इजिप्टका राजाको पुर्नजन्म र कम्युनिस्ट प्रधानमन्त्रीको केक
ईसापूर्व ३०० मा एउटा शासकले सुरू गरेको जन्मदिन मनाउने परम्परा सन् २०२० मा अर्का शासकले आफ्नो जन्मदिन मनाउँदा देशको नक

ईसापूर्व ३०० मा एउटा शासकले सुरू गरेको जन्मदिन मनाउने परम्परा सन् २०२० मा अर्का शासकले आफ्नो जन्मदिन मनाउँदा देशको नक्सा अंकित केक काट्ने अवस्थामा आइपुगेको छ। ईसापूर्व ३०० मा इजिप्टमा फिरौन नामका राजाको राज्य भिषेकका दिन उनको जन्मदिन मनाइएको थियो। त्यहिँबाट जन्मदिन मनाउने परम्परा सुरू भएको हो।
तर, फिरोनको वास्तविक जन्मदिनका दिन भने जन्मोत्सव मनाइएको थिएन। त्योवेला इजिप्टमा राजालाई भगवानको रुपमा लिइन्थ्यो। सोही कारण फिरोन राजा बनेपछि भगवानको रुपमा उनको जन्म भएको भन्दै जन्मदिन मनाइएको थियो। तर, आधुनिक जन्मदिनको केकको आविष्कार भने जर्मन बेकर्सले गरेका हुन्। त्यसपछि नै जन्मदिन मनाउँने र केक काट्ने प्रचलन सुरू भएको हो।
वितेका केही वर्षयता नेपालीमा पनि जन्मदिन मनाउने प्रचलन ब्यापक बनेको छ। प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना आदनप्रदान गर्ने मात्रै होइन, केक काट्ने र पार्टी दिने चलन खासगरी शहरी क्षेत्रमा झाँगिएको छ।
मुलुक अहिले जन्मदिनको चर्चाले तात्तिएको छ। हिजो (आइतबार) प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन। र, आज उनले राजसी ठाँटमा मनाएको जन्मदिन र काटिएको ‘केक’को चौतर्फी चर्चा र आलोचना। धेरैले भनेका छन्–ओलीले सामन्ती ढर्रा देखाए, नेपालको नक्सा अंकित केक काटेर देशकै अपमान गरे। ओलीले जन्मदिन मनाउनै हुँदैन थियो भन्ने होइन। मनाए सकियो। तर, जन्मदिनका नाममा उनले देखाएको तडकभड र केकका नाममा काटिएको देशको नक्साका कारण आलोचना चुलिएको छ।
हो, देशका प्रधानमन्त्रीको दीर्घायु होस्, देश र जनताको हितमा राम्रो काम गरुन भनेर कसले कामना गर्दैन होला र? जनता माझ आफूले गरेको बाचा नभुलेका भए, जनजीविकाका मुद्दा सम्बोधन गर्न सकेको भए र एकपछि अर्को विवादमा नफसेको भए उनको जन्मदिन सिंगो देशले मनाउने थियो। देशका प्रधानमन्त्रीको जन्मदिनमा जनता झुम्ने थिए, रमाउने थिए। तर, उनको जन्मदिनमा जुन ढर्रा र सभ्रान्तशैली देखियो, धेरैको प्रश्न त्यसमै छ।
एकपछि अर्को काण्ड घटिरहेकावेला हेलिकप्टर चार्टर गरेर लगिएको नेपालको नक्सा अंकित केक काट्दा उनको मन कुँडिनुपर्ने हो। समान्य नागरिकका लागि नै देशको नक्सा भएको केक काट्न संकोच हुन्छ। कताकता देशभक्ति जागेर आउँछ, उसका हात काम्लान्। तर, देशको बागडोर सम्हालेका व्यक्ति त्यसमाथि कुनैवेला राष्ट्रवादका ‘मसिया’का रुपमा परिचत ओलीले गरेको यस्तो हर्कतले कुन नेपालीको मन नदुखेको होला र? सिवाय हनुमान बाहेक।
