देशवासीका नाममा राष्ट्रपतिको सम्बोधन- ‘सरकारको नीति र प्रभावकारी कदमले कोरोना फैलिन पाएन’
काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकार

काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस फैलिन नपाएको बताएकी छिन्।
शक्रबार साँझ साढे ७ बजे करिब सात मिनेट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले संक्रमण सीमति भएर फैलिन नपाएको बताएकी हुन्।
उनले सतर्कता नअपनाइए कोरोनाको संक्रमण फेलिन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनुपर्ने पनि बताइन्। भावनामा बगेर होइन नभई रोगको गम्भीरतालाई मनन गर्दै रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन राष्ट्रपति भण्डारीले अपील गरेकी छिन्।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले पूरै देशमा लकडाउन गरेको बताउँदै उनले भनिन्,‘ लकडाउनले हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन्। आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कनु हुँदैन। ’
उनले आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा कोरोना रोकथाम गर्न सहज हुने पनि बताएकी छिन्।
‘हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक छ,’ उनले भनिन्,‘ विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दछु।’
उनले नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोनाविरुद्धको लडाइँँलाई सफल पार्न सहयोग गर्न आग्रह गरिन्। उनले कोरोनाबाट संक्रमित भई उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छिन्।
महामारी विरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई उनले अपील गरेकी छिन्।
राष्ट्रपति भण्डारीले गरेको सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज मानजातिले कोरोना महामारीको कारण एउटा अकल्पनीय परिस्थितिको सामना गरिरहेको छ ।
संसारका सबैजसो मुलुकहरूमा फैलिइरहेको यस महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन भने सकेन ।
यद्यपि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण देखिएको छैन ।
बाहिरबाट संक्रमित भएर आएकालाई पत्ता लगाएर उपचार गरिएको अवस्था हो ।
सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नै यो सीमित रहन गयो र फैलन पाएन ।
यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैले स्वास्थ्यमा आवश्यक ध्यान दिनु पर्दछ ।
हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आव्हान गर्दछु ।
जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको छ ।
लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन् ।
तर पनि सबैले आफ्नो मात्र होइन, आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन लकडाउनका बेलामा संयमित भएर घर बाहिर निस्कनु हुँदैन ।
आ–आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ ।
हाम्रो संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक छ ।
पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ ।
यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पु¥याएको छ ।
यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ ।
यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणा समेत गरिसकेको छ ।
यस विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनु भएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दछु ।
नेपालीहरू जो जहाँ हुनुहुन्छ यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्ने समेत अपेक्षा लिएको छु ।
विभिन्न देशमा रहनु भएका नेपालीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्दछु ।
साथै कोरोना भाइरसका विरुद्धमा जुध्न विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई धन्यवाद दिन चाहन्छु ।
रोग लाग्नै नदिनु हाम्रो प्रमुख प्राथमिकता भएतापनि रोग लागेको खण्डमा विरामीहरूको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकायहरू र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै नै अहोरात्र खटिरहनु भएको छ ।
यसका लागि सम्बन्धीत सबैको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।
यस्तो महामारीको बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीहरू लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको धैर्यताको उच्च सम्मान गर्दछु ।
तपाईँहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ ।
यतिबेला हाम्रो आकाश निर्मल र निलो देखिएको छ ।
तर नोवल कोरोनाभाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ ।
कोरोना भाइरस बिरुद्धको यस लडाइमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा म पूर्णरुपमा विश्वस्त छु ।
कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस महामारी विरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थाहरूलाई हार्दिक आह्वान गर्दछु ।
अन्तमा, सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि अवश्य विजय हासिल गर्न सकिनेछ भन्ने विश्वास सहित तपाईँहरू सबैको सुस्वास्थ्यको कामना गर्दछु ।
धन्यवाद ।
२०७६ साल चैत्र २१ गते शुक्रबार











