कोरोनालाई ताइवानले यसरी गर्यो परास्त
काठमाडौं, फागुन २६ : चीनको वुहानबाट फैलिएको कोरोना भाईरस विश्वव्यापी फैलिएसँगै जनमानसमा त्रास पनि बढ
काठमाडौं, फागुन २६ : चीनको वुहानबाट फैलिएको कोरोना भाईरस विश्वव्यापी फैलिएसँगै जनमानसमा त्रास पनि बढ्दै गएको छ। अहिलेसम्म ८० भन्दा बढी देशमा कोरोना भाईरसको संक्रमण देखिएको छ भने एक लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।
तर, ताइवानका वासिन्दा भने डराएका छैनन्। कोरोना भाइरसको उद्गमस्थल वुहानबाट एक हजार १० किलोमिटरको दूरीमा रहेको यहाँका वासिन्दा चीनमै जान्छन्। डिसेम्बरको अन्तिमतिर वुहानमा कोरोना भाईरस सुरू हुँदा आठ लाख ५० हजार ताइवानी चीनमै थिए। जबकी नेपालका एक सय ८५ जना विद्यार्थीलाई वुहानबाट स्वदेश फिर्ता ल्याउन ठूलो सकस भएको थियो। ताइवानको जनसंख्या नेपालकै हाराहारीमा छ।
अझ चकित पार्ने विषय त यो छ, चीनमा ८० हजारभन्दा बढी मानिसमा कोरोना भाईरसको संक्रमण देखिएको छ, तीन हजार एक सय १९ जनाको मृत्यु भएको छ। ताइवानमा भने जम्मा ४५ जनामा संक्रमण देखिएको छ र कोरोना भाईरसको संक्रमणबाट एक जनाको मात्रै मृत्यु भएको छ।
ताइवानका छिमेकी देश चीनमात्रै होइन, दक्षिण कोरिया र जापान पनि संकटनमा छन्। दक्षिण कोरियामा सात हजार तीन सय र जापानमा एक हजार एक सयभन्दा बढी संक्रमित भेटिएका छन्।
ताईवानमा न चीन र इटालीको जस्तो लाखौं मानिसलाई ‘अनिवार्य क्वारेन्टाइन’मा राख्नु परेको छ। न शहर बजार बन्द गर्नुपरेको छ, न त स्कुल, कलेज र विश्वविद्यालय बन्द गर्नुपरेको छ। नेपालमा जस्तो चाडपर्व मनाउन बन्द पनि गर्नुपरेको छैन।
क्वारेन्टाइन, आइसोलेसन वार्ड, मास्क, स्यानिटाइजर वा अन्य दैनिक उपभोग्य वस्तुको हाहाकार नै छ। यसो भनौ ताइवानका बासिन्दाले कुनै त्रास वा डर महसुस गरेका छैनन्, निर्धक्क कोरोना भाइरससँग जुधिरहेका छन्।
कारण टाइवानले चीनमा कोरोना भाईरस देखिएलगत्तै यससँग बच्ने उपायहरु अपनाउन थालिसकेको थियो। संक्रमणलाई नियन्त्रण गर्ने क्रममा ताइवानको मूख्य सफलता भनेकै यसले कोरोना भाईरसको संक्रमण भएको पुष्टि नहुँदै संक्रमण हुन नदिन सतर्कता र नियन्त्रणको उपायहरु अपनाउनु नै हो।
विज्ञहरुका अनुसार सार्ससँग लड्दा बटुलेको सिकाइ नै ताइवानलाई नयाँ भाईरस देखिए लगत्तै त्यसबाट जोगिन सिकायो। ताइवानले विश्व स्वास्थ्य संगठनको संकेतलाई पर्खेन । यसमा आत्मनिर्भर बनेको कारणले पनि समयमै कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्न सफल भएको हो।
सार्स महामारीबाट धेरै अनुभव बटुलेको ताइवानले सार्सपछि महामारीको लागि केन्द्रीय कमान्ड सेन्टर स्थापना गरेको थियो। कोरोना भाईरसको संक्रमण विकराल बन्नुअघि नै एसियाका अन्य मुलुकको तुलनामा आवश्यक सतर्कता अपनाएको ओरेगन स्टेट युनिभर्सिटीको सार्वजनिक स्वास्थ्य र मानव विज्ञान कलेजका प्राध्यापक चुनहुए चीले बताए।
सार्स महामारीपछि स्थापना गरिएको कमान्ड सेन्टरले त्यहाँका अधिकारीहरूलाई डाटा संकलन गर्न, स्रोतहरू पुनःवितरण गर्न, सम्भावित केसहरूको छानबिन गर्न र उनीहरूको सम्पर्कबारे पूर्ण विवरणहरु संकलन गर्न मद्दत पु¥यायो। जसको कारण ताइवानले संक्रमित व्यक्तिहरुको पहिचान गरी छिटोभन्दा छिटो अरुको सम्पर्कभन्दा टाढा राखेर कोरोना भाईरसको नियन्त्रण गरेको हो।
ताइवानले सार्स रोगबाट सिकेको पाठ कोरोना भाइरस सुरु हुँदै कार्यान्वयनमा ल्याइसकेको थियो। कोरोना भाईरस मानिसबाट मानिसमा सर्ने पुष्टि नहुँदै ताइवान भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गर्न थालिसकेको थियो।
जनवरीको सुरूआतदेखिनै वुहानबाट आउने यात्रुहरुको स्वास्थ्य जाँच गर्नेलगायतका सतर्कताहरु अपनाउन थालेको थियो। अन्य देशबाट आउने नागरिकमा पनि विमानस्थलमै निगरानी बढाएको थियो। हरेक विमानस्थल र नाकामा सतर्कता अपनाएको थियो। जसले गर्दा संसारभर कोरोना भाइरसले महामारीको रुप लिँदा ताइवानमा भने केही असर गरेको छैन।
ताइवानका वासिन्दा सदा झै निर्धक्क छन्। आफ्नो नियमित दैनिकी चलाइरहेका छन्। संक्रमित देखिएका बिरामीको पनि राम्रो उपचार भइरहेको छ।
नियमित चीन आवतजावत भइरहँदा पनि ताइवानमा प्रकोपको रुप लिएको छैन। संसारभर दैनिक नयाँ संक्रमित देखिँदा पनि ताइवानमा भने सुरुआतमा देखिएका बाहेक अहिले नयाँ संक्रमित देखिएका छैनन्।
बरु अहिले ताइवानले कोरोना भाईरससँग लड्न जापान, दक्षिण कोरिया, इटाली, इरानलाई सघाउँदै छ। चीनलाई त सुरुआतदेखि नै सघाइरहेको छ।
(एजेन्सीको सहयोगमा)