Kathmandu Press

मिर्गाैला प्रत्यारोपणमा नेपालको फड्को

काठमाडौं, फागुन २१ : नेपालले मिर्गौला प्रत्यारोपणमा फड्को मारेको छ। २०६५ साउन २४ मा नेपालमा पहि

मिर्गाैला प्रत्यारोपणमा नेपालको फड्को

काठमाडौं, फागुन २१ : नेपालले मिर्गौला प्रत्यारोपणमा फड्को मारेको छ। २०६५ साउन २४ मा नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको थियो। 

सेवा सुरु भएको ११ वर्षपछि बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण सफल भएको छ। सेवा सुरु भएयता भीभीआईपीको मिर्गौला प्रत्यारोपणको स्वदेशमै भएको यो पहिलो पटक हो। 

प्रधानमन्त्री ओलीले २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गराएका थिए। त्यसको १२ वर्षपछि ओलीले नेपालकै अस्पताललाई विश्वास गर्दै त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको पुनः प्रत्यारोपण गराए। सामान्यतया: भीभीआईपीहरु उपचारका लागि विदेश दौडिने गर्दै आएका छन्। प्रधानमन्त्री ओली पनि यसअघि मिर्गौलामा समस्या आएपछि उपचारका लागि सिंगापुर गएका थिए।

Hardik ivf

तर, मिर्गौला प्रत्यारोपण स्वदेशमै गराएर उनले नेपालको चिकित्सा क्षेत्रप्रतिको विश्वास बढाइदिएका छन्। ओलीले भीभीआईपीहरु उपचार गराउन विदेश नै धाउनु नपर्ने र नेपालमै गुणस्तरीय चिकित्सा सेवा पाउन सकिन्छ भन्ने सन्देश दिएका छन्। 

ओलीको यो सन्देशबाट अन्य भीभीआईपीहरुले समेत सिक्न जरुरी छ। त्यतिमात्र होइन आमजनतामा नेपालको स्वास्थ्य सेवाप्रति पनि विश्वास बढाएको छ। ओलीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्दा नेपालमै मिर्गौला प्रत्यारोपण सम्भव छ भन्ने सन्देश फैलिएको छ। 

नेपालका अस्पताल पनि अन्तर्राष्ट्रियस्तरको सेवा दिन समक्ष छन् भन्ने कुराको गतिलो उदाहरण प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण सफल हुनुले देखाएको छ।

‘नेपालको मिर्गौला प्रत्यारोपणको सेवा अन्तर्राष्ट्रिय स्तरको भएको कुरामा अब शंका रहेन,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने, ‘प्रधानमन्त्रीज्यू सिंगापुर जान सक्नुहुन्थ्यो। पहिलो पटक प्रत्यारोपण गराएको एपोलो अस्पताल जान सक्नुहुन्थ्यो। तर, उहाँले नेपालकै चिकित्सक र अस्पताललाई विश्वास गरेर मिगौलाको पुनः प्रत्यारोपण गराउनु भयो। यो चिकित्सा क्षेत्रमा निकै ठूलो फड्को हो।’

प्रधानमन्त्री ओलीको मिर्गौलाको पुनः प्रत्यारोपण सफल भएपछि गम्भीर बिरामी हुँदा पनि विदेश नगएर नेपालमै उपचार गर्न सम्भव छ भन्ने गतिलो सन्देश दिएको उनले बताए। प्रधानमन्त्री ओलीले नेपालका चिकित्सकहरुको हौसला पनि बढाइदिएको उनको भनाइ छ।

मिर्गाैला प्रत्यारोपणका लागि धाउनु पर्दैन विदेश

२०६५ साउन २४ मा शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको थियो। १२ वर्षमा यसले निकै ठूलो फड्को मारेको छ। सुरुवाती चरणमा नेपाली शल्यचिकित्सक र नेफ्रोलोजिस्टहरु प्रत्यारोपणबारे अध्ययन गर्न विदेश गएका थिए। 

तर, अहिले शिक्षण अस्पताल आफैँले सात जना शल्यचिकित्सक र पाँच जना नेफ्रोलोजिस्ट उत्पादन गरिसकेको छ। अहिले नेपालमा आठ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ। यो अवधिमा करिब १५ सय जनाको मिर्गौला प्रत्यारोपण सफल भइसकेको छ। प्रत्यारोपणको सफल दर ९८ प्रतिशत छ। ती मध्ये १० जनाको दोस्रो पटक प्रत्यारोण यसअघि नै भएको थियो र शत प्रतिशत सफल भएको थियो।

यसरी दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउने मध्ये प्रधानमन्त्री ओली ११ औं व्यक्ति बनेका छन्। देशमा नै मिर्गौला प्रत्यारोपणको सेवा सुरू भएपछि बिरामीले तीन–चार गुणा बढी खर्च गरेर विभिन्न सास्ती र दुःख खेपेर भारत पुगेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। 

१२ वर्षको अवधिमा यो उपलब्धी हासिल गर्न सक्नु सकारात्मक भएको डा. काफ्लेको भनाइ छ। उनका अनुसार आगामी दिनमा नेपालमै प्रत्यारोपण गराउनेको संख्या बढ्न सक्ने छ। ‘नेपालमै मिर्गौला प्रत्यारोपण गराउनेको संख्या अब बढ्छ। अलिकता ऐनले आफन्त चाहिने व्यवस्था गरेकाले अप्ठ्यारो अवस्था देखिएको छ,’ उनले भने, ‘तर, मष्तिष्क मृत्यु भएका डोनरको संख्या बढे त्यो समस्या कम हुनेछ।’

मिर्गौला पीडितहरूको संस्था राष्ट्रिय मिर्गौला  पीडित संघ नेपालका अनुसार तीन हजारभन्दा बढी मिर्गौला रोगीले अहिले डायलासिस सेवा लिइरहेका छन्। प्रत्येक वर्ष त्यति नै संख्यामा मिर्गौला रोगी थपिने गरेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका ७२ जिल्लामा पुरुष ६.५ प्रतिशत र महिला ५.७ प्रतिशत दीर्घ मिर्गौला रोगका बिरामी देखिएका छन्।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, फागुन २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्