गाउँका भान्छामै पुगेर ६ सय रैथाने परिकारको रेसिपी
काठमाडौं, फागुन ५ : मुस्ताङको लौरीकोट गाउँमा पुग्दा बुढी आमाले छुट्टाछुट्टै भुटेर दिएको च्यांग्राको
काठमाडौं, फागुन ५ : मुस्ताङको लौरीकोट गाउँमा पुग्दा बुढी आमाले छुट्टाछुट्टै भुटेर दिएको च्यांग्राको कान, जिब्रो, टाउँको मासुकाे परिकार प्रेमलाल तामाङ घिसिङलाई असाध्यै स्वादिलो लाग्यो। उनले मनमनै सोचे, ‘ए, मासुको परिकार त यसरी पनि खान सकिँदोरहेछ नि!’
मुस्ताङको आमैको हातबाट पाएका खानेकुराको स्वादले उनलाई काठमाडौंमा बसिरहँन दिएन्। विदेशी खानेकुराको परिकार बनाइरहँदा उनको मनले भन्न थाल्यो, ‘देशभर कत्ति थरी स्थानीय खानेकुरा पाक्छन् होला, कति स्वादिला होलान!’
आफूले होटलभित्र जत्ति नै थरीका परिकार बनाएपनि र अन्य रेस्ट्रराँमा गएर जत्ति नै पाककलापूर्ण हातले बनेको खानेकुरा खाँदा पनि मुस्ताङको स्वादलाई बिर्साउन सकेन। यसो भनौ घरमा पाक्ने खानेकुराको स्वाद उनले होटल र रेस्टुराँमा भेट्टाउन सकेनन्। अझ आमाले पकाएर दिएको कोदाको रोटी र चामलको पिठोबाट बनेको प्वाँको स्वादको तिर्सना जगाइदियो।
अनि त उनी रैथाने स्वाद खोज्दै देशदौडाहमा निस्के। ‘रैथाने खानेकुराको भण्डार पत्ता लगाउन मन लाग्यो,’ कलेजका विद्यार्थीलाई कुक प्रशिषण दिँदै आएका प्रेमलाल भन्छन्, ‘विभिन्न जातजाति र समुदायको भान्छाको स्वाद लिन गाउँगाउँ पुगेँ।’ उनी काठमाडौंको तीनकुनेस्थित आईएसएमटी कलेजमा बीएचएम पढाउँछन्।
पढाउने क्रममा उनको पाठ्यक्रममा जहिल्यै विदेशी खानाका परिकार मात्रै हुन्छन्। एक दिन मन लाग्यो, नेपाली खाना किन नराख्ने? नेपाली रैथाने खानाको पुस्तक तयार पार्न उनी चर्चित ढुंगेल, सन्तोष सिटौला र अनिल हुमागाईसँगै मुस्ताङ पुगेका थिए। मुस्ताङमा चाखेको स्वादले देशभरि घुम्न थप उत्साहित बनायो।
देश दौडाहका क्रममा उनले गाउँका भान्सासँग मितेरीमात्रै गाँसेनन्, स्वाद पनि चाखे। दाङमा पुग्दा उनले कहिल्यै नचाखेको मुसाको मासुको स्वाद निकै भिन्न र मिठो हुने थाहा पाए। ‘मुसाको स्वाद त गज्जबै हुँदोरहेछ,’ प्रेमलाल सुनाउँन्।
धान पाकेको याममा मुसाले चोरेर लगेको धानकै सहायताले मुसा मार्ने कला देख्दा उनी अचम्मित बने। त्यसमा पनि पकाउने तरिका र पाहुनालाई गरिने सत्कारले लोभ्यायो। ‘मुसा खाँदा बट्टाई चराको मासु खाएको अनुभूति भयो,’ प्रेमलाल दाङ यात्रा स्मरण गर्दै भन्छन्, ‘घुंगीको परिकार त झन मिठो। अहिले बोल्दा पनि जिब्रोमा स्वाद आउँदैछ।’
उनले चौरासी व्यञ्जन शब्दको उच्चारण त धेरै पटक सुनेका थिए। तर, वास्तवमा चौरासी व्यञ्जन भनेको के हो भन्ने कुरा सुदूपश्चिम पुगेपछि थाहा पाएको बताउँछन्। ‘चौरासी व्यञ्जन मात्रै होइन, कुन खाना कत्ति बेला खाने? कत्ति खाने? कसरी खाने? दार्चुला पुगेर सिकेँ,’ उनी भन्छन्।
दार्चुला यात्राको अर्को रोचक पक्ष मोहीमा पकाएको परिकार हो। बच्चालाई दूधमा चामल पकार खुवाएको देखेका थिए। दार्चुलामा मोहीमा चामल पकाएर खुवाएको देख्दा चकित परेको उनी सुनाउँछन्। दार्चुला यात्रा सम्झिँदै प्रेमलाल भन्छन्, ‘नेपाली स्वाद नेपालीलाई नै थाहा रहेन्छ।’
असोज १३ गते झापाको बिर्तामोडबाट सुरू भएको उनको यो यात्रा पुष २४ गते काठमाडौं पुगेर टुङ्गिएको थियो। उसो त उनी आफू पनि थरिथरि विदेशी परिकार पकाउन सक्छन र पकाउँछन् पनि । तर, नेपालका विभिन्न स्थानमा भेटेका रैथाने स्वादले भने लोभ्यायो।
