छोराका लागि क्रिकेट छोड्दा...
काठमाडौं, फागुन १७ : नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले थाइल्यान्डमा छ। एसिया कप खेल्ने सपनासहित नेप
काठमाडौं, फागुन १७ : नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले थाइल्यान्डमा छ। एसिया कप खेल्ने सपनासहित नेपाली टिम बिहीबार थाइल्यान्ड गएको हो। त्यही १४ सदस्यीय टिमका एक सदस्य हुन्, भुवन कार्की।
धनगढीका २६ वर्षीय ‘अफ स्पिनर’ भुवनले सन् २०१२ मै राष्ट्रिय टिममा डेब्यू गरे। सन् २०१७ सम्म राष्ट्रिय टिममै रहे। तर, कमै मात्र अवसर पाए। त्यतिखेर शक्ति गौचन र बसन्त रेग्मीको दबदबा थियो। त्यसैले भुवनले राष्ट्रिय टिममा पर्याप्त अवसर पाएनन्। सन् २०१७ मा एसीसी इमर्जिङ टिम्स कप खेलेसँगै भुवन पारिवारिक समस्या र चोटका कारण राष्ट्रिय टिमबाट बाहिरिए।
शक्ति र वसन्त दुवै राष्ट्रिय टिमबाट बाहिरिएको तीन वर्षपछि भुवनले राष्ट्रिय टिममा ‘रि–इन्ट्री’ गरेका छन्। सन् २००७ देखि नेपालको जर्सी लगाउन थालेका उनले यो तीन वर्षमा चोटलाई जिते, निकै महेनत गरे र नेपालको जर्सी पुनः लगाउन सफल भए।
तीन वर्षपछि सुनौलो मौका पाएका भुवनसमक्ष टिमलाई एसीसी इस्टर्न रिजन टि–२० कप च्याम्पियन बनाउने जिम्मेवारी त छँदै छ, सँगै पुनरागमनलाई सफल बनाउँदै टिममै रहिरहने चुनौति पनि छ। पहिले शक्ति र वसन्तसँग टिममा स्थान बनाउन ‘फाइट’ गरेका भुवनले अब सन्दीप लामिछाने, सुशन भारी, ललित नारायण राजवंशीजस्ता युवा प्रतिभासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
शक्ति र वसन्तजस्ता ‘लिजेन्ड’हरू नेपाली टिममा नभए पनि प्लेइङ सेटमा स्थान बनाउन सहज नभएको भुवनले पनि बुझेका छन्। ‘टिममा शक्ति र बसन्त दाइहरू त हुनुहुन्न, तर पनि टिममा पर्न गाह्रो छ। प्रतिस्पर्धा बढेको छ,’ भुवन भन्छन्, ‘थुपै्र नयाँ ट्यालेन्ट आएका छन्, त्यसैले कडा मेहनत गर्नुपर्छ, गरिहेको छु, गरिरहनेछु। टिममा रहिरहन सहज छैन। एक दुई म्याच नराम्रो हुनेबितिक्कै टिममा रहिरहन गाह्रो हुन्छ।’
पीडादायी तीन वर्ष
बंगलादेशमा सन् २०१७ मा एसीसी इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध खेलेसँगै भुवन राष्ट्रिय टिमबाट बाहिर रहे। सुरूमा उनी पारिवारिक समस्याका कारण क्रिकेटबाट टाढिए। त्यसपछि उनलाई चोटले सतायो। यो तीन वर्ष निकै पीडादायी भएको भुवन बताउँछन्।
‘ग्राउन्डबाहिर बसेर क्रिकेट हेर्नु साह्रै पीडादायी हुनेरहेछ,’ यति भनिनसक्दै भुवनको स्वर मधुरो भयो। उनको अनुहारमा त्यो पीडा प्रष्टै झल्किन्थ्यो। उनले छेउमै रहेको जगबाट गिलासमा पानी हाले र एक घुट लगाए। ‘राम्रो गरिरहेकै वेला टिम छाड्नुपर्यो। बंगलादेशबाट फर्किएको केही समयपछि बुबा बनेँ। परिवारलाई समय दिनुपर्ने भयो,’ भुवन भन्छन्, ‘केही समयपछि क्रिकेटमा त फर्किएँ, तर चोट बोक्न पुगेँ। चोटकै कारण एकवर्ष मैदान जानै सकिनँ।’
पछिल्लो एक वर्षयता भुवनले एक्लै अभ्यास गरे। घरेलु प्रतियोगिताहरू खेले। दोस्रो संस्करणको पोखरा प्रिमियर लिग उनका लागि पुनः राष्ट्रिय टिमको ढोका खोल्ने खुड्किलो बन्यो। चितवन राइनोजलाई च्याम्पियन बनाउन भुवनको उल्लेख्य भूमिका रह्यो।
तीन वर्ष टिमबाहिरको बसाइले आफूलाई थप परिपक्व र बलियो बनाएको अनुभव भुवनले गरेका छन्। ‘यो तीन वर्षमा मलाई फिल भयो, क्रिकेटबिना मेरो जीवन शून्य छ। त्यसैले एक वर्ष निकै मेहनत गरेँ। त्यही मेहनतले राष्ट्रिय टिममा पुनरागमन गरेको छु। त्यो तीन वर्षको पीडालाई शक्तिका रुपमा लिएको छु,’ भुवन भन्छन्, ‘यसबीचमा धेरैले भुवन हरायो भन्ने पनि सोच्नु भयो होला, क्रिकेट मेरो प्राण हो। कसरी क्रिकेटबाट टाढा रहन सक्छु?’
