कोरोनाकाे संक्रमण बढिरहेका बेला पीपीई अभाव हुँदै, टेकु अस्पतालमा एक हप्तालाई मात्रै पुग्ने
काठमाडौं, वैशाख १० : कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ। विश
काठमाडौं, वैशाख १० : कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ। विशेष गरेर कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि अत्यावश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)को कमि हुन थालेको हो।
कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहँदा नेपाल पनि यसबाट अछुतो छैन। दुई सातायता नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै आएको छ।
दुई साता अघि १७ जनामा मात्रै संक्रमित रहेकोमा बुधबारसम्म ४२ जना पुगेका छन्। जसमध्ये पाँच जना उपचार गरेर घर फर्केका छन्। तर, चैत तेस्रो साता संक्रमितका युवकबाट आफन्तमा सरेसँगै कोरोना दोस्रो चरणमा प्रवेश गरेको थियो।
अहिले भने कोरोना तेस्रो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका छन्। उदयपुरको भुल्के बस्तीमै संक्रमण भएको पाइएपछि विज्ञहरुले तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरेका हुन्।
तर, यस्तो वेला स्वास्थ्य सामग्री अभाव हुन थालेको छ। विशेष गरेर संक्रमितको उपचारमा संलग्न रहनुपर्ने स्वास्थ्यकर्मीका लागि पीपीई अभाव हुन थालेको हो।
देशकै प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत पीपीई अभाव हुने देखिएको छ। ऋहिले आइसोलेसन वार्डमा मात्र दैनिक १२ देखि १४ जनासम्मको चिकित्सकीय टोली खटाइएको अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले बताए। अहिले आइसोलेसन वार्डमा तीन जना बिरामीहरु उपचाररत छन्।
टेकु अस्पतालमा मात्र एक हजार वटासम्म पीपीई थिए। अहिले प्रयोग हुँदै गर्दा एक सय वटा मात्र बाँकी रहेका छन्। अस्पताल आफैले पनि घरेलु विधिबाट ७० वटा पीपीई बनाएको सूचना अधिकारी खतिवटाले बताए। तर, घरेलु विधिबाट बनाएको पीपीई फ्रन्ट लाइनमा नभई सेकेन्ड लाइनमा प्रयोग गर्न मात्र उपयुक्त हुने उनको भनाइ छ।
टेकुमा पर्याप्त पीपीई छैन। ‘अस्पतालको लागि पिपिई अपर्याप्त छैनन्। अहिले भएका पीपीई बढीमा एक हप्ताका लागि मात्र पुग्छ। यदि मानिसको चाप बढेको खण्डमा पीपीईको अभाव हुने सम्भावना बढी छ,’ उनले भने।
पीपीईकै बचत गर्न दिनमा तीन जनाको सट्टा एक जनालाई २४सै घन्टा ड्युटीमा राख्ने गरेको उनले बताए। त्यसपछि तीन दिन रेस्ट दिने गरिएको छ।
टेकु मात्रै होइन, देशका अन्य अस्पतालमा पनि पीपीईको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित भएका ४२ मध्ये ३७ जनाको उपचार भइरहेको छ। त्यस्तै, देशभर आइसोलेसनमा एक सय सात जना छन्। उनहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि दैनिक चार सय पीपीई चाहिन्छ।
यस अघि विभिन्न सरकारी तथा गैर सरकारी संस्था व्यवसायीले देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा पीपीई उपलब्ध गराएका थिए। ति पीपीई सकिँन लागेका छन्। धेरैजसो अस्पतालमा एक साताका लागि पनि पीपीई छैन।
अहिले तत्काल स्वास्थ्य सामग्री आउने देखिएको छैन। नेपाली सेनाले ल्याउन लागेको स्वास्थ्य सामग्री पनि कम्तिमा दुई साता लाग्ने देखिएको छ। त्यतिञ्जेलसम्म विकल्प नखोजे संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समस्या हुने देखिएको छ।
स्वास्थ्य मन्त्रालयले भने अहिले पीपीईसहित कुनै पनि स्वास्थ्य सामग्रीको अभाव नभएको दाबी गरेको छ। एक दुई साताभित्रै थप स्वास्थ्य सामग्री आउने जनाएको छ।
बुधबारसम्म नेपालमा पिसिआर विधिबाट आठ हजार सात सय ७३ जनाको परीक्षण गरिएको छ।
त्यस्तै, र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) विधिबाट २७ हजार नौ सय ५६ जनाको परीक्षण भएको छ। ज्समा ४२ जनामा कोरोना देखिएको छ।
त्यस्तै, अहिले सात हजार ६७ जनालाई क्वारेन्टाइमा राखिएको छ भने एक सय सात जना आइसोलेसनमा छन्।
अहिलेसम्म संसारभर २५ लाख ६५ हजार आठ सय ८३ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक लाख ७७ हजार सात सय ८९ जनाको ज्यान गएको छ। त्यस्तै, ६ लाख ९६ हजार आठ सय ९१ जना निको भएका छन्।