वीरगञ्जमा कोरोना देखिएसँगै नारायणी अस्पतालका ९४ बिरामी जोखिममा
वीरगञ्ज, चैत ३० : वीरगञ्जमा तीनजना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नारायणी उपक्षेत्
वीरगञ्ज, चैत ३० : वीरगञ्जमा तीनजना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत ९४ जना बिरामी त्रसित बनेका छन्। उनीहरुको कसरी उपचार गर्ने भन्ने विषयमा अस्पताल प्रशासन पनि अन्योलमा परेको छ।
नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षणका लागि आएका तीन जना भारतीय नागरिकमा शुक्रबार कोरोना देखिएको थियो। हेटौँडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा परीक्षण गर्दा पोजिटिभ देखिएपछि काठमाडौं पठाएको थियो।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा पनि तीनै जनामा पोजिटिभ देखिएको छ। उनीहरु तीनै जनाको नारायणी अस्पतालमै उपचार भइरहेको छ।
कोरोना संक्रमित तीनै जनाको नारायणी अस्पतालमा उपचार हुन थालेपछि यस अघि भर्ना भएका बिरामीबारे अन्योल भएको हो। यो अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाका बिरामी आउने गरेका छन्।
लकडाउनपछि अन्य अस्पतालले सामान्य रोगका बिरामीलाई पनि उपचार गर्न छाडेका छन्। जसले यो अस्पताल झन भरिभराउ भएको छ।
अब यस अघि भर्ना भएका बिरामीलाई के गर्ने भन्ने विषयमा अन्योल भएको अस्पतालका डा. निरज सिंहले बताए। अस्पतालको ओपीडी सेवा महेन्द्र आरोग्य भवन रहेको क्षेत्रसँग जोडिएको छ। यस अवस्थामा दोस्रो र तेस्रो तल्लामा ओहोरदोहोर गर्ने नर्स, चिकित्सकसँगै बिरामी र कुरुवामा समेत सर्ने जोखिम हुन्छ, डा.सिंहले भने, अब संक्रमित बिरामीलाई अन्यत्र सार्नुपर्ने वा ओपिडिमा भर्ना भएका बिरामीलाई व्यवस्थापन गर्नेपर्ने सरकारले व्यवस्था मिलाईनुपर्दछ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले यस विषयमा छलफल गर्न जिल्ला दैविक प्रकोप समितिको बैठक बस्न लागेको बताए। यस विषयमा बैठकपछि मात्रै जवाफ दिने बताए।
अहिले नाराणयी उपक्षेत्रीय अस्पतालमा ९४ जना बिरामी उपचाररत छन्। कोरोना संक्रमण देखिएका बिरामीको पनि अहिले नारायणीमै उपचार भइरहेको छ।