४० वर्षपछि काठमाडौंमा स्वच्छ हावा
काठमाडौं, वैशाख ४ : आजभोलि काठमाडौंबाट टलक्क टल्किएका हिमाल, सफा आकास, हरिया डाँडाकाँडा देखिन्छन्। अ
काठमाडौं, वैशाख ४ : आजभोलि काठमाडौंबाट टलक्क टल्किएका हिमाल, सफा आकास, हरिया डाँडाकाँडा देखिन्छन्। अझ यसो भनौ, प्रायः बिहान बिउझिदा आँखा पिरपिराउने, नाकको छेउछाउ दुख्ने, घाँटी ख्यारख्यार गर्न कम भएको होला । विचार गर्नु भएको छ, कसरी यस्तो भयो?
काठमाडौंमा मात्रै होइन, संसारका प्रायः ठूला शहर केही सातायता स्वस्थकर बन्दै आएका छन्। लकडाउनले गर्दा वायु प्रदुषण घटेपछि संसारका शहरसँगै काठमाडौंको हावा पनि सफा भएको छ। आजभोलिको जस्तै काठमाडौंको हावा ठ्याक्कै ४० वर्ष अघि थियो। ‘उद्योगधन्दा, कलकारखाना सञ्चालन र निर्माणका काम सुरु भएपछि सन् १९९० देखि वायु प्रदुषण बढ्न थालेको हो,’ वातावरणविद् चिरञ्जिवि भट्टराई भन्छन्, ‘त्योभन्दा अघि त उपत्यकाको हावा प्रदुषित थिएन।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एअर क्वालिटी गाइडलाइन्स (एक्यूजी) अनुसार, सन् १९९० अर्थात २०४६ अघि काठमाडौंको हावा स्वस्थकर थियो । सन् १९९६ मा विश्व बैंकको सहयोगमा अर्बन एयरक्वालिटी म्यानेजमेन्ट स्ट्राटिजी इन एसिया कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यका रिपोर्टमा पनि वायु प्रदुषण बढ्दै गउको देखाएको छ।
त्यो रिपोर्टअनुसार, २०४६ अघि काठमाडौंमा हावामा प्रदुषणको मात्रा औषति ६० माइक्रोग्राम पर घनमिटर रहेको थियो । त्यतिवेला डब्लूएचओले ७० माइक्रोग्राम पर घनमिटर हावालाई स्वस्थकर भनेको थियो ।
त्यसपछि कलकारखाना, उद्योगधन्दा स्थापना, सडक, बाटोघाटो र घर निर्माण सुरु भएसँगै हावा प्रदुषण बढ्न थालेको वातावरणविद् भट्टराईको भनाइ छ। उनका अनुसार, २०४६ पछि सांसद्लाई भन्सार छुट दिन थालेपछि गाडी किन्न थालियो। नेपाल भ्रमणमा आउने विदेशीले सेकेन्ड ह्यान्ड गाडीमा आउने र त्यो यतै बेचेर जान थालेपछि उपत्यकामा प्रदुषणको मात्रा बढ्दै गयो ।
अझ २०५६ देखि सबै गाडी किन्न थालेपछि प्रदुषण बढेको वातावरणविद् बताउँछन्। ‘सबैले गाडी चढ्न थाले, अनियन्त्रित रुपमा गाडी भित्रिएपछि वायु प्रदुषण पनि बढ्यो,’ वातावरणविद् भट्टराई भन्छन्।
काठमाडौंको प्रदुषण दिनदिनै बढ्न थाल्यो। सन् २००५ मा काठमाडौं विश्वविद्यालयका धिरराज गिरी, पोखरा विश्वविद्यालयका सञ्जय खनाल र भारतको पीईएस विश्वविद्यालयका कृष्णमुर्ति भेंकटप्पाले वायु प्रदुषणसम्बन्धी अध्ययन गरेका थिए। उनीहरुले पतलीसडक, ठमेल, टियू, पाटनलगायतका स्थानमा गरेको अध्ययनमा वायु प्रदुषण उच्च रहेको पाइएको थियो।
लकडाउन अघि पनि काठमाडौंको वायु प्रदुषण १४२ माइक्रोग्राम पर घनमिटर रहेको थियो । ‘अहिले विगतको तुलनामा वायु प्रदुषण निकै घटेको छ। यसलाई अगन्य नै मान्दा पनि फरक नपर्ला,’ वातावरणविद् भट्टराई भन्छन्। अहिले काठमाडौंको वायु प्रदषणको मात्रा औषत ७० माइक्रोग्राम पर घनमिटरमा झरेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले २० माइक्रोग्राम पर घनमिटर मानेको छ। तर, ५० माइक्रोग्राम पर घनमिटरसम्मलाई राम्रो हावा मानिएको छ। त्यस्तै, ५० देखि १०० सम्मलाई स्वस्थकर नै मानिन्छ, यसले स्वास्थ्यलाई हानी गर्दैन्। १०१ देखि १५० सम्मलाई बालबालिका, ज्येष्ठनागरिक, गर्भवतीलगायतका लागि हानिकारक मानिएको छ भने १५० देखि २०० सम्मलाई सबैलाई लागि हानिकारक मानिएको छ। काठमाडौंमा ४० वर्षपछि स्वस्थकर हावा बनेको हो।
वल्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्टले सन् २००७ देखि संसारका एक सय देशका मुख्य एक हजारमा १२ हजार स्टेसनमार्फत वायु प्रदुषण मापन गर्दै आएको छ। त्यसका अनुसार, बुधबार रत्नपार्कमा वायु प्रदुषण ५३ माइक्रोग्राम पर घनमिटर थियो भने नारायणहिटी दरबारनजिक ६१ छ। त्यस्तै, शंकमुल पार्कमा ६४ र भैसेपाटीमा ५४ माइक्रोग्राम पर घनमिटर रहेको छ। देशभरको वायु प्रदुषण पनि घटेको छ।
संसारभर कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ। ग्त चैत ५ गतदेखि २५ जनाभन्दा बढी भेला हुन रोकिएको छ भने चैत ११ देखि देशभर नै लकडाउन लगाइएको छ।
यसगर्दा यातायात, कलकारखाना, उद्योगधन्दा, निर्माणका काम रोकिँदा वायु प्रदुषण घटेको वातावरणविद् भट्टराई भन्छन्। ‘अहिले त काठमाडौं उपत्यकाका उद्योग, कलकारखाना पनि बन्द छन्। गाडी चलेका छैनन्। त्यसैले वायु प्रदुषण घटेर १९९० अघिकै जस्तै भएको हो,’ उनी भन्छन्।
अहिले बाहिरको वायु प्रदुषण घटेपनि भित्रको घट्न नसकेको उनको भनाइ छ। अब विद्युतीय गाडीको प्रयोगसँगै घरभित्र पनि विद्युतीय चुलो प्रयोग गर्नुपर्ने उनको भनाइ छ। वातावरणविद् भट्टराई भन्छन्, ‘विद्युतीय बस, विद्युतीय चुलोलगायत विद्युतीय सामान प्रयोगमा ल्याउने हो भने लकडाउन खुलेपछि पनि वायु प्रदुषण घटाउन सकिन्छ।’