Kathmandu Press

राप्रपा र राप्रपा संयुक्तबीच एकता हुँदै, भोलि घोषणा

काठमाडौं, फागुन २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच अन्ततः एकता हुने भए

राप्रपा र राप्रपा संयुक्तबीच एकता हुँदै, भोलि घोषणा
फाइल फाेटाे

काठमाडौं, फागुन २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच अन्ततः एकता हुने भएको छ। लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेको थियो।

दुवै पार्टीका शीर्ष नेताहरुले एकताको मोडालिटी टुंगो लगाएका छन्। स्रोतका अनुसार भोलि शीर्ष नेताहरुले पार्टी एकताको घोषणा गर्दै छन्। ‘शीर्ष नेताहरुबीचमा सहमति जुटिसकेको छ। सम्भवतः भोलि सम्झौतापत्रमा हस्ताक्षर हुनेछ,’ राप्रपा स्रोतले भन्यो।

२०७४ को निर्वाचन र हालै सम्पन्न उपनिर्वाचनको परिणाम निराशाजनक आएपछि दुई पार्टी एक हुन लागेका हुन्। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एकता लागि शीर्ष नेताहरु सहमतिमा पुगेको पुष्टी गरे। ‘पटक–पटक एकताको प्रयास भएपनि सफल हुन सकेन। तर, बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरी यो पटक भने पार्टी एक हुने निश्चित भएको छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘शीर्ष नेताहरुबीच छलफल भइरहेको छ र करिब सहमति जुटिसकेको छ।’

Hardik ivf

यसअघि पनि दुई पार्टीबीचको एकता घोषणा गर्ने चरणमा पुगेको थियो। तर, अन्तिम अवस्थामा चुनाव चिह्नमा कुरा नमिलेपछि एकता टरेको थियो। दुई पार्टीबीच तत्काल एकता गरेर कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहोनीले एकीकृत पार्टीको नेतृत्व गर्ने सहमति यसअघि नै बनेको थियो।

एकीकृत पार्टीमा राप्रपाको ५५ प्रतिशत र राप्रपा संयुक्तको ४५ प्रतिशत सहभागिता रहने सहमति भएको थियो। यस अघि तत्कालका लागि चुनाव चिह्नको विषय थाँती राखेर महाधिवेशनमार्फत टुंग्याउने सहमति दुई पार्टीबीच भएको थियो।

राप्रपाका विभिन्न समूहबीच २०७३ फागुन ६ गते एकीकृत पार्टीको एकता महाधिवेशन भएको थियो। तर, महाधिवेशन भएको ६ महिनामै विवाद भएपछि राणा र लोहनीले पार्टी फुटाएर राप्रपा संयुक्त बनाएका थिए। त्योवेला पनि चुनाव चिह्न विवादकै कारण पार्टी फुटेको थियो।

तत्कालीन एकीकृत पार्टीका अध्यक्ष थापाले चुनाव चिह्न गाई हुने निर्णय गराएपछि राणा र लोहनीले पार्टी फुटाएका थिए। स्थापनाकालदेखि नै राप्रपामा टुटफुटको श्रृंखला चलिरहेको छ। पटक–पटक एकीकृत पार्टी बनाउने प्रयास सफल हुन सकेको थिएन्।

हाल ‘गाई’ चिह्न रहेको राप्रपाको प्रतिनिधिसभामा एक, प्रदेश सभामा तीन र स्थानीय तहमा १५ जना प्रतिनिधि छन्। २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि पूर्वपञ्चहरुले २०४७ मा राप्रपा गठन गरेका थिए। तर, पार्टी गठन हुने प्रक्रियामै पूर्वपञ्चहरु विभाजित हुन पुगेका थिए।

सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापालगायत राप्रपाको स्थापना गर्न सक्रिय थिए। एउटै पार्टी स्थापनाका लागि जुटेका उनीहरु विभाजित हुँदा २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) दुई पार्टी जन्मिए।  २९ वर्षको इतिहासमा राप्रपाको टुटफुटका श्रृंखला लामै भइसकेका छन्।

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्