नयाँ वर्षको पहिलो साता बजार के होला?
काठमाडौं, वैशाख १ : गत साता नेप्से परिसूचक ११६५ दशमलव २० विन्दूमा खुलेको थियो भने ११९७ दशमलव ८० को इन्ट्राडे उच्च विन्दूसम्म पुगेको थियो। न्यून व....
काठमाडौं, वैशाख १ : गत साता नेप्से परिसूचक ११६५ दशमलव २० विन्दूमा खुलेको थियो भने ११९७ दशमलव ८० को इन्ट्राडे उच्च विन्दूसम्म पुगेको थियो। न्यून विन्दू ११७४ दशमलव ८० थियो र बजार ११८४ दशमलव ०२ मा बन्द भएको छ। यो अघिल्लो साताभन्दा १८ दशमलव ८२ अंक अर्थात १ दशमलव ६२ प्रतिशतको वृद्धि हो। गत साता २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।
प्राविधिक विश्लेषण :
चित्र नं १ : गत वर्ष (२०७५) को दैनिक मैनबत्ती प्रवृत्ति
गत वर्षमा बजारको उतारचडाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको १ वर्ष समयावधिको दैनिक मैनबत्तीहरु प्रयोग गरिएको छ। गत वर्ष वैशाख २ गते ११७७ दशमलव ५५ मा बजार खुलेको थियो भने गत वर्षमा १४६१ दशमलव २१ को इन्ट्राडे उच्च विन्दूसम्म पुगेको थियो।
इन्ट्राडे न्यूनतम विन्दू १०९८ दशमलव ९५ मा रहेको थियो। यो वर्ष अघिल्लो वर्षभन्दा ९६ दशमलव १३ अंक अर्थात ७ दशमलव ५० प्रतिशतको गिरावट देखिएको छ।
गत वर्ष पनि नेप्से घट्दो प्रवृत्तिमा रहेको र हाल मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। नेप्सेको प्रवृत्तिले फलिङ वेजेजको आकृति बनाएको देखिन्छ।
यो आकृतिले बजार बढ्न सक्ने सम्भावना देखाएपनि बजार माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहेमा मात्र बजार बढ्न सक्ने संकेत गर्दछ। हाल बजार माथिल्लो प्रवृत्ति रेखा अर्थात मुख्य प्रतिरोध क्षेत्रलाई परीक्षण गरिरहेको देखिन्छ।
चित्र नं.२ : २ महिना समयावधिको दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, दुई महिना समयावधिको दैनिक मैनबत्ती चार्टको हो। यसको प्रवृत्तिले गत महिना नेप्सेले ११०० मा टेवा प्राप्त गरेपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। हाल बजार ११७५ देखि १२०० क्षेत्रको मुख्य प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
२१ र ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले केही समयका लागि आपूर्तिभन्दा माग बढी हुन सक्ने संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६६.२० अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। डाइरेक्सनल मुभिङ्ग एभरेजले बजारमा क्रेताहरुको चाप बढी रहेको जनाएको छ। अन्तिम चार दिनका मैनबत्तीहरुले बजारमा लगानीकर्ताहरु हाल अन्योल अवस्थामा रहेको देखिन्छ।
निष्कर्ष : नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार गत पाँच सातादेखि बढ्दो प्रवृत्तिमा रहेपनि हाल मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरिरहेको देखिन्छ। त्यसैले यदि बजार चित्र नं. २ मा देखिए बमोजिम माथिल्लो प्रवृत्ति रेखाभन्दा माथि स्थिर रहन सकेमा बजार अझ सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ। अर्को तत्कालिन प्रतिरोध १२३० मा रहेको देखिन्छ। नेप्सेको सामान्य टेवा ११७५ र ११६० मा रहेको देखिन्छ।