काठमाडौं – त्यो रातको अन्तिम प्रहर थियो। नरहरि आचार्य मस्त निद्रामा थिए। अचानक मोबाइलको घण्टी बज्यो। उनी निद्राबाट ब्यूँझिए। नरहरिले आँखा चिम्सो पार्दै आइफोनको उज्यालो स्क्रिन हेरे, जहाँ आफ्ना सहयोगी रामचन्द्र घिमिरेको नाम र नम्बर प्लिक–प्लिक गर्दै थियो। उनलाई निद्राको सुरमा बोल्न मन थिएन। तर, लाग्यो– यो बेला आपत नपरी कसले फोन गर्ला र !
फोन उठाउनेबित्तिकै उनले अप्रिय खबर सुने – सुशील’दा त बित्नु भएछ नि!
माघको त्यो चीसो रातमा पनि नरहरि शीताङ्ग भए। एकछिन त उनी रनभुल्ल परेँ। दुई दिनअघि मात्रै सुशील’दासँग उनको दुई घण्टा भलाकुसारी भएको थियो। त्यो बेला सुशील’दा स्वस्थ्य थिए।
त्यो अप्रिय विहान सम्झिँदै नरहरिले काठमाडौं प्रेसलाई सुनाए, ‘एक्कासि कसरी त्यस्तो भयो, मैले त केही सोच्नै सकिनँ।’
चार वर्षअघि आजकै दिन अर्थात् २०७२ माघ २६ गते नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आकस्मिक निधन भएको थियो। सुशील’दाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न महाराजगञ्जस्थित कोइराला निवास पुगेका नरहरि पनि झण्डै मृत्युको मुखसम्म पुगेका थिए।
एकातिर सुशील’दा चीर निद्रामा थिए, अर्कोतिर नरहरिलाई ब्रेन ह्यामरेज भयो। अलि पछि होश त आयो, तर शरीर राम्ररी चल्न सकेन। अझै पनि उनको दाँया हात राम्ररी चल्दैन। ढुक्कले हिँडडुल गर्न सक्दैनन्।
पार्टी सभापतिको मृत्यु भएकै बेला नरहरिको ब्रेन ह्यामरेज हुनुलाई धेरैले धेरै किसिमले अथ्र्याए।
कतिले भने – सुशील’दाको आकस्मिक अवसानले नरहरिलाई आघात पर्यो!
कतिले भने – नरहरिले सुशील’दाबाट कुनै पदको आशा गरेका थिए, त्यो नपाइने बोधले उनलाई चोट पर्यो।
कतिले त यहाँसम्म भने – नरहरिले सुशील’दालाई पैसा दिएका थिए, अब त्यो डुब्यो भनेर उनी बेहोश भए!
सुशील’दाको निधन र आफूलाई ब्रेन ह्यामेरज भएको ठीक चार वर्ष पुगेको सन्दर्भमा पारेर काठमाडौं प्रेससँग कुरा गर्दै नरहरिले त्यो दुर्भाग्यपूर्ण दिन र त्यसपछिका पीडादायी पलहरू सम्झिए।
कोइराला निवास पुग्दा विहानको सवा चार बजेको थियो। उनी छिर्दै गर्दा पार्टी नेता शेरबहादुर देउवा बाहिर निस्किँदै थिए। तर, बोलचाल भएन। उनी सम्झिन्छन्, ‘सभापतिको निधनले हामी मौन थियौँ, हामीसँग बोल्ने शब्दहरू थिएनन् ।’
सुशील’दाको खबर नरहरिले सबैभन्दा सुरूमा आफ्नै पत्नी तथा लेखिका शारदा शर्मालाई सुनाए। त्यसपछि उनी उठे। दाह्री काटे। नुहाए। र, ६ वजे खानुपर्ने ब्लड प्रेसरको औषधि समयअघि नै खाइवरि महाराजगञ्जतिर लागे।
कोइराला निवास पुग्दा विहानको सवा चार बजेको थियो। उनी छिर्दै गर्दा पार्टी नेता शेरबहादुर देउवा बाहिर निस्किँदै थिए। तर, बोलचाल भएन। उनी सम्झिन्छन्, ‘सभापतिको निधनले हामी मौन थियौँ, हामीसँग बोल्ने शब्दहरू थिएनन् ।’
त्यतिञ्जेल सुशील’दाको पार्थिव शरीर भुइँतलामा ल्याइसकिएको रहेछ। नरहरिले श्रद्धान्जलि दिए र माथिल्लो तला उक्लिए। त्यहाँ रामचन्द्र पौडेल लगायतका नेताहरू निन्याउरो अनुहार पार्दै बसिरहेका थिए। उनीहरूसँग करीब आधा घण्टा बातचित गरेपछि नरहरि सुशील’दाको पार्थिव शरीर भए ठाउँ आए।
पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापतिको मृत्युको खबर बाहिर चुहिसकेको थियो। मिडियाले नरहरिलाई फोन गर्न थाल्यो। त्यही बेला उनलाई एकाएक असहज महसुस भयो।
उनले नजिकै रहेका काँग्रेस नेता भीमसेनदास प्रधानसँग भने– मलाई अलि असहज भयो, अस्पताल जाऊँ !