हरेक ठाउँ र समुदायमा बन्ने परिकारले एउटा छुट्टै मौलिकता बोकेको उनी बताउँछन्। ‘यि परिकारलाई विदेशसम्म पहिचान गराउँन जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनी भन्छन्।
दोलखाको दुधपोखरीमा जन्मिएका प्रेमलाललाई यात्राको क्रममा कुनै परिकार ‘खाऊँ कि नखाऊँ’ पनि लागेको थियो। तर, त्यो खानाको स्वाद कस्तो हुन्छ भनेर अरुलाई पनि बताउनु पर्ने भएकाले सबै स्वाद चाखेको उनी बताउँछन्। ‘जति भेटाएँ, सबै स्वाद चाखेँ,’ प्रेमलाल भन्छन्।
पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म तीन महिने यात्रामा हिमाल, पहाड र तराईका सबै ठाउँ पुगे। यो एक सय एक दिनमा देशका ६५ जिल्लाका ३५ समुदायको भान्छामा पुगे। त्यहाँ पाकेका ६ सय रैथाने खाना चाखेँ। ‘सबैको स्वाद बेग्लाबेग्लै छ, मिठो पनि छ,’ उनी भन्छन्।
सोलुखुम्बु र जुम्लाको यात्राबाट फर्किदा भने उनको मनमा डर लागेको थियो, कतै यहाँको स्वाद बिर्सि पो हाल्छु की भनेर। किनकि, उनी त्यो क्षेत्रमा एउटा गाउँबाट अर्को गाउँ पुग्न १८ घन्टासम्म हिडेका छन्। हिड्दा थकिँत हुन्थे, स्वाद त के आफैलाई पनि बिर्सेजस्तो हुन्थ्यो। ‘लामो पैदल यात्रा गरेर थाकेको हुन्थेँ। कतिवेला गाउँ आउला भन्ने हुन्थ्यो,’ प्रेमलाल हिमाली र पहाडी क्षेत्रको यात्रा स्मरण गर्दै भन्छन्, ‘जब अर्को गाउँ पुगेर भान्छामा छिर्थे मनै हरर हुन्थ्यो। थकान हराउँथ्यो, नयाँ रैथाने स्वादले उर्जा आइहाल्थ्यो।’
सोलुखुम्बुमा राई र किराँती समुदायको विशेष खानेकुरामा पर्ने वाचिपा (किनेमा) को स्वाद संसारलाई नै चकित बनाउने खालको रहेको उनी सुनाउँछन्। ‘त्यो त पौष्टिकयुक्त पनि हुँदोरहेछ,’ उनी भन्छन्।
यो यात्राको दौरन उनलाई पोलिरहेको एउटै विषय हो, स्थानीय समुदायले रैथाने खानेकुरा छोडेर फास्टफुड खाने गरेको। विशेष गरेर विदेशी खानेकुरामा जोड गरेको देख्दा नरमाइलो लागेको उनी सुनाउँछन्।
त्यो शहरमा मात्रै होला भन्ने सोचेका उनी गाउँमा पनि उस्तै अवस्था रहेको बताउँछन्। ‘स्वास्थ र विज्ञानसँग मेल खाने नेपाली रैथाने परिकारलाई आफ्नो ब्रान्ड बनाउन नसक्दा विदेशी खानेकुराले लठ्याइरहेका छन्,’ उनी भन्छन्। उनी यसको ज्वलन्त उदाहरण दिन्छन्, कोरियामा बनेको छ्याङ। जुन नेपाली बजारमा अत्यधिक बिक्री भइरहेको छ।
यतिवेला भने उनी रैथाने नेपाली परिकारको रेसिपी तयार पारेका छन्। आफ्नै खेतबारीमा उब्जेको अन्नलाई ढिकि, जाँतो, खल, सिलौटामा पिसेर बनाइने परिकारको स्वाद र विदेशबाट आयातित प्याकेटबाट बन्ने खानाको भन्दा राम्रो र स्वस्थकर हुन्छ भन्ने देखाउन लालयित छन्।
यसका लागि उनी मौलिक खानाको किताब तयार पार्ने योजनामा छन्। किताबसँगै ६५ जिल्लामा भेटेका ६ सय स्वादलाई एउटै भान्छामा तयार पार्ने योजनामा छन्। त्यसको मेन्यू बनाइरहेका छन्।
यसका लागि उनलाई सोलखुम्बुमा स्थानीय वासिन्दाको एउटा भनाइले घचघच्याइरहेको छ। एउटा घरमा बास बसेर अर्को बिहान अर्को गाउँ जादै गर्दा त्यो घरकी आमाले भनेकी थिइन, ‘कति आए, गए। शहरबाट आएर गएकाहरु अर्को पटक फर्केर आएनन्। तपाईहरु आउनु होला है, खानाको स्वाद चाख्न।’
प्रेमलाललाई पनि त्यस्तै लाग्छ, ६ सय रैथाने परिकार पाक्ने मान्छामा हरेक ग्राहक स्वादका लागि फर्कीफर्की आउनेछन्।