Kathmandu Press

४८ करोड डुबाएर बन्द भयो काठमाडौं-ओसाका उडान

काठमाडौं, फागुन १९ : करिब १२ वर्षपछि पुनः काठमाडौं–ओसाका सिधा उडानको सुरुआत गरेको नेपाल वायुसे

४८ करोड डुबाएर बन्द भयो काठमाडौं-ओसाका उडान
फाइल फाेटाे

काठमाडौं, फागुन १९ : करिब १२ वर्षपछि पुनः काठमाडौं–ओसाका सिधा उडानको सुरुआत गरेको नेपाल वायुसेवा निगमले ६ महिनामै उडान बन्द गरेको छ। गत भदौं १२ गतेदेखि निगमको वाइडबडी विमानमार्फत उडान भर्दै आएको निगमले शनिबार (फागुन १७ गते) अन्तिम उडान गरेको हाे।

करिब ६ महिनाको अवधिमा २ सय ७२ सिट क्षमता भएको वाइडबडी विमानले दुईतर्फी रुपमा एक सय एक पटक उडान भरेको निगमले जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार ६ महिनाको अवधिमा एयरवसले १६ हजार ९ सय ६५ जना यात्रुलाई सेवा प्रदान गर्‍याे।

Hardik ivf

‘सुरुआती चरणमा यात्रुको संख्या कम देखिएपनि पछिल्लो समय यात्रु थपिदैँ गएका थिए, तर हाम्रो क्षमताले नधान्ने देखेपछि ओसाका बन्द गरेर नारिता उडानको तयारीमा लागेका छौँ,’ उनले भनिन्।

उनका अनुसार सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडानको तयारी गरेपनि यात्रु अभावमा एक सातामै उडान घटाएर मंगलबार र शनिबारमा सिमित गरिएकाे थियो।

दुईतर्फी उडानमा झण्डै २ करोड खर्च

काठमाडौं–ओसाका–काठमाडौं (दुईतर्फी उडान) करिब १५ घन्टाको समय हो। उडानमा करिब एक करोड ९२ लाख सञ्चालन खर्च लाग्ने गरेको निगम स्रोतले जनाएको छ।

कर्पोरेट विभागका एक अधिकारीले दुईतर्फी उडानमा मात्रै करिब १ करोड १२ लाख बराबरको इन्धन खर्च हुने गरेकाे बताए। त्यस्तै ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ र चालक दलका सदस्यलाई गरि ५० लाखभन्दा बढी खर्च हुनेगरेको छ।

त्यस्तै, चालक दलका सदस्यलाई होटल खर्च ६ लाख, खाना खर्च ४ लाख र इन्जीनियरिङ र प्यासेन्जरका लागि २० लाख खर्च हन्छ।

६ महिनामा १ करोड ३४ लाख आम्दानी

एक सय एक उडान भर्दा १६ हजार ९ सय ६५ जना यात्रुबाट निगमले १ करोड ३४ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको छ।

हालसम्मको यात्रुको संख्यालाई आधार बनाउँदा दुईतर्फी रुटमा ५ सय ४४ सिट क्षमतामध्ये निगमले एक सय ६८ जना यात्रुलाई सेवा प्रदान गरेको छ।

काठमाडौं–ओसाका उडानमा दुईतर्फी उडान भाडादर ८० हजारदेखि १ लाख ७७ हजार रुपैयाँसम्म तोकिएको थियो।

न्यूनतम भाडादरअनुसार निगमले एक सय एक वटा उडान गर्दा १ करोड ३४ लाख ३७ हजार ६ सय २३ रुपैयाँ आम्दानी गरेको छ।

१० हजार सिट खाली

करिब साढे सात घण्टाको काठमाडौं–ओसाका उडानमा २ सय ७२ सिट क्षमताको एयरबस ३३० (वाइडबडी)ले एकतर्फी रुटमा ८४ जना यात्रु बोक्ने गरेको थियो।

एक पटक एकतर्फी रुटमा उडान गर्दा करिब १ सय ८८ यात्रु कम बोकेको एयरबसले ६ महिनाको अवधिमा १० हजार ५ सय ७ यात्रु कम बोकेको थियाे।

प्रति उडानमा ४८ लाख नोक्सान

क्षमताभन्दा तीन गुणा कम यात्रु बोकेको एयरबसको प्रति उडान (दुईतर्फी) ४८ लाख नोक्सान हुने गरेको देखिन्छ ।

दुईतर्फ उडानमा एक करोड ९२ लाख खर्च गर्दा निगमले १ करोड ३४ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो।

६ महिनाको अवधिमा निगमले ४८ करोड ४८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

ओसाका छोडेर नारिता उडान

करोडौँ नोक्सान भएपछि ओसाका उडान बन्द गरेर निगमले सोमबारदेखि नारिता उडान सुरु गरेकाे छ।

निगमका प्रवक्ता खड्काका अनुसार सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार वाइडबडी विमानवाट नारिता उडान हुनेछ। सुरुआती चरणमा एकतर्फी भाडादर ३७ हजार रुपैयाँ र दुईतर्फी ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ।

सोमबारदेखि काठमाडौं–नारिता उडान सुरु गरेकेा छ।

निगमले सन् १९९४ देखि सन् २००७ सम्म चीनको संघाई हुदैँ जापानको ओसाकामा साताको दुई दिन बोइङ ७५७ विमानबाट उडान गरेको थियो।

सन् २००७ बाट दुवै देशका उडान बन्द गरेको निगमले लामो दूरीमा उडान भर्न सक्ने एयरबस ३३० (वाइडबडी विमान) खरिद गरेपछि पहिला बन्द गरेका स्थानहरुमा पुनः उडान भर्ने भन्दै अनुमति माग गरेको थियो।

प्रकाशित मिति: ०९:५९ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्