प्रधानले सोधे– हुन्छ, तर कुन अस्पताल जाने ?
नरहरिले भने– गंगालाल !
अस्पताल जाने तयारी गर्दागर्दै पाँच मिनेट बित्यो। उनी कोइराला निवासको गेट छेउ बसे। चक्कर लागेजस्तो भयो। मोटर चढ्ने बेलासम्म त उनको दायाँ हातले काम गर्न छाडिसकेको थियो। हातले समातेको मोवाइल भुइँमा खस्यो।
‘होश त थियो, तर निकै अप्ठ्यारो भइसकेको थियो,’ उनले त्यो विहान सम्झिँदै भने, ‘मोटर चढेपछि उहाँ (भीमसेन)ले शारदालाई फोन गरिदिनुभयो। शारदा हस्पिटल आउँदासम्म पनि म होशमै थिएँ।’
अस्पताल भर्ना भएपछि भने उनको होश गुम्यो। केही घण्टा बेहोशीमै गुजारेका उनी होशमा आउँदा न्यूरो हस्पिटलको बेडमा थिए।
सुशील’दाको निधनले नरहरिको स्वास्थ्य गम्भीर बनेको समाचारहरू मिडियामा आए। बाहिर पनि त्यस्तै खबरहरू सुनिए। सुशील कोइरालाको निधन र नरहरि अचार्यको ब्रेन ह्यामरेजबीच साँच्चै कुनै साइनो छैन त ?
उनी भन्छन्, ‘मानिसहरूलाई त्यस्तो लाग्नु स्वाभाविक हो। तर, त्यो संयोगमात्र थियो।’
ती नरहरि, यी नरहरि
स्वस्थ हुँदा नरहरि आचार्य राजतीतिमा निकै सक्रिय थिए। विहानैदेखि कार्यकर्ता भेटघाटमा व्यस्त हुन्थे। पार्टीभित्र हुने वैचारिक वहसमा पनि उनी निकै गहिरोसँग संलग्न हुन्थे।
अहिले नरहरिको दैनिकी फेरिएको छ। धेरै समय उनी व्यायाममा बिताउँछन्। विहान चार बजे उठ्छन् र राति ८ बजे सुतिसकेका हुन्छन्।
विहान उठेपछि आफैं दाह्री काट्छन्। थेरापी थाल्छन्। एक घण्टा अध्ययनको लागि समय निकाल्छन्। भन्छन्, ‘बजारमा नयाँ आएका किताबहरू पढ्छु। पहिले पढ्न छुटेका किताबहरू पनि पढिरहेको छु ।’
दाहिने हात नचल्ने भएकाले नुहाउन अलि गाह्रो हुन्छ। तै, उनले नुहाउन छाडेका छैनन्। नुहाएपछि आधा घण्टा घरवरिपरि हिँड्छन्।
कहिले लाइब्रेरी र कहिले घाममा बसेर पत्रपत्रिका पढ्ने पुरानो बानी भने यथावत छ। मध्यान्ह १२ बजे विहानको खाना खान्छन्। बेलुकी भने गहुँको रोटी खान्छन्। बेलुका एकघण्टा व्यायाम गर्ने, टेलिभिजन हेर्ने र सुत्ने उनको दैनिकी बनेको छ।
राजनीतिमा कमब्याक !