अझ गोकर्ण रिसोर्ट, नेपाल ट्रस्टका सम्पत्ति यती समूहलाई कौडिको भाउनमा सुम्पिनु, पाथिभराको जग्गा, शिवपुरीको जंगल प्रकरणहुँदै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा समेत जोडिएर सरकारको बदनाम गराएको यती समूहले हेलिकप्टरमा लगिदिएको केक काट्न ओलीले कुनै संकोच मानेनन्, उनका हात कामेनन्।
भर्खरै दाहिने हात मानिएका गोकुल बास्कोटा ७० करोड घुस काण्डमा फसेर आलोचना बढेकावेला नेपालकै नक्सामा चक्कु चलाउन पक्कै अप्ठ्यारो महसुस हुनुपर्ने हो। तर, उनलाई उडन्ते सल्लाह कसले दिन्छ? उनले जानेर गरे वा कसैले सल्लाह दिए, तर जे भयो राम्रो भएन।
धेरैलाई लाग्न सक्छ, यस्तो प्रचलन अरु देशमा पनि छ। हुन त सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि प्रधानमन्त्री ओलीका सल्लाहकारले नै यही तर्क प्रस्तुत गरेर प्रतिरक्षा गरिरहेका छन्। तर, अरुले ‘घोडा चढे भनेर, आफू धुरी चढ्ने’ रौस हाम्रा प्रधानमन्त्रीलाई कम्तिमा आउन नपर्ने हो। बालुवाटारमा बिहान केक काटेर जन्मस्थान पुगेका ओलीलाई बडेमानको केक काट्नुपर्ने के भाउँतो आइलाग्यो? पक्कै यती समूहले प्रधानमन्त्री ओलीलाई उपहारस्वरुप हेलिकप्टरमार्फत लगेको १५ केजीको केक काटिएको थियो।
यती समूहका थुप्रै काम गरिदिएवापत अनुग्रहित बनेर लगिदिएको केक ओली काट्दैमा पनि बिग्रने केही दिएन। तर, नेपालको नक्सा देखिपछि कम्तिमा प्रधानमन्त्रीको हैसियतले म यस्तो केक काट्दिन भन्न ओलीले सक्नुपथ्र्यो। हुन त, अनेक प्रकरणमा यतीको लाचार छायाजस्तो देखिएको सरकारका नेतृत्वकर्तालाई तेह्रथुममा पनि त्यस्तै अनुभूति भएको हुनुपर्छ। र, त चुपचाप काटियो केक।
केक काटेर जन्मिदिन मनाइरहँदा प्रधानमन्त्री ओलीले आफैले हस्ताक्षर गरेर नेता–कार्यकर्तालाई पठाएको नेकपाको आचारसंहिता पनि उलंघन गरे। नेकपाले आफ्ना नेता–कार्यकताका नाममा सर्कुलर जारी गर्दै भोजभतेरलाई तडकभडकपूर्ण नबनाउन निर्देशन जारी गरिरहँदा पार्टीका अध्यक्ष नै त्यसको उल्लंघन गर्न तत्पर देखिएका छन्।
नेकपाको आचारसंहितामा जन्मदिन ब्रतबन्ध पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा सीमित गर्नुपर्ने उल्लेख छ। ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ आचारसंहितामा भनिएको छ। तर, एक महिना नपुग्दै अध्यक्ष ओलीले नै आचारसंहितको धज्जी उडाए।
प्रधानमन्त्री ओली आफैंले आफूलाई सर्वज्ञानी सम्झन्छन्। साहित्य, गीत–संगीतमा त झन् उनको गहिरो लगाव छ। चन्द्रागिरीमा पुगेर उनले कविता नै लेखेका थिए, ‘म मरेपनि मेरो देश बाँचिरहोस्।’ हालै बालुवाटारमा सारंगी रेटेका र बासुँरी बजाएका प्रधानमन्त्रीले तेह्रथुम पुगेर किन याद गरेनन्, ताप्लेजुङका मनोज गजुरेलको यो गीतका हरफ, ‘जन्मदिनको केक जस्तो होइन मेरो देश, चट्ट काट्यो बाँडी खायो पहाड, मधेस!’












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)