Kathmandu Press

गगन र प्रदीप भित्र्याउने पौडेलको इच्छामा सिटौलाको धक्का

काठमाडौं, चैत ३ : फागुन तेस्रो साता कांग्रेस  वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए– &n

गगन र प्रदीप भित्र्याउने पौडेलको इच्छामा सिटौलाको धक्का

काठमाडौं, चैत ३ : फागुन तेस्रो साता कांग्रेस  वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए–  ‘गगन थापा र प्रदीप पौडेल हामीसँगै हुनुहुन्छ, उहाँहरुको उचित व्यवस्थापन हुन्छ।’ 

अन्तरवार्तामै पौडेलको यो अभिव्यक्ति  आएपछि कांग्रेसको आन्तरिक राजनीतिमा राम्रै चर्चा परिचर्चा भयो। के गगन र प्रदीप कृष्णप्रसाद सिटौलालाई छोडेर पौडेलको क्याम्प प्रवेश गरेकै हुन त? धेरैको मनमा प्रश्न उब्जियो।

जनु, स्वभाविक पनि थियो। किनकि कांग्रेसको राजनीतिमा गगन र प्रदीप आशा गरिएका युवा नेता हुन्। पार्टीभित्र मात्रै होइन आम जनतामा उनीहरुको लोकप्रियताको ग्राफ उच्च छ।

Hardik ivf

१३ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४ औं महाधिवेशनमा पनि सभापतिका स्वभाविक दावेदार हुन्।

तर, त्यसको १५ दिन वित्न नपाउँदै सिटौलाले गगन र प्रदीप आफूसँगै रहेको र पौडेल समूहमा गइनसकेको सन्देश दिएका छन्।  सोमबार बत्तिसपुतलीमा सिटौलाले आफ्नो समूह छिन्नभिन्न नभएको संकेत दिन भेलाको आयोजना गरेका थिए। 

भेलामा गगनले ‘सिटौलाकै नेतृत्वमा आफ्नो समूहलाई अझ सशक्त बनाएर अघि बढ्ने’ उद्घोष गर्दै आफू सोही समूहमा रहेको सन्देश दिए। सोमबार गगन, प्रदीपसँगै २०० कार्यकर्ता उपस्थित गराएर सिटौलाले आफ्नो समूह एक ढिक्का रहेको सन्देश दिएका छन्। ‘तेस्रो धार’ भनेर चिनिएको सिटौला समूहले आगामी महाधिवेशनमा छुट्टै टिम बनाएर नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने संकेत पनि दिएको छ।

त्यसको प्रष्ट संकेत कार्यक्रममा नेता थापाले गरेका छन्। ‘कुनै अलमलविना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं,’ थापाले भने, ‘शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो।’

१३ औं महाधिवेशनमा सिटौला सभापतिका उम्मेदवार थिए। तेस्रो भएपछि दोस्रो चरणको प्रतिस्पर्धामा उनले देउवालाई समर्थन गरेका थिए। थापा महामन्त्रीको उम्मेदवार थिए, तर तेस्रो भए। 

अबको महाधिवेशनमा सिटौला सभापतिको सम्भवाति उम्मेदवार हुन्। केही समयअघि उनले १४ औं महाधिवेशनमा आफू  सभापतिको उम्मेदवार भएको जनाउ दिइसकेका छन्।

थापा पुनः महामन्त्रीका सम्भावित र बलिया उम्मेदवार हुन्। प्रदीप पौडेलले आफूलाई सह–महामन्त्रीको सम्भावित उम्मेदवारका रुपमा उभ्याएका छन्। 

महाधिवेशनको माथापच्ची

महाधिवेशन आउन एक वर्ष बाँकी रहँदै त्यसको रन्को कांग्रेसभित्र सुरु भइसकेको छ। यस्तो अवस्थामा कांग्रेसका तीन समूह आ–आफ्नो रणनीति बनाउन जुटेका छन्। सभापति देउवा नेता–कार्यकर्ता व्यवस्थापन गरेर थप शक्तिशाली हुँदै गएका छन्।