नरहरि आचार्य चलायमान नेता हुन्। प्राध्यापनबाट राजनीतिमा आएका उनी सधैं केही नयाँ गरिरहने नेता पनि हुन्। तीन वर्ष थलिए पनि अहिले उनी फेरि सक्रिय हुन थालेका छन्। विगत छ महिनादेखि हरेक शनिवार समसामायिक राजनीतिक विषयमा आफ्नै घरमा बहस गराइरहेका छन्।
बैशाखमा सुरु भएको वहसको ३८ औं अध्याय हिजो शनिबार सकिएको छ। हिजो उनले एमसीसी के हो र किन आवश्यक छ ? भन्ने विषयमा यसका जानकारहरूबीच बहस गराए।
‘अब म एक्टिभ हुन सक्दिनँ होला । तर, निस्क्रिय बस्ने भनेर निर्णय पनि गरिहालेको छैन,’ उनी भन्छन्, ‘मैले सकेको गर्छु । राजनीतिमा साइनो जोडिएकाले राजनीतिक बहसमा नै मेरो प्राथमिकतामा छ।’
‘मेरो हिँड्ने सामथ्र्य कम छ। म भ्रमण गरेर सबै कुरा जनतामाझ पुर्याउन सक्दिनँ। त्यसैले घरमै वहस सुरु गरेको हुँ,’ उनी भन्छन्।
सक्रिय राजनीति गर्ने उनको इच्छा मरेको छैन। तर, शरीरले साथ दिँदैन। ‘अब म एक्टिभ हुन सक्दिनँ होला । तर, निस्क्रिय बस्ने भनेर निर्णय पनि गरिहालेको छैन,’ उनी भन्छन्, ‘मैले सकेको गर्छु । राजनीतिमा साइनो जोडिएकाले राजनीतिक बहसमा नै मेरो प्राथमिकतामा छ।’
काँग्रेसभित्र गणतन्त्रका फ्रन्ट लाइनर
काँग्रेसभित्र लोकतान्त्रिक गणतन्त्रका पक्षमा वकालत गर्ने मध्यका फ्रन्टलाइनर हुन्, नरहरि।
२०५२ फागुन १ मा माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्यो। त्यसको एक सातापछि उनले लोकतान्त्रिक गणतन्त्रका बारेमा सार्वजनिक रूपमै भाषण गरे। विराटनगरको महेन्द्र मोरङ क्याम्पसको प्राध्यापक संघले आयोजना गरेको कार्यक्रममा नरहरिले भनेका थिए, ‘हामीले संवैधानिक राजतन्त्र मानेका छौँ। तर, यसको मतलब हामी लोकतान्त्रिक गणतन्त्रका विरोधी होइनौँ। तर, माओवादीले सुरू गरेको हिंसात्मक बाटोको भने विरोध गरौँ।’
कार्यक्रमका वक्ताले माओवादीले उठाएको गणतन्त्रको विरोध गरेपछि उनले आफ्ना कुरा राखेका थिए। अझ रोचक त के छ भने गणतन्त्रबारेको अभिव्यक्ति दिइरहँदा उनी मन्त्री थिए। उनको अभिव्यक्तिलाई साप्ताहिक पत्रिकाले मसलेदार हेडलाइन राखेर सनसनी पारेका थिए।
‘त्यो बेला मन्त्री पनि गणतन्त्रवादी! शीर्षक राखेर समाचारहरू आए,’ उनले सम्झिए। तर, दरबारबाट प्रत्यक्ष आपत्ति आएन। उनले बोलेको चार दिनपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सोधेका थिए, ‘विराटनगरमा के बोल्नुभएको थियो?’
नरहरिले देउवालाई आफूले बोलेको सन्दर्भबारे प्रष्ट्याए। देउवाले ‘ठीक छ’ भने।
२०५९ पछि भने नरहरि राजतन्त्रसहितको लोकतन्त्र सम्भव नहुने निष्कर्षमा पुगे।
असोज १९ गतेको शाही घोषणापछि पार्टीको केन्द्रीय समिति वैठकमै उनले भनेका थिए, ‘मैलै राजतन्त्र रहने देखिनँ। संविधानसभा पनि नभई नहुने भयो । संविधानसभाको निर्वाचन गरेर राजतन्त्रको विदाइ गरौँ।’
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री देउवासमक्ष माओवादीले पेश गरेको ४० बुँदे मागमध्ये २ बुँदामात्रै गम्भीर र अन्य माग सहज रहेको निष्कर्ष नरहरिको थियो। उनले त्यो कुरा देउवालाई पनि भनेका थिए। उनी भन्छन्, ‘त्यो बेला मेरा कुरा कसैले सुनेनन्।’
