‘चीनबाट सात वर्षे नातिनी राति रुँदै फोन गर्छे, म घर आउँछु भन्छे, उसलाई कसरी सम्झाऔं?’
काठमाडौँ, माघ २८ : ‘मेरो सात वर्षको नातिनी, छोरा र बुहारी चीनमै त्रासमा बसिरहेका छन्। नेपाल फर
काठमाडौँ, माघ २८ : ‘मेरो सात वर्षको नातिनी, छोरा र बुहारी चीनमै त्रासमा बसिरहेका छन्। नेपाल फर्किन्छौं भनेको दुई हप्ता भइसक्यो। कुरा गर्दा पनि भक्कानो फुट्छ। आँशु लुकाएर बसिरहेकी छु। यो लाचार सरकारले हामीलाई रुवाइरहेको छ।’
यो पीडा हो, ६० वर्षीया लिलादेवी भट्टराईको। चीनमा कोरोना भाईरसको महामारी फैलिएपछि सरकारले नेपाल फर्किन चाहने विद्यार्थीलाई निवेदन दिने आह्वान गरेको थियो। वुहानमा रहेका १८० जना नेपाली विद्यार्थीले निवेदन दिएका थिए। त्यसमा लिलाका नाति, छोरा र बुहारी पनि छन्।
हरेक दिन चीनबाट छोराबुहारीले सोध्न थालेपछि उनी सिंहदरबार धाउन थालेको दुई साताभन्दा बढी भयो। स्वास्थ्य, परराष्ट्रमन्त्रालय मात्रै होइन, सकेजति सबै मन्त्री, कर्मचारी र नेतालाई भेटेर गुहार गरिसकेकी छन्।
जतासुकै गुहार्दा पनि सरकारले वास्ता नगरेपछि उनले आफ्नो पीडा पोखेकी हुन्। ‘स्वास्थ्य मन्त्रालयदेखि परराष्ट्र मन्त्रालय सबै धाईसकेँ, तर सरकारले कानमा तेल हालेर बसेको छ,’ लिला भन्छिन्।
उनकी बुहारी जानुका भुसाल भट्टराई एमडी अध्ययनका लागि दुई वर्ष अघि चीन गएकी थिइन्। आउदा असारमा उनको पढाइ सकिँदै छ। यो समय उनको बिदा भएकाले सात वर्षीया छोरीलाई लिएर डा.समिर भट्टराई मंसिर २४ गते चीन गएका थिए। डा.समित पनि झापाको दमकमा कार्यरत छन्।
उनी माघ १७ गते फर्किने योजनासहित गएका थिए, तर कोरोना भाइरसका कारण उतै रोकिएका छन्। ‘सात वर्षकी नातिनीलाई लिएर गएको थियो, माघको १७ गते फर्किनु पर्ने हो। तर, कोरोना भाईरसको कारणले चीनमा नाकाबन्दी भएर आउन पाएनन्,’ लिलादेवी भन्छिन्, ‘हामी सबै यति पिडामा छौँ, व्यक्त गर्नै सकेका छैनौँ।’
चार सातादेखि उनीहरू कोठामा थुनिएर बसेको उनी सुनाउँछिन्। ‘कोठामा थुनिएर बसेका छन्। ठूलोले त बुझ्ला, तर सात वर्षको बच्चालाई बाहिर जान नदिएको पीडा कसरी बयान गरौं? सानो बच्चमा कस्तो असर पर्छ?,’ उनले रुदै भनिन्, ‘सात वर्षे नातिनी राति रुदै फोन गर्छ, म घर आउँछु भन्छे। उसलाई कसरी सम्झाऔ? रातभरी रोएर बसिरहेका छौं।’
उनी सरकारले वास्ता नगर्दा पीडा सहिरनुपरेको बताउँछिन्। ‘हाम्रो सरकार के हेरेर बसिरहेको छ? रोगी भनेर नल्याईएको हो भने हाम्रो बच्चाहरु रोगी छैनन्। मानसिक पीडा, तनावले नै उनीहरु बिरामी हुने भए,’ उनी भन्छिन्।
चीनमा रहेका छोराले पनि फोन गरेर सोध्ने गरेको उनले सुनाइन्। त्यतिवेला आफूसँग कुनै जवाफ नरहेको उनी बताउँछिन्। ‘चीनबाट छोरोले बारम्बार फोन गरेर के हुँदै छ? कहिले हामीलाई फर्काउँछ? भनेर सोध्छ। मसँग केही जवाफ हुँदैन,’ लिलादेवी पीडा पोख्छिन्, ‘यतिका दिन बितिसकेँ, वास्तै गरेको छैन। प्रधानमन्त्री किन कानमा तेल हारेर बसिरहेका छन्?’
लिलादेवी मात्रै होइन, वुहानबाट फर्किन निवेदन दिएका १८० जना विद्यार्थीको परिवारको पीडा उस्तै छ। एमडी गर्न दुई वर्ष अघि चीन गएका अमित श्रीवास्तवकी पत्नी पल्लवी श्रीवास्तवको पीडिा झन खपि नसक्नु छ। आज उनको नेपाल आउने टिकट थियो।
कोरोना भाइरसका कारण उनको टिकट रद्द गरिएको छ। ‘आज नेपाल आउन टिकट काटेका थिए, क्यान्सिल गरिएको छ। कोठामै थुनिएर बसेका छन्,’ पल्लवी भन्छिन्, ‘नेपाल आउन पाइदैन भन्ने थाहा पाएको दिनदेखि पीडामा छौं।’
नेपाल सरकारले नै तीन साता अघि बेइजिङस्थित नेपाली दूतावासमार्फत घर फर्किन चाहने विद्यार्थीलाई निवेदन दिन लगाएको थियो। जसमा कोरोना भाइरसको उद्गमस्थल रहेको वुहान शहरमा रहेका १८० जनाले निवेदन दिएका थिए। तर, यतिका दिन बितिसक्दा पनि उनीहरूलाई ल्याउन सरकारले प्रयास गरेको छैन।
चीनमा रहेका अन्य देशका नागरिक भने दुई साता अघि नै स्वदेश फर्किसकेका छन्। भारत, श्रीलंका, बंगालदेश, जापान, कोरिया, अमेरिका, बेलायतलगायतका देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्।
नेपाल फर्किन चाहेका विद्यार्थीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन। तैपनि उनीहरू हरेक दिन त्रासमा बाँचिरहेका छन्। तीन सातादेखि कोठाभन्दा बाहिर निस्कन दिएको छैन।
चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। हरेक दिन मृत्यु हुनेको संख्या बढिरहेको छ। सोमबार मात्रै एक सय तीन जनाको मृत्यु भएको छ। मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या एक हजार १३ पुगेको छ।
त्यस्तै, संक्रमितको संख्या पनि दिनदिनै बढिरहेको छ। मंगलबार बिहानसम्म ४३ हजार ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। वुहानमा मात्रै सोमबार नयाँ दुई हजार चार सय ७८ जनामा संक्रमित भेटिएका छन्।