त्यसकै उदाहरण पछिल्लो समय उनले गरेका निर्णय हुन्। गत महिना उनले केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, विभाग प्रमुखसँगै जेष्ठ राजनीतिज्ञसभा सदस्य नियुक्त गरे। यसले अन्य पार्टीभित्रका र अन्य पार्टीबाट प्रवेश गरेकाहरुको व्यवस्थापन गरेको छ। जसका कारण देउवालाई आन्तरिक राजनीतिमा राम्रै फाइदा पुगेको छ।

यता पौडेल समूहले पनि महाधिवेशन लक्षित गतिविधि गरिरहेको छ। खासगरी सभापति देउवाका पछिल्ला निर्णयविरुद्ध पौडेल समूह केन्द्रीत बनेको छ। सभापतिका निर्णयविरुद्ध रणनीति बनाउन पौडेल समूहले गुटको भेला बोलाइरहेको छ। ती बैठक देउवालाई रोक्ने रणनीति बनाउन केन्द्रीत छन्। तर पौडेल समूहमै तीन चिरा छ।

त्यसको नेतृत्व पौडेल, शशांक र शेखर कोइरालाले गरेका छन्। र आ–आफ्नै ढंगले महाधिवेशन लक्षित रणनीतिमा उनीहरु छन्। रोचक त यो छ कि  १४ औं महाधिवेशनमा पौडेल, शशांक, शेखरसँगै गणेशमान सिंह पुत्र प्रकाशमान सिंह समेत सभापतिका आकांक्षी हुन्।

भेलामा देउवाको आलोचना

बत्तिसपुतली भेलालाई पनि सिटौलाले रणनीति बनाउन आयोजना गरेको बताइएको छ। तर, बत्तिसपुतली भेला रणनीति बनाउन भन्दा पनि सिटौलाको गुट जोगाउने र गगन–प्रदीप आफूसँगै रहेको सन्देश दिन केन्द्रीत थियो। जहाँ सिटौला आफैँले आफूहरु संस्थापन र पौडेल दुवै समूहमा नरहेको बताए।

तत्कालीन सुशील कोइराला सभापति हुँदा पौडेल उपसभापति थिए भने सिटौला मनोनीत महामन्त्री। महाधिवेशनको मुखमै कोइरालाको निधन भएपछि उनीहरु एउटै नदीका दुई किनाराझैं भए। पौडेललाई सिटौलाई स्वीकार गरेनन् र छुट्टै समूह बनाएर सभापतिमा लडे।

पछिल्लो समय सिटौला अस्वस्थ भएर उनको गुट सक्रिय थिएन। धेरैले टिप्पणी गरे– थर्ड पोल को अन्त्य भयो। गगन र प्रदीप जस्ता नेता पौडेल समूहमा आउँछन्। जसले आगामी महाधिवेशनमा पौडेललाई ठूलो फाइदा पुग्छ। तर, सबैको अनुमान बत्तिसपुतली भेलाले गलत सावित गरिदिएको छ। जसरी पौडेलले आत्मविश्वासका साथ गगनलाई अर्को समूहको भन्दै भन्दिनँ र प्रदीप पनि हामीसँगै छन् भनेका थिए। त्यसलाई बत्तिसपुतली भेलाले झुट सावित गरेको छ।

भेलामा सभापति देउवाको कार्यशैलीप्रति चर्को आलोचना भएको छ। खासगरी विभागको संयोजक तोकिएको, नवलपरासीमा सभापति तोकेको लगायतका विषयमा उनीहरुको असन्तुष्टि थियो। ‘१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्न थालिसक्यो अहिले विभाग बनाउने?,’ नेता थापाले भेलामा भने, विधानमा भन्दा धेरै विभाग किन? अहिले विभाग बनाउने कुरा गलत हो।’

उनले नवलपरासीमा पनि विधान मिचेर जिल्ला सभापति मनोनीत गरिएको बताए। तर, यसले सिटौला समूहले पौडेलको इच्छामा धक्का दिएर देउवालाई तर्साउने नीति लिएको देखाउँछ। जुन कम्तिमा आगामी महाधिवेशनसम्म जारी रहन सक्छ।
 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्