको पहिचान फराकिलो बनाउँने हो,’ कार्यक्रम संयोजक चन्दले भने,‘खेल पर्यटनलाई बढावा दिई सुदूरपश्चिम क्षेत्रको विकासको समृद्धिमा समेत प्रतियोगिता कोशेढुंगा बनेको छ।’
प्रतियोगिता सुदूरपश्चिम क्षेत्रका कराँते खेलाडीको स्तरवृद्धि गर्न तथा व्यवसायिक बनाउँन समेत भुमिका खेलेको चन्दले बताए। कराँतेका विभिन्न संघ मध्ये सबैभन्दा सक्रिय संघ रहँदै आएको गोजुरियो संघले गत असोजमा धनगढीमा २२ सय जना महिलाहरुलाई एकैपटक ७ दिने महिला आत्मरक्षा तालिम समेत सञ्चालन गरेको थियो।
कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले सा–सानो सहयोगले प्रतियोगिता सफल हुने भन्दै व्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट मेडल तथा अवार्डका लागि भन्दै १५ हजार नगद सहयोग गरेका थिए।