देउवाले उनलाई राजालाई संसद्को मातहत ल्याउन सकिने तर प्रादेशिक संरचना बनाउन चाहिँ अलि हुदैन कि भन्ने बताएका थिए। पछि पार्टी फुट्दासमेत देउवा र नरहरिबीच त्यही विषयमा मतभेद भएको नरहरिको दावी छ।
संविधान जारी हुँदा
‘संघीयता प्रारम्भिक चरणमा छ। निर्वाचन भएको २ वर्ष वित्यो। सबै कुरा पूर्ण भइसकेको छैन,’ उनी भन्छन्, ‘जनताले प्रश्न उठाउनु सामान्य हो। विस्तारै सुधार गर्नुपर्छ। हामी जुन बाटो हिँडेका छौं, त्यो बाटो हिँड्नै पर्ने थियो।’
२०७२ असोज ३ मा संविधान जारी हुँदा उनी कानुन मन्त्री थिए। पहिलो संविधानसभामा बनेका चार सरकारले संविधान बनाउन नसकेको र सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गरेकोमा उनी प्रफुल्लित देखिन्छन्।
‘पहिलो संविधानसभापछि बनेको चार सरकारले संविधान बनाउन सकेनन्,’ उनी भन्छन्, ‘दोस्रो संविधानसभापछि बनेको हाम्रै सरकारले संविधान जारी गर्यो। अब अरु कसैले संविधान बनाउन सक्छु भनेर पनि हुने कुरो छैन।’
त्यो बेला संविधान नबनाउन दवाव दिइएको चर्चासमेत चलिआएको छ। नरहरि आफैं पनि कसैले दबाब दिएको हुनसक्ने बताउँछन्।
‘कसैले प्रेसर दिएको थियो होला । त्यसअघिका राजनीतिक घटनाक्रमलाई हेर्दा पनि त्यो बुझ्न सकिन्थ्यो,’ उनी भन्छन्, ‘संविधानसभाको कुुरा २००७ मै उठेको हो। त्रिभुवनको निधन भयो, महेन्द्रले संविधानसभा गर्न नसकिने भने। त्यसपछि संविधानसभाको मुद्दा बीचमा हरायो। ०४६ सालमा अर्कै परिवेश भयो। त्यो बेला संविधानसभा भन्ने प्रमुख पार्टी कोही भएन। चौथो महाधिवेशनका मोहनविक्रम सिंह नेता थिए। उनी अर्धभूमिगत भनेर बसेका थिए। उनले चाहिँ संविधानसभा नै चाहिन्छ भन्ने वक्तव्य आउँथ्यो।’
नयाँ संविधानअन्तर्गत तीन तहको निर्वाचन भएको दुई वर्ष बितिसकेको छ। संघीयता कार्यान्वयन भइसकेको छ। त्यो बेला गणतन्त्रको पक्षमा वकालत गरेका, उनी कानुनमन्त्री हुँदा जारी भएको संविधान अनुसार मुलुक कसरी चलिरहेको छ त? कतै उनमा पनि निराशा त जागेको छैन?
धेरैले अहिलेको अवस्थालाई निराशाजनक भनिरहँदा उनी भने मुलुक हिँडिरहेको बाटो ठीक भएको बताउँछन्। ‘संघीयता प्रारम्भिक चरणमा छ। निर्वाचन भएको २ वर्ष वित्यो। सबै कुरा पूर्ण भइसकेको छैन,’ उनी भन्छन्, ‘जनताले प्रश्न उठाउनु सामान्य हो। विस्तारै सुधार गर्नुपर्छ। हामी जुन बाटो हिँडेका छौं, त्यो बाटो हिँड्नै पर्ने थियो।’
पार्टीमा झगडा नभइदिए हुन्थ्यो..
घरमै बसेर पार्टीका गतिविधि नियालिरहेका नरहरिलाई पार्टीभित्रको कलहले चित्त दुख्दो रहेछ। त्यसैले त उनी झगडा नभइदिए हुन्थ्यो भन्ने कामना गरिरहन्छन्।
‘अब महाधिवेशन गर्ने भनिएको छ । समयमै राम्रोसँग सम्पन्न होस्। झगडा नहोस्,’ उनी भन्छन्, ‘हेर्दैछु, सबै कुरा हुँदैछ । मैले ताकेता गर्ने कुरा भएन। आफू नसक्ने भएकाले कामना मात्रै गर्न सक्छु।’
उनी निर्वाचनमा पार्टी हार्दा कमजोर भयो भन्न नमिल्ने बताउँछन्। भन्छन्, ‘चुनावमा यस्तो हुन्छ। संविधानसभाको पहिलो निर्वाचनमा पनि हाम्रो हालत यस्तै थियो। त्यसैले कमजोर नभनौं।’
(२०७६ माघ २६मा काठमाडौं प्रेसका तीर्थराज बस्नेतले तयार गरेको सामग्री पुनः प्रकाशन गरिएको । सम्पादक)