Kathmandu Press

किन सधैँ विवादमा तानिन्छन् बामदेव ?

काठमाडौं, फागुन २२ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमका अनेक परिचय छन्

किन सधैँ विवादमा तानिन्छन् बामदेव ?

काठमाडौं, फागुन २२ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमका अनेक परिचय छन्। पार्टी पदाधिकारीदेखि पूर्व उपप्रधानमन्त्रीसम्म उनको नामअघि जे जोडेपनि हुन्छ। वामदेव कम्युनिष्ट पार्टीको राजनीतिमा गज्जबका पात्र हुन्।

चाहे तत्कालीन एमालेमा हुँदा होस् वा अहिलेको नेकपामा। तत्कालीन एमालेका अधिकांश विवादहरु बामदेवकै कारण निम्तिएका थिए। धेरैलाई लाग्न सक्छ, कम्युनिष्ट पार्टीको आन्तरिक राजनीतिमा विवाद निम्त्याउने पात्र उनी मात्र हुन् त? पक्कै होइनन्। विषय र परिस्थिति अनुसार अरू कारणले समेत कलह निम्तिन्छ, निम्तिएको छ।

तर, ती सबैभन्दा अघि विवादको केन्द्रमा पर्छन् बामदेव। २०५४ मा तत्कालीन एमाले फुटाएर माले गठन गर्दा होस् वा अहिले निर्वाचन हारेपछि सांसद हुँदै प्रधानमन्त्री बन्ने अभिलाषा बोक्दा। किचलो उनैले निम्त्याएका छन्।

Hardik ivf

पराजयपछि सांसद र प्रधानमन्त्री बन्ने धोको

बामदेवलाई चर्चा र विवादमा आउन शक्तिमा भइरहनु पर्दैन। कुनै न कुनै रुपमा उनी विवाद र चर्चाको घेरामा रहिरन्छन्।

राष्ट्रिय राजनीतिमा बामदेवको उदय भएको २६ वर्ष पुगेको छ। यो बीचमा उनी कहिले जोखिम मोलेर चर्चामा आएका छन् त कहिले उच्च महत्वकांक्षाका कारण। २०५० जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएपछि राष्ट्रिय राजनीतिमा बामदेवको उदय भएको हो।

त्यसयता उनी राष्ट्रिय राजनीतिमा कुनै न कुनै रुपमा चर्चाको घेरामा छन्। कम्युनिष्ट राजनीतिमा बामदेवलाई आँट भएका, जोखिम मोल्न सक्ने र महत्वकांक्षी नेताका रुपमा चिनिन्छन्। त्यही महत्वकांक्षाले उनलाई विवादमा तानिरहन्छ। त्यसको पछिल्लो उदाहरण हो, प्रधानमन्त्री पदको लालसा।

तीन पटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका बामदेवको प्रधानमन्त्री हुने सपना २०७४ को निर्वाचनले चकनाचुर पारिदियो। बर्दिया–१ बाट उनी कांग्रेसका सञ्जय गौतमसँग पराजित भए।

निर्वाचनमा हारेपनि बामदेवले अझै हार मानेका छैनन्। किनकि, उनको स्वभाव नै त्यस्तै छ। असम्भवलाई पनि सम्भव बनाउन प्रयत्न गरिरहने।

फलस्वरुप विभिन्न ठाउँका निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर निर्वाचन लड्ने तयारीदेखि राष्ट्रियसभामा गएर संविधान संशोधन गरेरै प्रधानमन्त्री बन्ने प्रयत्नसम्म उनले गरेका छन्। यसैले देखाउँछ, सत्ताप्रति उनको मोह कस्तो छ।

लोकतन्त्रमा जनता जनार्दन हुन्छन्। जनमतबाट अस्वीकृत भएपछि अर्को निर्वाचनसम्म सत्ता र शक्तिको मोह देखाउनु कुनै पनि राजनीतिज्ञका लागि सोभनीय मानिँदैन। तर, बामदेवको हकमा भने अवस्था त्यसो रहेन। प्रधानमन्त्री बन्ने सपना पाल्नु त परको कुरा राष्ट्रियसभामा लैजान उपयुक्त पात्रसमेत होइनन्, बामदेव।

