Kathmandu Press

२१ बर्षपछि पानी झार्ने लक्ष्यसहित मेलम्चीको श्वेतपत्र जारी, अहिलेसम्म के–के भयो? 

काठमाडौं, माघ २९ : मेलम्ची खानेपानी आयोजनाका बारेमा सरकारले श्वेतपत्र जारी गरेकाे छ। बिहिबार जा

२१ बर्षपछि पानी झार्ने लक्ष्यसहित मेलम्चीको श्वेतपत्र जारी, अहिलेसम्म के–के भयो? 

काठमाडौं, माघ २९ : मेलम्ची खानेपानी आयोजनाका बारेमा सरकारले श्वेतपत्र जारी गरेकाे छ। बिहिबार जारी श्वेतपत्रमा असारसम्म सुन्दरीजल प्रशोधन केन्द्रसम्म मेलम्चीको पानी खसाल्ने लक्ष्य राखिएको छ। आयोजनाको कार्यप्रगति विवरण, बाँकी काम लगायतका विषयलाई समेटेर श्वेतपत्र जारी गरिएकाे मन्त्रालयले जनाएको छ।  

०७५ मंसिरमा इटालियन कम्पनी सिएमसीले आयोजना छोडेपछि हाल चिनियाँ कम्पनी सिनो हाइड्रोलाई बाँकी कामको ठेक्का दिइएको छ। सुरूङ फिनिसिङ र हेडवक्र्स निर्माण गरी आयोजनालाई दुई मुख्यभागमा बाँडिएको छ। दुवै ठेक्का सिनो हाइड्रोले सकारेको हो।

गत कात्तिकबाट कम्पनीले आयोजनाको काम गरिरहेको छ। सुरूङ फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ। यस्तै कफर ड्याम बनाएर असारसम्म पानी सुन्दरीजल खसाल्ने रणनीति आयोजनाको छ। कफर ड्याम र पर्मानेन्ट ड्याम निर्माणको काम एकै साथ अघि बढेको मेलम्ची विकास समिति बताउँछ।  

Hardik ivf

सरकारले आर्थिक बर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा चालू आर्थिक बर्षको अन्त्यसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरुप असारसम्म प्रशोधन केन्द्रमा पानी ल्याउने र त्यसको तीन महिना भित्र पानी वितरण गरिसक्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ। 

मेलम्चीमा हालसम्म के–के भयो ?

०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गर्‍यो । समिति गठन भएको तीन बर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो । निर्माण सुरू भएको १८ बर्ष बितिसकेको छ । तैपनी मेलम्चीको पानी काठमाडौं झरेको छैन । आयोजना सुरू हुँदा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो । त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो । सोही कारण मेलम्चीको काम दुई दशक वित्न लाग्दा समेत पुरा हुन सकेको छैन। 

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सरकारले ऋण सर्त पूरा गर्न नसकेपछि एडिबीले थप ऋण दिन र सुरुङमार्ग निर्माणको अनुमति दिएन । ०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले ०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो । ०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो । अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो । तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो । एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो । 

०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो । ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो । २०७२ को भूकम्पपछि करिब १ वर्ष मेलम्चीको काम ठप्प रह्यो । नाकाबन्दीको समयमा समेत काम भएन । त्यसअघि ०७१ सालमा नदीबाट गिट्टीबालुवा झिक्न नदिने सरकारको निर्णयविरुद्ध आन्दोलन हुँदा पनि काम प्रभावित भएको थियो । ठेकेदार कम्पनी र मजदुरका कारणले समेत मेलम्चीको काम वेलवेलामा अवरुद्ध बनेको थियो।  

तसर्थ सिएमसीको म्याद थप भइरह्यो । अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो । तर, मंसिर २९ मा सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो । ११ महिना काम काम ठप्प भएपछि गत असोजमा आयोजनालाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले अहिले आयोजनाको काम गरिरहेको छ । 

यस्तो छ मेलम्ची टाइमलाइन

किसुनजीको घोषणादेखि सिनो हाइड्रोको इन्ट्रीसम्म 

०४७ : प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा 

०५५ : मेलम्ची खानेपानी विकास समिति गठन

 ०५६ : एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन  

०५८ : एडिबीसँग ऋण सम्झौता  

०५८ :  निर्माण सुरु

०५८ : हेनिल कोनको जेभीलाई सुरुङ बनाउन चाहिने प्रवेशमार्ग निर्माणको ठेक्का  

०६१ :  काम गर्न नसकेको भन्दै हेनिलले एकलौटी ठेक्का तोड्यो 

०६१ : शाही आयोगमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हस्तक्षेप

 ०६१ : राज्यको हस्तक्षेपपछि नर्वे र स्विडेनको सिडद्वारा सहयोग फिर्ता  

०६४ः : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन  

०६४ : २७ किमि सुरुङ खन्न ग्लोबल टेन्डर

 ०६५ : अर्थमन्त्री बाबुराम भट्टराईद्वारा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा

 ०६५ :  चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी)लाई सुरुङ खन्ने ठेक्का

 ०६९ : सुरुङ निर्माणको काम १५ प्रतिशत मात्रै सकिएपछि सिआरसीद्वारा ठेक्का रद्द

 ०७० : पुनः टेन्डर आह्वान

 ०७१ : इटालियन कम्पनी सिएमसीलाई बाँकी कामको जिम्मा

 ०७२ : भूकम्पका कारण १० महिना सुरुङ खन्ने काम रोकियो 

०७२ : पाइप बिच्छ्याउन सुरु

 ०७३ :  पुसमा पहिलो ‘ब्रेक थ्रु’को घोषणा 

०७५ : मंसिरमा इटालियन कम्पनी सिएमसीले छोड्यो आयोजना

 ०७५ : माघमा सिएमसीसँग ठेक्का तोड्ने निर्णय

०७६ : असोजमा चिनियाँ कम्पनीलाई काम जिम्मा

 ०७७ : असारमा सुन्दरीजलमा पानी खसाल्ने घोषणा
 

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, फागुन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्