पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्न

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओली पुनः मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री ओली सोमबार साँझ पुनः मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौलाको पुनः प्रत्यारोपण हुनेछ।
अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप ऊर्जाका साथ काममा फर्किने बताएका छन्। उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह पनि गरेका छन्।

उनले भनेका छन्,‘ मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुस्। म केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु।’
उनले भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र छोडेर आफू अलप नहुने पनि बताएका छन्। ‘हाम्रा भर्खरै जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ उनले भनेका छन्।
प्रधानमन्त्री ओलीले संसारमा कोही पनि अजम्बरी नरहेकाले आफ्नो संकल्प अजम्बरी बन्न नभएको बताएका छन्। ‘संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन,’ उनले भनेका छन्,‘ मेरो संकल्प हाम्रा जाग्रित हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने बुझ्नु नै भएकै छ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन पनि आग्रह गरेका छन्।