यद्यपि, हालै राष्ट्रियसभाको निर्वाचनमा गोरखाबाट हारेका नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएर जितायो। टेस्टेड र जनताले अस्वीकार गरेका नेताहरुको झुण्ड देखिनुले राष्ट्रियसभाको गरिमा नै गिर्ने भएको छ। यही परिपाटी जारी राख्ने हो भने राष्ट्रियसभा नेकपाको भारदारी सभाजस्तो हुन्छ। 

‘राष्ट्रियसभा पार्टीका क्याडरभन्दा पनि विज्ञहरु रहने गरी निर्माण गरिएको हो,’ संविधानविद् भीमार्जुन आचार्य भन्छन्, ‘पटक-पटक टेस्टेड भएर जनताबाट हारेकालाई सांसद् बनाउन खोज्नु दुर्भाग्यपूर्ण छ।’

बामदेवलाई राष्ट्रियसभामा लैजाने विषयले सत्तासीन नेकपाभित्र ठूलै विवाद देखिएको छ। प्रधानमन्त्री बनाउन संविधान संशोधनको गृहकार्य गर्न बनाइएको कार्यदल भंग भएको छ। तर, राष्ट्रियसभामा बामदेव वा अर्थमन्त्री डा. युवराज खतिवडामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई सिफारिस गर्छन्? त्यो हेर्न बाँकी छ। तैपनि, डा. खतिवडा पुनः अर्थमन्त्री नियुक्त भइसकेका छन्।

बामदेवलाई सिफारिस गर्ने नेकपा सचिवालयको सर्वसम्मत निर्णय छ। तर, प्रधानमन्त्री ओली सचिवालयको निर्णय लत्याउँदै खतिवडालाई नै सिफारिस गर्नुपर्ने अडानमा छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेवलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद ‘विन विन’ को अवस्थामा पुगेको चर्चा पनि छ। तर पूर्णरुपमा  विवाद निरूपण भइसकेको छैन।

दुई अध्यक्षका कार्डले आफैँ पीडित

तत्कालीन एमालेको नवौं महाधिवेशनमा बामदेवले ओलीलाई सघाएका थिए। त्यो बेला ओली अध्यक्ष भएपछि संसदीय दलको नेता र प्रधानमन्त्री बामदेवलाई बनाउने ‘जेन्टल मेन एग्रिमेन्ट’ भएको थियो।

तर, ओलीले त्यसलाई लत्याइदिए। गत निर्वाचनमा व्यहोरेको हारलाई बामदेवले आफूलाई प्रधानमन्त्री हुनबाट रोक्न गरिएको षड्यन्त्रका रुपमा लिएका छन्। बामदेवले अहिले जसरी हुन्छ सांसद बनेर प्रधानमन्त्री हुने प्रयत्न गरिरहेका छन्।

यसले नेकपामा विवाद निम्त्यायो। अहिले नेकपामा दुई अध्यक्ष छन्। यो बेला बामदेवको काम दुई अध्यक्षलाई ‘बोक्ने र पछार्ने’ जस्तै देखिएको छ। हुन त यही प्रवृत्तिका कारण उनी आफैँ पनि दुई अध्यक्षको ‘आश्वसन र धोका’ का कारण पीडित बन्न पुगेका छन्।

राष्ट्रियसभामा जाने उनको चाहनाले मात्रै होइन, नेकपाभित्र उनकै कारण यसअघि पनि विवाद देखिएको थियो। निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर सांसद हुन बामदेवले बाँके, डोल्पा, काठमाडौं लगायतका  निर्वाचन क्षेत्रमा प्रयास गरेका थिए। उनको त्यो प्रयासको पनि चर्को आलोचना भएको थियो। 