उनी खेलाडी टिममा आउने जाने क्रम चलिरहने बताउँछन्। ‘भुवन हराएको छैन। थप बलियो र निखारिएर आएको छ। खेलाडीको जीवनमा टिममा आउने जाने क्रम चलिरहन्छ। फर्ममा हुँदा पनि टिम कम्बिनेसनका कारण बाहिर रहनुपर्छ, त्यो सामान्य हो,’ भुवन भन्छन्, ‘भुवनले क्रिकेट छाड्नै सक्दैन। जीवन रहेसम्म क्रिकेटमै हुन्छु।’
राष्टिय टिमको संघर्षपूर्ण यात्रा
भुवनले घरेलु मैदानबाटै राष्ट्रिय टिमको यात्रा सुरु गरे। त्यो थियो एसिसी यू–१५ एलिट कप । जिल्ला र क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शनपछि उनले राष्ट्रिय टिममा स्थान बनाएका थिए। भुवनको क्रिकेट करिअर सुरु भएको १३ वर्ष भयो, यसबीच उनले थुप्रै उतारचढाव भोगेका छन्।
सन् २००७ मा घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय खेलिरहेका भुवनले डेब्युलाई यादगार बनाए। ओमानविरुद्धको प्रतियोगिताको पहिलो खेल निकै प्रतिस्पर्धात्मक बन्यो। त्यतिबेला नेपाली टिमको कप्तानी पृथु बाँस्कोटाले गरिरहेका थिए। अन्तिम ओभरमा ओमानलाई जितका लागि दुई रनमात्रै चाहिएको थियो। नेपाल पहिलो खेलमै हार नजिक थियो। नेपाललाई हारबाट जोगाउने जिम्मा पाए, भुवनले।
अन्तिम ओभर भुवनले गज्जब बलिङ गरे। उनले मेडन ओभर गरे, हारको नजिक पुगेको नेपाललाई जित दिलाए। ‘पृथु दाइले विश्वास गर्नुभयो र मेरो हातमा बल थमाउनु भयो। क्रिजमा जमिसकेका ब्याट्सम्यान थिए, मैले आफ्नो लाइन र लेन्थमै बलिङ गरेँ,’ भुवनले १३ वर्षअघिको त्यो ओभर सम्झिए, ‘सुरुआती दुई बलमा ब्याट्सम्यान बिट भए। त्यसपछि खेल जित्न सकिन्छ भन्ने लाग्यो। नभन्दै हामीले खेल जित्यौं।’
डेब्यूमै भुवन आफ्नो छाप छोड्न सफल भए। ओमानविरुद्धको त्यो इनिङलाई भुवन पनि जीवनकै उत्कृष्ट इनिङ मान्छन्। त्यसपछि भुवनले यू–१७, यू–१९ टिममा नेपालको प्रतिनिधित्व गरे। सन् २०१२ मा अस्ट्रेलियमा यू-१९ विश्वकप पनि खेले।
विश्वकपमा भुवनले उत्कृष्ट प्रदर्शन गरे। विश्वकपकै प्लेट च्याम्पियनसिपमा नामिबियाविरुद्ध पाँच विकेट लिँदै प्लेयर अफ दी म्याच बने। त्यही प्रदर्शनले भुवनलाई राष्ट्रिय टिमसम्म डोहोर्यायो। त्यसपछि पनि भुवनले उमेर समूहका प्रतियोगिता खेले । र, २०१३ र २०१४ मा यू-१९ टिमको कप्तानी गरे।
युगान्डाविरुद्धको त्यो फाइनल
उमेर समूहमा डेब्यूमै चम्किएका भुवनको सिनियर टिमको डेब्यू भने सुखद् भएन। यू-१९ विश्वकप लगत्तै भएको एसिसी एलिट कपमार्फत उनले राष्ट्रिय टिममा डेब्यू गरे। दोस्रो खेलमा कुवेतविरुद्ध भुवन टिममा परे, तर उनको बल र ब्याट नै चलेन। भुवन विकेटविहीन बने। पारस खड्काले शतक बनाएको त्योे खेल नेपालले चार विकेटले गुमायो।
‘म डेब्यूमा भन्दा पारस दाइको शतकमा रमाएको थिएँ। त्यतिखेर नेपाली ब्याट्सम्यानले शतक बनाउनु एकदमै ठूलो थियो। अहिले पनि बिरलै शतक बन्छ,’ भुवन भन्छन्।
सन् २०१२ पछि एकै पटक भुवन २०१४ मा डिभिजन–३ मा राष्ट्रिय टिममा परे। अधिकांश खेल बेन्चमै बसे। प्रशिक्षक पुबुदु दासनायकले युगान्डाविरुद्धको फाइनलमा प्लेइङ सेटमा राखे। त्यतिखेर खुशीसँगै अचम्मित भएको भुवन बताउँछन्।
भुवनले प्रशिक्षकको विश्वासलाई खेर जान दिएनन्। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए र नेपाललाई डिभिजन–३ को च्याम्पियन पनि बनाए।
त्यसपछि पनि भुवनले एकाध खेलमा मात्र अवसर पाए। ‘त्यतिखेर शक्ति र बसन्त दाइहरूको समय थियो। उहाँहरु उत्कृष्ट फर्ममा पनि हुनुहुन्थ्यो। त्यसैले त्यति अवसर पाइनँ, पालो आएको वेला पारिवारिक समस्याले खेल्न पाइनँ,’ भुवन भन्छन्। टिम कम्बिनेसनका कारण पनि आफूले पर्याप्त अवसर नपाएको भुवनको भनाइ छ।
काठको ब्याट र मोजाको बल
भुवन धनगढीमा जन्मिए। निम्नमध्यम वर्गीय परिवारका भुवनले सानैदेखि आमाबुबालाई घरखेत, मेलापातमा सघाए। भारतीय सिमानामै जोडिएको गाउँ भएकाले भुवनलाई सानैदेखि क्रिकेटले तान्यो।
‘स्कुलबाट आयो, घरको सबै काम सक्यो, अनि काठको ब्याट र बल बोकेर क्रिकेट खेल्न कुद्यो,’ भुवनले बाल्यकाल सम्झिए। क्रिकेटप्रतिको लगावकै कारण स्कुलको पूरै कक्षा कहिल्यै नलिएको उनी बताउँछन्। भुवन भन्छन्, ‘हाफ टाइमसम्म पढेपछि प्राक्टिसका लागि जान्थेँ। सरहरूले पनि राम्रो गर भनेर हौसाला दिनुभयो।’
परिवारको सहयोगले खेती–किसानी गरेर पनि खेलाडी बन्न सकेकोमा भुवन आफैंमाथि गर्व गर्छन्। धनगढीको त्यो फुच्चेलाई यही क्रिकेटले नै भुवन कार्की बनाएको उनी बताउँछन्।
शारीरिक र मानसिक रुपमा तयार
भुवनले नेपालका लागि क्रिकेट खेल्न थालेको १३ वर्ष भयो। ‘देशका लागि खेल्न पाउनु मेरो सौभाग्य हो, कमैले मात्र यस्तो अवसर पाउँछन्, त्यसअर्थमा आफूलाई भाग्यमानी ठान्छु,’ भुवन भन्छन्, ‘क्रिकेट करिअरमा धेरै उतावचढाव भोगेको छु। अहिले फेरि अवसर पाएको छु, त्यसलाई सदुपयोग गर्छु।’
तीन वर्षपछि राष्ट्रिय टिममा मौका पाएका भुवन चुनौति सामना गर्न आफू तयार रहेको बताउँछन्। ‘ढिलै भए पनि फेरि अवसर पाएको छु, यो गोल्डेन चान्सलाई खेर जान दिन्नँ। यसलाई सदुपयोग गर्न शारीरिक र मानसिक दुवै रुपमा तयार छु,’ भुवन भन्छन्, ‘विगत तीन वर्ष कसरी बिताएँ, त्यो सबैलाई देखाउनु छ।’