एमाले र माओवादी केन्द्रबीचको एकतापछि पार्टीको सिद्धान्त के हुने भन्ने विषयमा विवाद थियो। खासगरी ओली पक्षधर नेताहरूले जबजको पक्षमा खुलेरै बहस गरिरहेका थिए। त्यो बेला ओली गुटमा रहेका बामदेवले दैनिक पत्रिकामै जबजका पक्षमा लेख नै लेखेका थिए। जसका कारण नेकपाको एउटा पंक्तिलाई असन्तुष्ट बनायो।

सुमधुर सम्बन्ध रहेका बेला ओलीले साउन अन्तिम साता सचिवालय बैठकमा पार्टीको विधान विपरीत उपाध्यक्ष बनाउने प्रस्ताव राखे। तर, त्यसपछि बसेको स्थायी समिति बैठकले बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई अनुमोदन गरेन। धेरैले बामदेवलाई ओलीले धोका दिएको टिप्पणीसमेत गरे। ओलीले प्रस्ताव गरेको ६ महिनापछि (माघ २०) गते केन्द्रीय कमिटीले बामदेवलाई उपाध्यक्ष बनाउने निर्णय गर्‍यो।

एमाले विभाजनका नेतृत्वकर्ता

२०५३ फागुनमा देउवासँगको गठबन्धन टुटाएर राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउन बामदेव सफल बने। उनी एमालेको नेतृत्व गर्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएर सरकारमा गए। त्योबेला उनले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई महानिरीक्षक बनाए।

उनी गृहमन्त्री हुँदा (२०५४) मा भएको स्थानीय निर्वाचनमा एमालेले ठूलो सफलता प्राप्त गर्‍यो। त्यो निर्वाचनमा कांग्रेसले ठूलो हार व्यहोरेको थियो। अहिले पनि त्यो निर्वाचनलाई लिएर कांग्रेसीहरुले टिप्पणी गर्छन्, ‘बामदेव आतंक!’

त्यही वर्ष एमाले महाकाली सन्धिको विवादमा फस्यो। महासचिव माधव नेपाल–केपी ओली भारतसँगको महाकाली सन्धिको पक्षमा थिए भने गौतमले सन्धिलाई ‘राष्ट्रघात’ भनिदिए। एमालेले सन्धिको पक्षमा बहुमतले मतदान गर्‍यो। गौतम पक्षले मतदान गरेन। सोही विवादका कारण २०५४ फागुन २१ गते बामदेवले एमाले फुटाए। र, नेकपा माले घोषणा गरेर महासचिव बने।

तर, त्यो निर्णय उनका लागि सही सावित हुन सकेन। २०५६ को आमनिर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिए। तर, सफलता पाउन सकेनन्। बामदेव नेतृत्वको मालेले एक सिट पनि जित्न सकेन। राजनीतिक जीवनकै ठूलो असफलता व्यहोरेपछि निराश बनेका उनी चार वर्षपछि एमालेमै फर्किए।

माधव नेपालको सकार ढाल्न हस्ताक्षर संकलन

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी ठूलो दल बन्यो। प्रचण्डको नेतृत्वमा सरकार बन्यो, तर लामो समय टिक्न सकेन। त्यसपछि तत्कालीन एमालेका नेता माधव नेपाल प्रधानमन्त्री बने।

केही महिनापछि नै तत्कालीन माओवादीले नेपाल सरकारलाई ‘कठपुतली’ सरकार भन्दै सडक आन्दोलन गर्‍यो। माओवादीको दबाबसँग नेपाल झुकेनन्। तर, बामदेवले आफ्नै पार्टीका प्रधानमन्त्री माधव नेपाललाई राजीनामा दिन दबाब दिन आफूनिकट ६४ जनाको हस्ताक्षर गरी पत्र थमाए।

प्रधानमन्त्रीबाट माधव नेपालको राजीनामापछि संसदमा १७ पटक भोटिङ भयो। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री चुनिन सकेनन्। त्यसपछि उम्मेदवारी फिर्ता गरी नयाँ प्रक्रिया थालियो।

तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीका उम्मेदवार बने। नेपाल–ओली खनाललाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने खेलमा लागेका थिए। तर, बामदेवले प्रचण्डसँग मिलेर खनाललाई प्रधानमन्त्री बनाए।

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्